Home > गन्थन > बबुरा हामी पत्रकार !

बबुरा हामी पत्रकार !

गत दशैंमा आफैले खिचेको छतबासीको तस्वीर । धन्न हामीलाई भने कोही पत्रकारले भेटाएनन् र बचियो ।

‘लमहीसम्म जाने कति जना हुनुहुन्छ ?’

‘चार/पाँच जना’

‘त्यसो भए तपाइहरु अलि परसम्म हिड्दै गर्नुस् ।’
ट्राफिक बीटनेर उभिएर गाडी कुरिरहेका हामीलाई दाङ–काठमाडौं रात्री बसका सह–चालकले ग्रिन सिग्नल देखाए ।

हामीलाई जानु थियो नेपालगञ्ज– अनलाइन मिडिया तथा संविधान निर्माणको सवालसम्बन्धी दुइ दिने कार्यशालामा ।

दाङबाट थियौं साथी नरेन्द्र केसी र म । रोल्पाली नवीन लोचन मगर पनि हामीलाई भेट्न आइपुगेका थिए घोराहीमै ।

हिउँदयामका दिन न परे, घडिमा छ नबज्दै अँध्यारो भइसकेको थियो । हामी भने साढे छ बजे घोराहीको ट्राफिकचोकमा गाडी कुरिरहेका थियौं नेपालगञ्ज जाने । साँझ पाँच बजेपछि घोराहीबाट नेपालगञ्ज जाने गाडी नपाइदो रहेनछ ।

ट्राफिक प्रहरी भन्दै थिए– लमहीसम्म अरु गाडीमा जानुस्, त्यसपछि पश्चिमतिर जाने जति नि पाइन्छन् ।

नेपालगञ्ज जानुपर्ने मान्छे, गाडी पाइदैन भन्ने थाहा पाउँदा पाउँदै साँझ साढे छ बजे नै आयौं हामी गाडी खोज्न । पत्रकारको बाध्यता भन्ने कि रोजगारी ? किन ढिला गरियो अर्को कुनै सन्दर्भमा लेखुँला ।

अँ, मैले अगाडि भन्दै थिए, एउटा रात्री बस आयो काठमाडौं जाने । भित्र नअटाएर हो कि बाहिर हाम्लाई तर्साउन खोई ? दुइटा ज्यान मुश्किलले अटाउने ढोकामा छ/सात जना कोचिएर उभिएका थिए ।

गाडी रोकियो ।

‘ठाउँ छ कि उभिनलाई ?’ बस्ने ठाउँका कुरा त के गर्नु उभिने ठाउँ खोज्यौं हामीले ।
कहाँसम्म जाने ? उसको रुखो प्रश्न ।
‘लमहीसम्म’
‘काठमाडौं जानेलाई त ठाउँ छैन लमही जानेलाई !’
हदै तीतो भाषामा साँचो कुरा बोल्यो एकजनाले । सायद सिट नपाएको प्यासेन्जर होला ।

अब परेन फसाद । यसभन्दा अघि एउटा गाडी रिजर्भ हो भन्दै गइसकेको थियो । अब यो पनि जाने भो तर हामी भने जहाँको त्यही । भोलिदेखि बन्दको आह्वान गरेका छन् राज्यबाट अयोग्य भनिएका लडाकुहरुले ।

राज्यले पो अयोग्य भन्या, बन्द त पूरै योग्यले भन्दा खतरा गर्छन् उनीहरु ।

गाडी स्टार्ट हुनै लाग्दा बोल्यो उही सह–चालक ।
‘लमहीसम्म जाने कति जना हुनुहुन्छ ?’
‘चार/पाँच जना’
‘त्यसो भए तपाइहरु अलि परसम्म हिड्दै गर्नुस्, ‘माथि’ चढ्नुहोला, ह्याँ ट्राफिकले देख्यो भने मार्छ ।’

मुखामुख ग¥यौं तीनैजनाले । ल्याम्पपोष्टबाट आएको उज्यालोमा हामीले एक–अर्काको अनुहार पढ्यौं कि सायद चुपचाप तीनैजना ‘अलि परसम्म’ हिड्न थाल्यौं– ट्राफिक प्रहरीका आँखा छल्न ।

हिड्न त हिडियो ‘अलि पर’ तर गाडी रोकिएन भने ? फेरि अर्को गाडी खोज्दै फर्किनुपर्ने भयो भने ? साथीहरु भन्दै थिए– ‘हामीलाई झुक्याउन त भनेको हैन ?’ डर–भर, शंका–विश्वास सँगसँगै चलिरह्यो मनमा ।

गाडी आयो, रोकियो ।
जानुस् माथि– छिटो छिटो । उही सह–चालकको कासन ।
आदेश शिरोपर ग¥यौं ।

अब गाडी हुइकियो ।
मंसिरको सिरेटो, साँझको मौसम, छतमाथिको यात्रा ।
हामीजस्तै अरु थिए त्यस्तै १०/१२ जना छतबासी ।

केही दिनअघि मात्र मध्यपश्चिम प्रहरी प्रमुख टपेन्द्रध्वज हमाल दाङ आएका थिए– जिल्लाको सुरक्षा अवस्था र चुनौतीका विषयमा बुझ्न । डिआइजी हमाललाई हामीले भनेका थियौं– ‘यातायात क्षेत्रको एउटा समस्या छतमा यात्रु चढ्ने/चढाउने परम्परा रोक्न नसक्नु छ, त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुप¥यो ।’

यो कस्तो विडम्वना ! प्रहरीको प्रभावकारी कदमको माग गर्ने हामी आफै ‘प्रभावकारी कदम’ चालिरहेछौं छतमा ।

चिसोले सेकिएका गाला छाम्दै साथी नवीनले सानो कुरो कोट्याए– यो छतमा यात्रा गर्नुपर्ने दिन कहिले अन्त्य होला ?
मैले के जवाफ दिने सोचिनसक्दै छेऊकै एकजना भाइले फ्याट्ट जवाफ दिइहाले– कहिल्यै हुन्न सर, प्रहरीले नदेखे भैहाल्छ, देखेपनि दुइ/चार हजार फाल्दे पुग्छ । अरुलाई के को मतलब ।

अब यो बहसको विषय बनिसक्यो– छत बहस ।

छेऊबाट अर्को एकजना कराए– अरुलाई मतलब नभए नि पत्रकारले त भ्याउँछन् है ।
पत्रकार भन्ने सुन्नेबित्तिकै म झसंग भएँ ।

कुरा के रहेछ भने उनी छतमा चढिरहेको बेला एकजना पत्रकारले फोटो खिचेर पत्रिकामा छापिसकेको रै’छ त्यही भएर रहेछ उनले पत्रकारले त भ्याउँछन् भनेका ।

ओहो ! हामी पनि पत्रकार होइनौं र ? मुटु ढुकढुक पो भयो । बाहिरको चिसोले गालामा मात्र छोएको थियो, उनको कुराले भित्रै कता–कता चिसो बनायो । साँच्चै म आफैले कतिपटक छतमा चढेका यात्रुहरुको फोटो खिचेर जोखिमपूर्ण यात्रा भनेर लेखेको छु ।

धन्न, रातीको यात्रा प¥यो र कोही पत्रकारले हाम्रो नि फोटो खिच्न भ्याएनन् । लमही आउञ्जेल करिब पौने घण्टासम्म मलाई छतबाट खसिन्छ कि भन्ने डर होइन, सहयात्री छतबासीले हामी पत्रकार हौं भन्ने थाहा पाउँछन् कि भन्ने डर लागिरह्यो ।

Advertisements
Categories: गन्थन
  1. December 12, 2012 at 7:50 am

    Lekhai dherai ramro chha jwai sab.

  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: