Home > चलचित्र, टिप्पणी > चलचित्र उमा : वास्तविक छापामारहरुको अपमान

चलचित्र उमा : वास्तविक छापामारहरुको अपमान

Uma_2हुनसक्छ–

मैले बढी अपेक्षा गरें कि ? अथवा म आफै तटस्थ दर्शक पो बन्न सकिनँ कि ?

छायाङ्कन शुरु हुन थालेदेखि प्रदर्शनी हुँदासम्मको अवधिको चर्चा र सकारात्मक विश्लेषणले ‘उमा’प्रति चुलिएको श्रद्धा र चलचित्र युनिटप्रतिको सम्मान चलचित्र हेरिसकेपछि भने घट्दो क्रममा झरिरहेछ । चलचित्र हेरेर फर्किसकेपछि एक किसिमको छटपटी, उकुसमुकुस अनि केही गर्न नसक्नुको पीडाबोध राम्रैसँग भइरहेको छ मलाई ।

म चलचित्रको समीक्षक होइन, चलचित्रको साङ्गोपाङ्गो विश्लेषण गर्ने हक मलाई छैन । आमदर्शकजस्तै एक दर्शक र अझ बढी जनयुद्धमा सहभागी भएर ज्यूँदै फर्किएको एक भोक्ताको हिसाबले उमाका विषयमा केही टिप्पणी गर्न मन लागेको मात्र हो ।

दश वर्षे जनयुद्ध (उनीहरु सशस्त्र द्वन्द्व भन्छन्) को वास्तविकतामा आधारित चलचित्र भनेर बनाइएको उमा २०५२–०६२ भित्रको कथा हो । त्यसैले ०६२ पछिको शान्तिप्रक्रियामा आइसकेकापछिका छापामारहरुको कुरा नगरौं, किनकि चलचित्रमा पनि ०६२ अघिकै छापामारहरुको कथा छ ।

समग्र कथाका हिसाबले उमा चलचित्र हिंसात्मक द्वन्द्वले निम्त्याएको सामाजिक, पारिवारिक विखण्डन र त्यसबाट नेपाली समाजले भोग्नुपरेको दर्दनाक पीडाको तस्वीर हो ।

नायक र खलनायक भनेर प्रष्ट नछुट्याउनु र द्वन्द्वका दुई पक्ष राज्य अनि तत्कालीन माओवादी कुनै एउटा पक्षको सिधा पक्षपोषण नगर्नु चलचित्र उमाको सकारात्मक पाटो हो ।

तर, नाटकीकरण गर्ने र चलचित्रलाई उत्कर्षमा पु¥याउने नाममा देखाइएका कतिपय दृश्य र उपकथाहरुले कहीं न कहीं विद्रोही पक्षलाई सुक्ष्मरुपमा खलनायकको भूमिकामा देखाउने प्रयास गरिएको छ ।

चलचित्रको केन्द्रीय पात्र उमामार्फत् जनयुद्धमा सहभागी महिला जनसेनाहरुको भूमिकालाई कमजोररुपमा देखाउन खोजिएको छ ।

कतिपय यथार्थ, कतिपय यथार्थनजिकका दृश्यहरुले चलचित्रप्रति पलाएको विश्वसनीयतालाई सँगसँगै मिसिएर आएका अतिरञ्जित र अस्वभाविक दृश्य तथा उपकथाहरुले वास्तविकता बाटोमै हराइसकेको भान हुन्छ ।

ती अतिरञ्जना र अस्वभाविकता छापामारहरुको जीवनमा देखाउन खोजिएको छ, जुन जनयुद्ध लडेका वास्तविक छापामारहरुको जीवनसँग पटक्कै मेल नखाने दृश्यहरु छन् ।

कतै–कतै त जान वा अञ्जानमा छापामारहरुको भावना र नैतिकतामाथि आँच पु¥याउन खोजिएको समेत भान हुन्छ ।

हुनसक्छ– चलचित्र युनिटलाई यस्ता कन्टेन्ट छुटाउनै नहुने होलान् तर यिनै स–साना दृश्य र कथाहरु जनयुद्ध नदेखेका भावी पुस्ताका लागि मन्दविषजस्तै बनेका छन्– जसले आफ्नो जीवनको पर्वाह नगरी जनयुद्धमा रगत बगाउने, घाइते हुने र खुसी गुमाउनेहरुको पीडालाई देखाउने नाममा उनीहरुमाथि नै अपमान गर्न खोजिरहेको छ ।

चलचित्रमा विद्यार्थीका प्रिय शिक्षक सुनिल र प्रहरी इन्स्पेक्टर धिरेनको घरमा ढुङ्गा हान्ने बालकलाई बिनाकारण प्रहरीले हत्या गरेको छ । त्यसकै बदलामा सुनिलका विद्यार्थीहरु (जो छापामारको रुपमा रहेका छन्)ले इन्स्पेक्टर धिरेनलाई हत्या गरेका छन् ।

यी दुई घटनामा चलचित्र युनिटले शिक्षक सुनिल र सानो बालकको हत्यालाई मानवीय संवेदनाका हिसाबले खासै फोकस गरेका छैनन् । तर, इन्स्पेक्टर धिरेनको हत्यालाई मानवीय संवेदनाका हिसाबले चर्को गरि उठाउन खोजेको छ ।

सुनिलको हत्यापछि उनका परिवार, विद्यार्थी र गाउँलेहरुको संवेदना उठाउन किन आवश्यक ठानिएन तर त्यस्तै प्रकृतिको इन्स्पेक्टरको हत्यामा पारिवारिक संवेदना सशक्तरुपमा किन उठाइयो ?

यसमा कतै चलचित्र युनिटको वर्गीय दृष्टिकोण नै देखा परेको हो कि ?

आफूले निकै सम्मान र विश्वास गर्ने शिक्षक र धर्म भाइ बनिसकेको बालकको हत्या हुँदा विक्षिप्त चलचित्रकी मुख्य पात्र उमा धिरेनको हत्यासँगै परिबन्दमा फसेर छापामार बनेको प्रसंगभन्दा अनिलसँग प्रेम र उनलाई छोड्न नसकेर छापामार भएको कुरा देखाउन खोजिएको छ ।

Uma_1छापामार बनिसकेपछि तालिममा हुने कठोरता तुलनात्मक रुपमा सहज देखिए पनि छापामार बनेको दुई/चार वर्ष बिताइसकेका महिला छापामारहरु केही नजाने, नबुझेजस्तो देखाएर वास्तविक महिला छापामारलाई खाली प्रेममा भुल्दै पूर्णकालीन भएका कमजोर महिला र जबर्जस्ती ल्याएर लडाकु बनाएको रुपमा देखाउन खोजिएको छ ।

निर्देशकलाई ज्ञान हुनुपर्ने हो कि हातमा बन्दुक लिएको छापामार यदि उसको इच्छाविपरित बन्दुक बोकीरहेको छ भने उसले त्यो बन्दुक शत्रुविरुद्ध होइन, आफ्नै कमाण्डरविरुद्ध चलाउन सक्छ ।

अहिलेको माओवादी कस्ता छन्, भन्न सकिन्न तर ०६२ अघिका युद्धकालीन छापामारहरुको सैन्य नियम, सांगठनिक अनुशासन, कमाण्ड कन्ट्रोल र चलचित्रमा देखाइएका दृश्यहरुबीचको तुलना गर्दा गोरु बेचेको साइनोसम्म भेटाउन सकिदैन ।

कृषि विकास बैङ्क लुट्न जाँदा महिलामाथि अभद्र व्यवहार गर्ने कमाण्डर तहको छापामारलाई केही कार्बाही नहुनु नियतवश नै राखिएको दृश्यजस्तो लाग्छ ।

जबकि माओवादी कार्यकर्ता वा छापामारहरु जो भए पनि सल्लाहमै श्रीमान् श्रीमतीबाहेक तेस्रो व्यक्तिसँग यौनसम्बन्ध राखेको थाहा पाएमा निलम्बनसहित एक/दुई वर्षसम्म श्रमकैदमा जाक्किने पार्टीमा जबर्जस्ती गाउँले महिलामाथि दुव्यर्वहार गर्ने छापामार कही उम्किएको छैन, उम्किएको छ त केवल उमा चलचित्रमा मात्रै ।

त्यस्तै, बैंक लुटेर फर्किदा पूरै छापामार टोलीबाट छुट्टिएर उमा र उनको प्रेमी घट्टमा पुगेर गरेको यौनलीलाको दृश्य चलचित्रलाई ग्लामरस दिन जबर्जस्त थोपरिएको हो वा छापामारहरुको नैतिकतामा प्रश्नचिन्ह उठाउन ? यो निर्देशकले जवाफ दिनुपर्छ ।

कुनै पनि फौजी हमला गरिसकेपछि अन्य समयभन्दा निकै चनाखो हुँदै सुरक्षित स्थानतिर लाग्ने छापामारहरु उल्टो टोली नै छोडेर घट्टतिर जान्छन् भन्ने कुरा निर्देशकको दिमागमा कसरी आयो ?

त्यसले चलचित्रलाई व्यवसायिक रुपमा नाफा त होला तर वास्तविक छापामारहरुको प्रेम, विवाह र यौनसम्बन्धी जीवन र नैतिकतामाथि गम्भीर आक्षेप लगाइएको छ ।

त्यस्तै, छापामारहरुको सांगठनिक अनुशासन र उनीहरुको व्यक्तिगत जीवनका प्रसंगहरुमा निर्देशकले कत्ति पनि गम्भीर भएर सोच्न सकेका छैनन् ।

चलचित्र पढेका विद्वान निर्देशकले माओवादी छापामारहरुको कथामा चलचित्र बनाउँदा उनीहरुको जीवनशैली, नियमित रोलकल, फौजी अभ्यासदेखि साना–साना पक्षहरुका विषयमा पूर्वलडाकुहरुबाट जानकारी लिन चाहेनन् वा आफूलाई धेरै जान्ने ठाने ?

युद्ध चलिरहँदा पो असली छापामारहरुलाई भेट्न असहज थियो । अहिले त सडक, चोक, गल्ली, गाउँघर जहाँ पनि पूर्वलडाकुहरु भेटिन्छन् ।

सायद निर्देशकले त्यो पनि आवश्यक ठानेनन् कि ?

परिणामस्वरुप चलचित्रमा छापामारको अभिनय हाँसको चाल न बकुल्लाको तालजस्तो बनेको छ ।

उदाहरणका लागि प्रहरी रहेको दाई मिलनको बिहेको खबर सुन्नेबित्तिकै घर जान्छु भन्ने उमालाई सजिलै बिदा दिनु, आइजीपीलाई हत्या गर्ने योजना बनाएर काठमाडौं पुग्दा बिरामी आमालाई भेट्न अस्पताल जानु, आइजीपीको पिछा गर्न, हत्या गर्न र अस्पतालमा आमालाई भेट्न जाँदासमेत उमालगायत उसका छापामार साथीहरुले एउटै कपडा लगाउनुलाई लिन सकिन्छ ।

काठमाण्डौंमा आइजीपीलाई हान्ने योजना बनाएर छिरेको छापामार टोलीको तौरतरिका, कार्यशैली र गेटअप हेर्दा लाग्छ– उनीहरु त थानकोट काट्दा नकाट्दै पुलिसको खोरमा जाक्किसक्नुपर्ने ।

त्यस्तै, काठमाण्डौंको होटेलभित्र पनि लालसलाम ठोक्नु, २४ सै घण्टा टाउकोमा ठूलो तारा भएको फेटा, उठ्दा–बस्दादेखि जतिबेला पनि जोडजोडले लालसलाम भनिरहनुजस्ता दृश्य अरुका लागि त स्वभाविक लाग्ला तर जसले जनयुद्ध लडेर आएका हुन्, जनयुद्ध देखेका छन् उनलाई हाँस्नुसिवाय अरु केही विकल्प छैन ।

त्यो भन्दा झनै हाँसो उठ्दो दृश्य के छ भने आइजीपीलाई गोली ठोक्ने जिम्मा पाएकी उमालाई यसमा १० वटा गोली लाग्छन् भन्दै पेस्तोल थमाइएको छ । के छापामार कमाण्डर बनिसकेकी उमालाई पेस्तोलमा कति गोली हुन्छन् भन्ने थाहा छैन ? त्यति पनि थाहा नपाउने उमालाई किन त्यत्रो जिम्मेवारी दिइयो ?

त्यस्तै, चौतर्फी माओवादी छापामारहरुको गतिविधि र आक्रमणका बाबजुद पनि उमाको दाजु मिलन नियमित घर आइरहन्छ, जुन द्वन्द्वको समयमा असम्भवजस्तै थियो ।

अर्कोतर्फ उमाको बढुवा भइरहन्छ तर उसको मानसिक स्थिति, वैचारिक स्तर कतै पनि बढ्दैन । बिहेमा भेट्न आएको बेला आत्मसमर्पण गर् भन्ने दाजुलाई ठाडै चुनौती दिने विद्रोही उमा आफ्नो छापामार समूहमा भने सधैं निरिह पात्र भइरहन्छिन्, रोइरहन्छिन्, टोलाइरहन्छिन् ।

के एउटै जीवनमा यस्ता दुईखाले प्रवृत्ति सम्भव छ र ?

चलचित्रमा यस्ता यावत दृश्य र प्रसङ्गहरु छन्, जसले कलाचेतना र अभिनय क्षमताका हिसाबले औसत नेपाली चलचित्रहरुभन्दा अब्बल देखिएको ‘उमा’ लाई फितलो र झूर भन्न बाध्य बनाउँछन् ।

Advertisements
  1. No comments yet.
  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: