Home > कला मनोरञ्जन, सवाल > दहितान ढेंकी ! चम्पीको बिहे रोकिदिनू है

दहितान ढेंकी ! चम्पीको बिहे रोकिदिनू है

Shilpi_natak_1‘…आज दहितान ढिकीमा जाँगर छैन । किनकि चम्पी आफ्नै बिहेको पिठो कुट्दैछे । दहितान ढिकीलाई लाग्दैछ, ऊ आज पिठो हैन चम्पीको भविष्य कुट्दैछ ।’

अशिक्षा र अन्धविश्वासले थारु समुदायमा मौलाएका बालविवाह, बोक्सी प्रथा र गुरुवा प्रथाजस्ता कुसंस्कारहरुप्रति व्यङ्ग्य गरिएको नाटक ‘दहितान ढेंकी’को अन्तिम दृश्यका वाक्यहरु हुन् यी ।

गत शुक्रबार ‘दहितान ढेंकी’ लिएर दाङ आइपुगेका थिए निर्देशक घिमिरे युवराज– शिल्पी नाट्य समूहका साथ ।
उनकै शिल्पी नाट्य समूहले देखाउँदै थियो बेलासा गाउँको कथा । र, कथा भन्दै थियो– देहितान ढेंकी ।

बेलासा गाउँका सबै महिलाहरु दहितान घरको ढिकी कुट्न आउँछन् र आफ्ना दुःख ढिकीसँग कहन्छन् । त्यही गाउँले महिलाका दुःख दर्दका कहानी सुनाउँछ देहितान ढिकी दर्शकहरुलाई । कलाकारहरु आफै ढिकीको स्वरुपमा देखिन्छन् र सुनाउँछन् बेलासा गाउँको कहानी ।

दहितान घरमुली धनीरामले १४ वर्षे छोरा फुलाराम र १२ वर्षे दुखिनीको बिहे गरिदिन्छन् । दुखिनी १६ वर्षको हुँदा उसका एक छोरा र दुई छोरी भइसक्छन् । तीन सन्तानमध्ये १३ वर्षीया कान्छी छोरी चमेली बड्काको छोरा चिन्टुसँग भागेर फिल्मी शैलीमा बिहे गर्छे ।

त्यही डरले फुलाराम जाँडको नसाकै सुरमा जेठी छोरी चम्पीको पनि सानै उमेरमा बिहेको छिनोफानो गरेर घर आउँछन् । बाबुको निर्णय सुनेपछि बिहे गर्दिनँ भनी चम्पी अलापविलाप गरिरहँदा नाटकको मुख्य कथा यही टुङ्गिन्छ ।

नाटकमा सहायक कथाको रुपमा फुलारामकी कान्छी छोरी चमेली चिन्टुसँग भागेर बिहे गरेपछि शुरु भएको घरधन्दाको चाप, मानसिक तथा शारीरिक पीडा, सानैमा गर्भवती बन्नु र गर्भवती अवस्थामै कामको चापले बिरामी पर्नु, बिरामीलाई स्वास्थ्य संस्थामा लैजानुको साटो गुरुवाकहाँ लैजानुजस्ता घटनाक्रम सिलसिलेवार घटिरहेको हुन्छ ।

नाटककी अर्की असहाय तर दयालु पात्र अस्तुनी सबैलाई माया गर्छिन् तर सबैको तिरस्कार पनि उनैले खेप्छिन् । उनले छोएपछि गहुँ नफल्ने, सँगै माछा मार्न जाँदा माछा नमर्ने, गर्भ बिग्रिनेजस्ता आरोप लगाउँदै समाजले उनलाई ‘बोक्सी’ बनाइदिन्छ । र, उत्कर्षनजिक पुग्दा उनीमाथि भौतिक आक्रमण नै हुन्छ गाउँलेहरुबाट ।

त्यस्तै, भूमिपुत्रको उपमा पाएका थारु समुदाय नै हुन् धर्तिमा सुन फलाउने । वर्षभरि खेतबारीमा काम गर्छन्, मनग्ये अन्न उब्जाउँछन् तर अन्न स्याहार्ने बेला जमिन्दार आउँछ । छलकपट, बेइमानी र धाकधम्की लगाउँदै दुई तिहाई आफ्नो भागमा पार्छ र उल्टै किसानलाई बोकाएर अन्न ओसार्छ ।

Shilpi_natak_2

नाटकमा बालविवाहका कारण घर र समाजमा शुरु हुने महिला हिंसा र अपमानजनकढंगले लगाइने बोक्सीको आरोपबारे यथार्थ चित्रण गरिएको छ । छोरीसँग सल्लाह नै नगरी जाँड खाएकै तालमा बिहेको कुरा छिन्ने, छोरालाई निजी विद्यालय र छोरीलाई सरकारी विद्यालय पढाउने, विद्यालयमा पनि शिक्षकबाट छात्राहरु यौनजन्य हिंसाको शिकार हुनुपर्ने समस्याहरुलाई नाटकमा बिम्बात्मकरुपमा देखाइएको छ ।

प्रतिकात्मकरुपमा कलाकारहरुले ढिकीको आकृति बनाएर गाउँको सबै कथा व्यथा, त्यहाँका थारु समुदायले भोग्नुपरेको चरम बेथिति बताउँछन् । थारु समुदायको बसोबास रहेको यो गुमनाम ठाउँ बेलासा गाउँको कथा हो । हुनसक्छ यो गाउँ हाम्रै वरिपरि पनि छ कि ?

थारु र अवधि भाषामा तयार पारिएको नाटकमा सम्बन्धित समुदायकै बर्दिया र कपिलवस्तुका ११ जना कलाकारले अभिनय गरेका छन् । नाटकमा कलाकारहरु रितुराज गुप्ता, शिवानी चौधरी, प्रवेश चौधरी, पारु थारु, दीपकसिंह थारु, निरज चौरी, चन्दा चौधरी, रमेश कुमार चौधरी, राजु पाण्डेय, रेनुका कार्की र सञ्जिता रिजालले अभियन गरेका छन् । नाटकको निर्देशन भने घिमिरे युवराजले गरेका छन् ।

स्थानीय विषय र मुद्दामाथि नाटक तयार गर्दा सोही ठाउँका कलाकारसँग काम गरी नाटकलाई स्वाभाविक र सुन्दर बनाउन सकिन्छ भन्ने हिसाबले थारु र अवध समुदायका कलाकारहरुलाई १५ दिनको तालिमपछि अभियानमा हिडेको निर्देशक घिमिरे युवराज बताउँछन् ।

तनहुँ र कपिलवस्तुमा नाटक प्रदर्शन गरिसकेका उनीहरु दाङपछि बाँकेतिर लागिसकेका छन् । दहितान ढेंकी बोकेर हिडिरहेका शिल्पीका यी तन्नेरीहरुलाई सम्झिरहँदा बर्दियातिर पो पुगिसके कि ? घिमिरे युवराज भन्दै थिए, दाङपछि बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने योजना छ ।

आज तीन दिन बितिसकेछ– देहितान ढेंकी हेरेको पनि । तर, सम्झना मेटिएको छैन ।

नाटक हेरेर फर्किदै गर्दा मैले पुलुक्क चम्पीलाई हेरेको थिएँ । उनले पनि मलाई नै हेरिरहेकी थिइन सायद ।
हात हल्लाएँ ।
बिदाइको ?
होइन होला आँखा जुधाइको हो कि ?
थाहा छैन ।
प्रत्युत्तरमा उनले पनि मुसुक्क हाँस्दै हात हल्लाइन् । नाटक सक्किसकेको थियो तर उनको आँखाले भनिरहेझैं लाग्यो– साथी, जस्सरी भए नि मेरो बिहे रोकिदेऊ न है ।

ढोकातर्फ निस्किदै गर्दा बाटोमै भेटिए घिमिरे युवराज– नाटकका निर्देशक ।
बिरामी विल्टूलाई लिएर आउँदाका भन्दा अलि फरक भएका रै’छन् अहिले । केही दुब्ला–पातला । अलि लामो कपाल पालेका । उनीसँग पनि हात मिलाउँदै छुट्टिएर सरासर कोठामा फर्किएँ ।

तर, तीनपछि पनि ह्याङओभर अझैं छ– दहितान ढेंकीको ।

डर लागिरहेछ– कतै यो समाचार नछापिदै चम्पीको बिहे भइसक्ने पो हो कि ?

Shilpi_natak_8

Shilpi_natak_3

Shilpi_natak_5

Shilpi_natak_4

shilpi_natak_7

Dahitan_dhenki

Advertisements
  1. No comments yet.
  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: