Home > समाज, सवाल > ‘अब कोही टुहुरा हुनु नपरोस्’

‘अब कोही टुहुरा हुनु नपरोस्’

Imageबाबाको माया खै कस्तो हुन्छ सुर्खेतकी शान्ति सुनारलाई थाहै छैन रे । भर्खर आठ वर्षकी मात्र भएकी उनले बाबालाई देखेकै छैनन् ।

शान्ति जन्मिएको वर्षदिन नपुग्दै उनका बाबा मारिइसकेका थिए– जनयुद्धमा । तर, उनी अझैं बाबाले ल्याइदिएको कुर्ता सुरुवाल लगाउने आशा साँचेर बसेकी छिन् ।

अबोध शान्तिलाई थाहै छैन बाबा अब कहिल्यै आउने छैनन् र कुर्ता सुरुवाल पनि ल्याउने छैनन् ।

दाङको मानपुर–७ बनकट्टीस्थित सहिद स्मृति विद्यालयमा दुई कक्षामा पढिरहेकी शान्तिले भनिन्– ‘मम्मीले भन्नुभएको, म ठूलो भएपछि बाबाले मलाई कुर्तासुरुवाल ल्याइदिनुहुन्छ रे । तर, मम्मी पनि कस्तो–कस्तो ? बाबा कहाँ हुनुहुन्छ भनी सोध्दा चुप्प लागिरहनुहुन्छ ।’

शान्तिलाई सहिद भनेको के हो थाहा छैन तर साथीहरु कसैले बाबा, कसैले आमा, कसैले दाइ त कसैले दिदी सहिद भएको सुनाउँदा उनी आफ्नो बाबा पनि सहिद नै होला भन्ने अनुमान गर्न थालेकी छिन् ।

बाआमा दुवैलाई गुमाउनुप¥यो

दुःख, पीडा पनि खै कस्तो–कस्तो ? भएजति सबै एउटैको थाप्लोमा पर्नु । बाँके खासकुश्मा–२ खेतानटोलकी कमला कुमाल त्यस्तै एक टुहुरी छोरी हुन्, जसले सशस्त्र द्वन्द्वका क्रममा बाआमालाई त गुमाइन् नै । फुपू झरना पनि लडाईंमै मारिइन् । अब घरमा अंकलको परिवार, आफूहरु चार बहिनी र बाजे बज्यैमात्रै छन् ।

गाउँस्तरका माओवादी कार्यकर्ता रहेका उनका बुवा दीपकलाई संकटकालको बेला सेनाले छोपेर हत्या गरेको थियो । पछि अज्ञात समूहले आमालाई पनि मारिदिएको उनी बताउँछिन् । ‘सेनाले बुवालाई मारेको एक वर्ष पनि भएको थिएन, एक दिन बजारबाट फर्किदै गरेकी आमालाई पनि गुण्डाहरुले मारेछन् ।’

उनको जीवनमा १० वर्षे जनयुद्धको पीडा त्यत्तिमै सीमित रहेन, बाबाको हत्यापछि माओवादी सेनामा गएकी फूपु झरना पनि लडाईंमै मारिइन् ।

सानोमा बाजेबज्यैसँगै बसेर सात कक्षासम्म पढेकी कमलाले २०६७ सालदेखि भने सहिद स्मृति विद्यालयमै पढिरहेकी छिन् । यहाँ उनी आफूजस्तै थुप्रै द्वन्द्वपीडित बालबालिकाहरुसँग बसेर अध्ययन गर्छिन् ।

अहिले एसएलसीको तयारी गरिरहेकी कमला द्वन्द्वपीडित बालबालिकाहरुलाई एकै ठाउँमा राखेर पठनपाठन गराउनु राम्रो भएको भन्दै यस्तो सुविधा उच्च शिक्षासम्म हुनुपर्ने बताउँछिन् । ‘हामीलाई यहाँ १० कक्षासम्म पढ्ने व्यवस्था गरिएको छ, अब एसएलसी पास गरेपछि कहाँ, कसरी पढ्ने होला निकै चिन्ता लागेको छ । उच्च शिक्षासम्म पढाइदिए हुन्थ्यो ।’

शरिरमै बमका छर्रा

शान्ति र कमलासँगै सहिद स्मृति विद्यालयमै पढिरहेका जाजरकोट जुनीदहका लक्ष्मण बुढाले भने फरक पीडा भोगिरहेका छन् । द्वन्द्वकै क्रममा सानैमा दाजुलाई गुमाएका उनी आफै पनि विगत आठ वर्षदेखि शरीरमा बमका छर्रा बोकेर बाँचिरहेका छन् ।

०६१ भदौ १ को साँझ ! उनका लागि जीवनकै निकै पीडादायी क्षण बन्यो । गाउँनजिकै ओर्ताङ भन्ने ठाउँमा सरकारी सेनाले हवाइ हमला ग¥यो, हमलामा सेनाले लक्षित गरिएकाहरु भागे, आक्रमणको निशानामा परे नौ वर्षे उनी ।

घटना सम्झदै उनी भन्छन्– ‘बेलुका ४ बजेतिर हुनुपर्छ, गाउँमा माओवादीको कार्यक्रम थियो, एक्कासी हेलिकोप्टरले बम हान्न लाग्यो । सबै जंगलतिर भागे । म पनि यताउति दौड्दै थिएँ । हेलिकोप्टरले मेरोनजिकै बम खसालेछ, कतिबेला के भयो थाहै पाइनँ ।’

बमले लागेर उनका दुवै खुट्टा भाँचिएका छन् । दायाँ खुट्टाको घाउ निको भएपनि बायाँ खुट्टा पूरै बाङ्गो भएको छ । अहिले पनि वायाँ खुट्टामा बमका छर्राहरु रहेको उनी बताउँछन् ।

‘संकटकालको बेला उपचार गर्न कहाँ जाने ? घाइते भएको भेटाएपछि सेनाले मारिहाल्थ्यो । माओवादी सेनाले कहिले जंगलमा, कहिले गाउँलेहरुको घरमा राखेर एक वर्षसम्म उपचार गरे’– उनी भन्छन्– ‘शान्तिकालपछि एकपटक काठमाण्डौं गएर देखाउँदा डाक्टरले अझैं खुट्टामा बमका छर्रा छ, निकाल्नलाई धेरै खर्च लाग्छ भनेको छ । खोई, मेरो उपचार कसले गरिदेला र ?’

तीतो भोगाइ र मीठो सपना

सुर्खेतकी शान्ति, बाँकेकी कमला र जाजरकोटका लक्ष्मण त नमूना पात्रहरु मात्रै हुन् । दाङको मानपुर–७ वनकट्टीमा रहेको सहिद स्मृति विद्यालयमा यस्तै पीडा भोगेका साढे तीन सय द्वन्द्वपीडित बालबालिकाहरुले पढिरहेका छन् ।

उनीहरु कसैले सशस्त्र द्वन्द्वको क्रममा बाबा गुमाएका छन् त कसैले आमा । कसैले दाजु र दिदीहरु गुमाएका छन् । कसैका अविभावक द्वन्द्वमा क्रममा घाइते भएर अङ्गभङ्ग भएका छन् त कोही घरबारविहीन ।

पीडैपीडाको सागरमा हुर्किएका विचित्रका बालबालिकाहरुको जमघट छ सहिद स्मृति विद्यालयमा ।

बाआमा र अविभावक गुमाएर बेसहारा बनेका उनीहरु बाँकी आफन्तजनभन्दा टाढा भएपनि हाँसी खुसी नियमित कार्यतालिकाभित्र पढ्छन्, खेल्छन् र रमाउँछन् । आफूहरुले जे जस्तो नियति भोग्नुपरे पनि अरु बालबालिकाहरुले बाआमा र अविभावक गुमाएर टुहुरा बन्नु नपरोस् भन्ने उनीहरुको कामना छ ।

पढाइमा लगनशील र अनुशासित उनीहरु कसैले डाक्टर बनेर रोगीको सेवा गर्ने, कसैले शिक्षक बनेर शिक्षित समाज निर्माण गर्ने त कोही राजनीतिक कार्यकर्ता बनेर देशलाई राम्रो बनाउने सपना भएको सुनाउँछन् ।

द्वन्द्वपीडित बालबालिकाका लागि

०६५ देखि दाङको दुधरासमा छात्राबासको स्थापना गरी द्वन्द्वपीडित बालबालिकाहरुको पठनपाठन र भरण पोषण गर्दै आएको शहीद स्मृति प्रतिष्ठानले शैक्षिक शत्र ०६७/६८ देखि मानपुर–७ बनकट्टीमा सहिदस्मृति आवासीय विद्यालय सञ्चालन गरेको छ ।

विद्यालयमा अहिले राप्ती, भेरी र कर्णालीका गरी ३ सय ५० जना द्वन्द्वपीडित बालबालिकाहरु रहेका छन् । उनीहरुको सबै भरणपोषण, पढाइ सहिद स्मृति प्रतिष्ठानले व्यवस्था गरिरहेको विद्यालयका प्रिन्सिपल बसन्तराज अधिकारीले बताए ।

द्वन्द्वपीडित बालबालिकाहरुको शिक्षादिक्षा र संरक्षणका लागि द्वन्द्वपीडित शिक्षा कार्यक्रमअन्तर्गत विद्यालय खोलिएको भन्दै प्रिन्सिपल अधिकारीले भने– ‘जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका सहिद, बेपत्ता र अपाङ्ग भएका परिवारका बालबालिकाहरु जो शिक्षा तथा उपर्युक्त हेरचाहबाट वञ्चित छन्, उनीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यका साथ यसको स्थापना गरिएको हो ।’

उनका अनुसार मध्यपश्चिमको दाङ, सुदूरपश्चिमको धनगढी, पश्चिमाञ्चलको पोखरा, मध्यामाञ्चलको दोलखा र पूर्वाञ्चलको सुनसरीमा गरी देशैभरि पाँच वटा यस्ता विद्यालयहरु खोलिएको छ । ती सबै विद्यालयहरुको व्यवस्थापन सहिद स्मृति प्रतिष्ठानले हेर्ने गरेको अधिकारी बताउँछन् ।

दश वर्षे सशस्त्र द्वन्द्वको एउटा सानो झलक सहिदस्मृति विद्यालयमा रहेको दाङका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह बताउँछन् । ‘सहिदस्मृति विद्यालय पुग्दा मनै कस्तो–कस्तो हुन्छ । हाम्रो देशको अनुहार, सशस्त्र द्वन्द्वले छोडेर गएका घाऊहरु त्यही छन्, उनी भन्छन्– ‘अरु सबै दशैंतिहारमा घर जान्छन्, उनीहरु कहाँ जाने ? के गर्ने ? पीडा असीमित छन् त्यहाँ ।’

द्वन्द्वपीडित बालबालिकाहरुलाई अहिलेको शिक्षण सिकाइभन्दा फरक किसिमले पढाउनुपर्ने शिक्षा अधिकारी शाहको धारणा छ । ‘अहिलेको शिक्षण सिकाइ र पाठ्यपुस्तकमै तिम्रो घरमा को–को छन्, बाआमाको नाम के हो ? पेशा के हो ? जस्ता प्रश्नहरु छन्, त्यसले उनीहरुको मनोविज्ञान कस्तो बनाउला ? त्यसतर्फ चनाखो रहँदै निकै संवेदनशील भएर उनीहरुलाई पठनपाठन गराउनुपर्ने अवस्था छ ।’

सीमित भएपनि द्वन्द्वपीडित बालबालिकाहरुको पठनपाठनका लागि सरकारले सकारात्मक कदम चालेको भन्दै शाहले दुवै पक्षबाट पीडित सबै बालबालिकाहरुलाई पढाउन यस्ता आवासीय विद्यालयहरु अरु सञ्चालन गर्नुपर्ने र द्वन्द्वको घाउ पुर्दै जानुपर्ने बताए ।

Image

Advertisements
Categories: समाज, सवाल
  1. December 24, 2012 at 9:50 am

    “अबोध शान्तिलाई थाहै छैन बाबा अब कहिल्यै आउने छैनन् र कुर्ता सुरुवाल पनि ल्याउने छैनन् ।”
    समाजमा हजारौं शान्तिहरु छन्, उनीहरुको पीडामा कहिले लाग्छ मल्हम ?? राज्यले सबै–सबै शान्तिहरुको जिम्मा लिनुपर्छ र उनीहरुलाई अविभावकत्व प्रदान गर्नुपर्छ । डिल्लीजीलाई धेरै धेरै धन्यवाद । अरु शान्तिहरुको यथार्थता र कथाव्यथा लेख्दै जानुस् ।

  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: