Home > समाज, सवाल > बेपत्ता कहिलेसम्म ?

बेपत्ता कहिलेसम्म ?

sarbajit+घर जलाइदिए, दुवै छोरा मारिए

पैसा कमाउन कालापार (भारत) छिरेको कान्छो छोरा रामबहादुर गिरी काग तिहारको दिन टुप्लुक्क घर आइपुग्दा ऐभान र नन्दकली कम्ती खुसी थिएनन् तर त्यो खुसी त्यति छिट्टै लुटिन्छ भन्ने उनीहरुलाई के थाहा ?

यथार्थमा त्यही भयो जुन उनीहरुले कल्पनासमेत गरेका थिएनन् ।

लक्ष्मीपूजाको मध्यरात ! ओछ्यानमा सुतिरहेको छोरालाई आँखै अगाडिबाट लछारपछार पार्दै लगेको हिजोजस्तै लाग्छ रे ऐभान र नन्दकली गिरीलाई ।

तर, पूरै दशक बितिसक्यो । मध्यरातमा पुलिसले कुट्दै लगेको छोरा अझै फर्किएको छैन, सायद अब ऊ कहिल्यै फर्किने छैन ।

‘सप्तरेखी (सप्तर्षी तारामण्डल) पश्चिमतिर ढल्किसकेका थिए, चारजना मुखमा पट्टि बाँधेका काँग्रेसका मान्छेसहित आएका पुलिसले कान्छालाई बाघले बाख्रालाई झम्टेझैं गरी लगे । त्यतिखेर उसको शरिरमा कट्टु र गञ्जीमात्रै थियो, चप्पल लगाउनै दिएनन् दुष्टहरुले । त्यसपछि ऊ कहिल्यै आएन, कहाँ लगे, के गरे अहँ केही पनि थाहा भएन ।’

सातदशक पार गरिसकेका ऐभान विगत पाँच वर्षदेखि बाहीरी संसार त देख्न सक्तैनन् तर १४ वर्ष अघिको त्यो क्रुर दृश्य भने अझैं पनि झल्झल्ती देखिने बताउँछन् ।

०५५ सालको तिहार दुनियाँका लागि खुसी र रमाइलोको संगम बन्यो होला तर सल्यानको कालागाउँ गाविस–१ खरखरेनाका ऐभानको परिवारमा त्यो खुसीयाली छाउन सकेन । झारपातसमेत माओवादी देख्ने तत्कालिन पुलिस प्रशासनले ‘माओवादी’को आरोपमा दुई दिनअघि कालापारबाट घर आएका रामबहादुर गिरीलाई मध्यरातमा गिरफ्तार गरी गुमनाम पा¥यो ।

०५५ कार्तिक १४ गतेको राती स्थानीय कांग्रेस कार्यकर्ताहरुको उक्साहटमा इलाका प्रहरी कार्यालय रागेचौरबाट गएको प्रहरीले गिरप्तार गरी बेपत्ता बनायो ।

कान्छो छोरालाई बेपत्ता पारेकै केही महिनापछि काँग्रेस कार्यकर्ताले राती घरमा आगो लगाएर सम्पूर्ण जायजेथा नष्ट पारिदिए । धन्न त्यसदिन घरमा कोही नसुतेकाले बाँच्न सफल भए ।

रामबहादुर मारिनुको दोष थियो त केवल उनका दाजु भुपेन्द्र माओवादीमा लाग्नु । तर, दाजु माओवादी भएको रामबहादुरलाई थाहै थिएन किनकि उनी कालापार गइसकेपछि मात्र दाजु माओवादी कार्यकर्ता भएका थिए । 

विडम्बना ! कान्छो छोरा (रामबहादुर) बेपत्ता र घर जलाइदाको पीडा नसेलाउँदै माइलो छोरा भुपेन्द्र गिरी ‘सर्वजित’ पनि लडाईंकै क्रममा मारिए– रुकुमकोटमा । ०५७ चैत्र १९ गते रुकुमकोट प्रहरी चौकी आक्रमणका क्रममा उनी शहीद भए ।

Ghan & Jeetबाबुछोरा नै गुमनाम

तारेख थाम्न इलाका प्रहरी कार्यालय रागेचौर गएका मर्मपरिकाँडा–२ कोटबाराका घनबहादुर परियारका बाबुछोरा र धने परियार त्यसपछि कहिल्यै घर फर्किएनन् ।

१२ वर्षमा खोला पनि फर्कन्छ भन्छन् बुढापाकाहरु । तर, ‘साँझ आइहाल्छौं, चिन्ता नगर्नू’ भन्दै हिडेको १३ वर्ष पुगिसक्यो अझैं उनीहरु फर्किएका छैनन् ।

पुख्र्यौली पेसा सिलाइ कटाइ गरी परिवार पाल्दै आएका परियार बन्धुहरुलाई आरोप थियो– माओवादीका कपडा सिलाइदिन्छौ, खाना दिन्छौ, बसाउँछौ आदि ।

गस्तीमा गएको प्रहरीले चौकी (रागेचौर) आउनू नत्र ठीक हुँदैन भनेपछि २०५६ मंसिर ३ गते इलाका प्रहरी कार्यालय रागेचौर गएका उनीहरुलाई त्यही गिरफ्तार गरी बेपत्ता बनाइयो ।

प्रहरी चौकीभन्दा करिब पौने घण्टा टाढामात्र घर भएका उनीहरुले माओवादीलाई सहयोग त के देख्दै नदेखेको पीडित परिवार बताउँछन् । पीडित परिवारले लास र सासको कुरा त परै छ, उतिबेला नै प्रहरी चौकीमा सोधखोज गर्न जाँदा प्रहरीले कसैलाई नियन्त्रणमा नलिएको भन्दै उल्टै मार्ने धम्की दिएर पठाइदियो ।

Basudev & Kesharशिक्षा कार्यालयबाटै शिक्षक बेपत्ता

तत्कालीन सुरक्षा समितिको निर्देशनमा शिक्षा अधिकारीले जिल्ला शिक्षा कार्यालयमा २४ घण्टाभित्र उपस्थित हुन बोलाइएका सेजुवालटाकुराका शिक्षक बासुदेव शर्मा र कोटबाराका शिक्षक केशरबहादुर ओलीलाई शिक्षा कार्यालयबाटै गुमनाम पारियो ।

तत्कालीन शिक्षा अधिकारीको पत्रका आधारमा २०५९ बैसाख १३ गते जिल्ला शिक्षा कार्यालयमा उपस्थित भएका शर्मा र सोही वर्षको असार १९ गते उपस्थित भएका ओलीलाई प्रहरीले नियन्त्रणमा लिई सेनाको सिमखर्कस्थित सेनाको व्यारेकका बुझाएका थिए उनीहरुलाई ।

शिक्षा अधिकारीले नै शिक्षकलाई आतंककारीको आरोपमा २४ घण्टे स्पष्टिकरण पत्रमार्फत् कार्यालयमा बोलाएर गिरफ्तार गराएपछि उनीहरुको सुरक्षा कसले गर्ने ?

तर, सल्यानका तत्कालीन शिक्षा अधिकारीले आफ्नै कार्यालयमा बोलाएर दुई जना शिक्षक प्रहरीलाई बुझाइदिए ।

कजेरी–२ का विद्यार्थी ज्ञानप्रकाश नेपाली विद्यालयबाट घर फर्किदै गर्दा बाटैबाट हराए । २०५६ फागुन १९ गते इलाका प्रहरी कार्यालय शितलपाटीको प्रहरीले उनलाई कालालेखबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि कहाँ लियो, के ग¥यो भन्ने अहिलेसम्म उनको बारेमा केही पत्तो नै छैन ।

लामै छ बेपत्ताको सूचि

कालागाउँका रामबहादुर, मर्मपरिकाँडा परियारबन्धु, कजेरीका ज्ञानबहादुर र सेजुवालटाकुराका शिक्षक बासुदेव र कोटबाराका शिक्षक केशरको बेपत्ता प्रकरण त प्रतिनिधि घटनामात्रै हुन् ।

उनीहरु बाहेक ढाकाडामका भद्र केसी, वामेका राजु भण्डारी र तिलक खत्री, धनवाङका हिरालाल नेपाली, कोटबाराका नीमबहादुर ओली, बाँझकाँडाका बेदबहादुर बुढाथोकी, मेघीराम बुढाथोकी, कुपिण्डेका हरिलाल परियार, सिनवाङका रेशम बोहरा, थारमारेका शालिकराम शाही, सिद्धेश्वरीका रत्न परियार, गौरीलाल परियार र डोटीराम परियार, लक्ष्मीपुरका धर्मराज रावत, पिपलनेटाका दिलबहादुर केसी, डाँडागाउँका टिकाराम केसी र मर्मपरिकाँडाका शोभाराम रानालाई तत्कालिन शाहीसेना र पुलिसले अलग–अलग मिति र स्थानबाट गिरफ्तार गरी बेपत्ता बनाएको छ ।

‘माओवादी आतंककारी’को आरोपमा गुमनाम पारिएका यी नागरिकहरु विशुद्ध सर्वसाधारण नागरिक हुन्, जो न त गाउँ चटक्कै छोडेर विदेशिन सके, न गाउँमै बसेर राज्यलाई माओवादीको सुराक दिन सके । माओवादीको गतिविधि आफूहरुलाई नभनेको, गाउँमै बसेर माओवादीलाई सहयोग गरेको, खाना खुवाएको यस्तै–यस्तै आरोप लगाइन्थे उनीहरुलाई ।

त्यस्तै बेपत्ता पारिएका विद्यार्थीहरुमा थारमारेका विजय भण्डारी, धनवाङका इन्द्रबहादुर बुढा र दलबहादुर नेपाली रहेका छन् भने शिक्षकहरुमा शितलपाटीका प्रेम भँडेल, लक्ष्मीपुरका एकलाल रावत र सिनवाङका वेदबहादुर बोहरा रहेका छन् ।

त्यसैगरी माओवादी कार्यकर्ताहरुमा दमाचौरका दलबहादुर विक, पिपलनेटाका पोखरराज बुढाथोकी, कालागाउँका बुद्धि बुढाथोकी, निगालचुलाका आइतुराम विक, जिमालीका शेरबहादुर बोहरा, कोटजहारीका कमल थापा र थारमारेका विपीन भण्डारीलाई पनि पक्राऊ गरी बेपत्ता बनाइएको छ भने एमालेका माझकाँडा गाउँ समिति सदस्य देवीलाल थापालाई पनि बालुवासंग्रही पसलबाटै गिरफ्तार गरी १२ वर्ष पहिलेदेखि बेपत्ता बनाइएको छ ।

यसरी माओवादी जनयुद्ध दबाउने नाममा राज्यद्वारा सल्यानमा मात्रै ३८ जनालाई बेपत्ता पारिएको छ । त्यसमध्ये २१ जना सर्वसाधारण किसान, ५ जना शिक्षक, ४ जना विद्यार्थी, ७ जना माओवादी कार्यकर्ता र १ जना एमाले कार्यकर्ता रहेका छन् ।

विभिन्न स्थानबाट बेपत्ता बनाइएका यी नागरिकहरुको हत्या भइसकेको पुष्टि नभए पनि बचाएरै राखेको छ भन्नेमा कोही पनि आशावादी छैनन् । दुनियाँको आँखैअगाडिबाट पक्राऊ गरिएका नागरिकलाई ‘पक्राऊ नै गरेका छैनौं’ भन्ने प्रशासनको गैरजिम्मेवारीपूर्ण तर्कले पनि उनीहरुलाई पक्राउ गर्नेबित्तिकै मारिएको हुनसक्ने आफन्तजनको अनुमान छ । तर, आफ्नै आँखाले मारिएको नदेख्दा वा लास नपाउँदा झिनो आस रहेको पीडितहरु भन्छन् ।

उसो त बेपत्ता बनाइएका सबैलाई माओवादीले सहिद घोषणा गरिसकेको छ तर उनीहरुलाई तत्कालीन सेना पुलिसले कहाँ, कहिले, कस्तो अवस्थामा हत्या गरे त्यो स्पष्टसँग थाहा नै हुन सकेको छैन ।

अब प्रश्न उब्जिएको छ, द्वन्द्वकालमा भएका गैरन्यायिक हत्या, बेपत्ता र गैरराजनीतिक अपराधका कुरा गरिरहँदा तत्कालीन राज्यले मच्चाएका यी हत्या, अपहरण र बेपत्ताका घटनाहरुको अनुसन्धान र दोषीलाई कार्बाही हुन्छ कि हुँदैन ?

तत्कालीन राज्यको ठेक्का लिएका कांग्रेस, एमाले नेतृत्वको सरकार, यी अपराधमा संलग्न सेना पुलिस र संकटकालपछिका घटनामा संलग्न शाही सरकार, शाही सरकारका मन्त्रीहरु र सेना प्रहरीहरु अपराधी हुन् कि होइनन् ?

मानवअधिकार सबै मानवको हो कि केही सीमित पहुँचवाला व्यक्ति, पत्रकार, मानवअधिकारवादी जस्ता स्वघोषित बिल्ला बोक्नेहरुको मात्रै ?

अनि माओवादी जनयुद्धका बारेमा जानकारी नै नराख्ने सर्वसाधारण नागरिकलाई माओवादीको आरोपमा बेपत्ता पार्ने र हत्या गर्ने कार्य गैरन्यायिक हत्या हो कि होइन ?

आफूलाई सच्चा न्यायका पक्षपाती भएको सगर्व घोषणा गर्दै हिड्ने ‘महानुभाव’हरुले यी प्रश्नहरुको जवाफ दिनुपर्छ कि पर्दैन ?

Advertisements
Categories: समाज, सवाल
  1. No comments yet.
  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: