Home > यादहरु > सतिसालजस्तै जनकवि नेत्रलाल

सतिसालजस्तै जनकवि नेत्रलाल

Netralal_Abhai_1आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडिमा
एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामा–लामा कुरा गर्न सक्छ
तर, मेरा मित्र
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडिमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसालमात्र ठिङ्ग उभिन सक्छ ।

माथि उल्लिखित हरफहरु दाङमा जन्मिनुभएका जनकवि स्व. नेत्रलाल अभागीको ‘सतिसाल मात्र ठिङ्ग उभिन सक्छ’ शीर्षकको कविताका हरफहरु हुन् । ३० को दशकअघि नै जनकवि अभागीले लेख्नुभएको यो कविताको सान्दर्भिकता अहिले उहाँको २९औं स्मृति दिवस मनाइरहँदा झनै बढेको छ ।

४१ वर्षकै उमेरमा २०४२ सालमा ‘रहस्यमय मृत्यु’को शिकार हुनुभएका अभागी अहिले पनि यहाँका साहित्यकार र पाठकहरुका मनमनमा शब्द र कर्ममा एकरुपता भएका आदर्श कविका रुपमा रहनुभएको छ ।

नेत्रलाल अभागीलाई आफूले गुरु नपाएको भए अहिलेको अवस्थामा आइन्थ्यो भन्नेमा शंका लाग्ने दाङका अग्रज कवि यज्ञबहादुर डाँगी बताउनुहुन्छ । ‘हामी उहाँका विद्यालयका चेलामात्र भएनौं, कवि यज्ञबहादुर डाँगीले अभागीलाई सम्झिदै भन्नुभयो– ‘उहाँ हाम्रो साहित्य र कम्युनिष्ट राजनीतिका पनि गुरु हुनुहुन्छ ।’

अभागी सिद्धरत्ननाथ मावि नारायणपुरको प्रअ रहँदा आफूहरु सोही विद्यालयको विद्यार्थी भएको र साहित्यिक वातावरण बनाउनमा अभागीको निकै महत्वपूर्ण भूमिका रहेको कवि डाँगीले बताउनुभयो । ‘त्यतिबेलाको माहोल नै अर्कै थियो, अभागीले हामीलाई दिउँसो विद्यालयमा पढाउनुहुन्थ्यो, साहित्य रचनाका बारेमा सिकाउनुहुन्थ्यो, राती–राती कम्युनिष्ट आन्दोलनका बारेमा प्रशिक्षण पनि दिनुहुन्थ्यो ।’

कवि डाँगीजस्तै प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य पद्मप्रसाद शर्मा स्व. नेत्रलाल अभागीलाई आफ्ना विद्यालयका गुरुदेखि राजनीति र साहित्यका समेत गुरु भन्न रुचाउनुहुन्छ । विद्यालयमा हुँदा र पछि पनि अभागीलाई आफूले व्यक्तित्व र लेखनी दुवै हिसाबले निकै सरल पाएको शर्मा बताउनुहुन्छ । ‘उहाँले सामान्य नागरिकले सहजै बुझ्नसक्ने साहित्यिक रचनाहरु लेख्नुहुन्थ्यो, शर्माले भन्नुभयो– ‘मैले उहाँबाट विद्यालय शिक्षा त पाएँ नै, राजनीति र साहित्यको गुरु पनि उहाँ नै हुनुभयो । मलाई नेत्रलालको चेला भन्न पाउँदा गर्व लाग्छ ।’

शर्माका अनुसार अभागीले तत्कालीन पञ्चायतकालमा भूमिगतरुपमा आन्दोलनलाई अघि बढाउने क्रममा गोर्की नेपाली, जोशबहादुर, गो.नेपाली, रमण, कवि धर्ना, भुवनकेशर, भरतपुरे कान्छोलगायतका नामबाट लेखरचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित गर्नुहुन्थ्यो ।

डाँगी र शर्माजस्तै अभागीका विद्यार्थी तथा सहकर्मी साहित्यकार शरद देवकोटा स्व. नेत्रलाललाई विचारमा दृढ, कलात्मक चेतना र शैलीका हिसाबले निकै उत्कृष्ट कविको रुपमा लिएको बताउनुहुन्छ । ‘अभागी सधैं विचारलाई शीर्षमा राख्नुहुन्थ्यो, देवकोटाले भन्नुभयो– ‘तर लेखनमा कलात्मकता, भाषिक सरलता र स्थानीय जनजीब्रोका बोलीचालीका भाषालाई रचनामा टप्पक्कै टिप्ने गर्नुहुन्थ्यो ।’

भूमिगत अवस्थामा हुँदा आफूहरु कविता लेखनको शैलीगत विषयमा तीव्र बहस गर्ने र निष्कर्षमा पुग्ने गरेका विगत सम्झँदा अहिले पनि आफूलाई ऊर्जा प्राप्त हुने देवकोटाको भनाई छ ।

Netralal_salik_Dangउसो त अभागीसँग शिक्षण पेसाका क्रममा अर्घाखाँची र दाङमा गरी झण्डै एकदशक सँगसँगै बिताउनुभएका साहित्यकार गिरिराज शर्मा सरल बानीबेहोरा र दृढ विचार र अरुलाई कन्भिन्स गर्ने शैलीका धनी अभागीजस्तो जननेता अहिलेसम्म कोही नदेखेको बताउनुहुन्छ ।

अर्घाखाँचीमा रहँदा अभागीले ‘आँकुरा’ नामक पत्रिका प्रकाशन गरेको भन्दै शर्माले उहाँका रचनाहरु त्यतिबेला सन्देश, राप्ती, गोचाली, ज्योत्स्ना, जनताका गीत, दैनिक निर्णय, संकल्प, अक्षयलोक, विद्यार्थी, कदम, छहरा, सुस्केरा, झिसमिसे, सिमानापारिका हुँकार, पौरख, अन्तध्र्वनी, हातेमालो, घोषणालगायतका विभिन्न साहित्यिक पत्रपत्रिकाहरुमा छापिएको बताउनुभयो ।

२००१ सालमा दाङको धर्ना–२ सिसौपुरमा जन्मिनुभएका नेत्रलाल अभागी २०२१/२२ सालतिर काठमाण्डौं प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मासँग भेट भएपछि नै जनसाहित्य लेखनीतर्फ लागेको जानकारहरु बताउँछन् । विशेष गरी कविता लेखनमा अब्बल देखिनुभएका नेत्रलालले आफ्नो जीवनकालमा कुनै रचना प्रकाशित गर्न पाउनुभएन ।

२०४२ सालमा उहाँको ‘रहस्यमय’ निधनपछि मात्रै सोही वर्ष नर्कको कथा खण्डकाव्य, सतिसालमात्र ठिङ्ग उभिन सक्छ कवितासङ्ग्रह र २०६२ सालमा ‘वर्गप्रेम’ कवितासङ्ग्रह प्रकाशित भएको छ । त्यस्तै उहाँले फूटकररुपमा हिन्दी र अंग्रेजी भाषाका सामग्रीहरु अनुवाद गरी छापेको र केही थारु भाषाका कृतिहरु अझैं पनि अप्रकाशित अवस्था रहेको अभागीको जीवनीका बारेमा शोध गर्नुभएका प्रेमप्रकाश राजभण्डारीले आफ्नो शोधपत्रमा उल्लेख गर्नुभएको छ ।

Advertisements
Categories: यादहरु
  1. July 22, 2013 at 8:54 am

    Dilli Sir

    Great Job !!!

  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: