Home > गन्थन > मनु पनि हामीजस्तै मनुवा हुन् ?

मनु पनि हामीजस्तै मनुवा हुन् ?

कुन कविता हो ? मलाई था छैन । कविताको शीर्षक मुन्तिर लेखिएको थियो- मनु मञ्जिल ।

कुवाका भ्यागुताहरुलाई कुवा नै सबै संसार लाग्छ रे, त्यो भन्दा बाहिर संसारै छैन होला झैं । र, जोड–जोडले कराउँछन् रे भ्यागुताहरु– संसारमै हाम्रोजति ठूलो र राम्रो स्वर अरु कसैको छैन भन्दै ।

दुई/चार महिनादेखि किन–किन मन भड्किरहेको छ मेरो । लाग्छ– हामी पनि कतै मान्छेरुपी कुवाका भ्यागुता त होइनौं ? साँच्ची ! हामी किन कुवामै रमाइरहेका हँ ?

अँ, मैले कुरा गर्दै थिएँ– कवि मनु मञ्जिलका । अस्ति भर्खरैमात्र हो– भदौ २९ र ३० गते । मैले कविताको शीर्षकमुन्तिर देखेका विराटनगरका मनु आफ्नो ६ फीट अग्लो (सायद) ज्यानसहित हाजिर भएका थिए दाङमा ।

पहिलोपटक दाङमा उनलाई स्वागत त के भनौं ? भेट्न पाउँदा मन चंगा भयो । खैर, उनी भन्दै थिए– दाङमा म दोस्रोपटक पाइला टेक्दैछु । झण्डै बीस वर्षपहिले उनी दाङ आएका रै’छन्– खै के ऐनमौकामा आए त्यो सोध्न सकिनँ ।

जेहोस्, मदानी साहित्य समूह नेपालले निम्त्यायो, उनी दाङ आए– साथमा थिए विराटनगरका कवि भिखारी र नाट्यकर्मी सोनु ।

परिचय गराउँदै मनुले भने– विराटनगरका भिखारी त यस्ता छन्, अरु कस्ता होलान् । दाङको घोराहीस्थित मधुवन होटेलको सानो सभाहलजस्तै कोठामा त्यस्तै १२/१५ जना दाङ र आसपासका पहाडी इलाकाबासी साहित्यकार भई टोपलेका मनुवाहरुको जमघट थियो ।

आकर्षण थिए– उनै मनु, सोनु र विराटनगरका भिखारी ।

रात छिप्पिसक्दा पनि सकिएको थिएन परिचयदेखि शुरु भएको कवि–गन्थन । त्यतिञ्जेल मदानीका अभियन्ता आस्था केसी, बसन्तविवश आचार्यले कविता सुनाउन भ्याए– पाहुनाहरुलाई ।

पाहुनाहरुका तर्फबाट सोनुले सुनाए छोटो कथा र भिखारीले सुनाए– दुई कविता । अनि मनुले कविताका कुरा गरे, कविका कुरा गरे र काव्यदर्शनका पनि ।

दाङमा कवि गन्थन हुँदै गर्दा अर्का चर्चित कवि तथा गीतकार रमेश क्षितिज मनुका कविता सुन्न काठमाण्डौं–दाङको टिकट काटिरहेका थिए रे गोगंबु बसपार्कमा ।

भोलिपल्ट–
बिहान साढे सात बजे ।

घोराही बजारको दक्षिण पश्चिम क्षेत्र । जिल्लाकै प्रशासनिक अड्डा जिल्ला प्रशासन कार्यालयको पछाडि राप्ती साहित्य परिषद्को हलमा केटा’टीदेखि बुढाबुढीसम्म जुटिसकेका थिए ।

रातभरि बसको हावा खाँदै अनिदो निलेर आएका रमेश क्षितिज पनि झुल्किए मञ्चमा । मनु, भिखारी र सोनु त हुने नै भए । (त्यसमा कुनै शंका नै छैन ।)

अरु जोसुकै बोलून्, त्यति मतलब भएन स्रोतालाई । जब मनु उभिए मञ्चतिर– सब चुपचाप ।
अनि क्षणभर उत्साहित, क्षणभरमै भावुक र क्षणभरमै गम्भीर बन्नुपर्ने पालो आयो– दर्शक/स्रोताको ।

प्रभाविलो आवाज, बेजोड प्रस्तुति (अब उनको वाचनकलालाई कस्तो भन्ने शब्द नै छैन) र कविताका हरफ–हरफमा उनिएका शब्दहरु.. ।

दाङको माटोमा उभिएर उनले पहिलो कविताको रुपमा ‘देश’ पढे–
यो यही देश हो जहाँ मैले
मेरी आमालाई
सबभन्दा पहिले भेटेको थिएँ
यही देश हो जहाँ पहिलो घाम देखेको थिएँ
मलाई सबभन्दा पहिले छुने हावा यहीँको हो,
मैले सुनेको पहिलो गीत यहीँको हो ।

एउटा कविता पढिसकेर उनले बीचमा अलिकति कविमन पोखे– ‘कवि एक्लै हुँदोरहेछ, उनले कविका कहानी सुनाउँदै भने– ‘एउटा कवि कुनामा बसेर कविता लेख्छ, सधैं–सधैं धेरै भएर पनि उ एक्लै–एक्लै भइरहन्छ ।

तर, एक्लै–एक्लै बस्ने कविहरुको फेरि कहिलेकाँही भेट हुँदोरहेछ, मलाई विराटनगरबाट यहाँ डो¥याएर ल्यायो त्यही एक्लोपनले ।’

उनको भर्खर प्रकाशित कविता संग्रह ल्याम्प–पोष्टबाट खसेको जूनको शीर्ष कविता ल्याम्प–पोष्ट शीर्षकको कविताका अन्तिम हरफ पढिरहँदा कता–कता काँडा उम्रेजस्तै भयो शरिरमा । कसरी ठ्याक्कै मैले नै भन्न खोजेको कुरा लेखेछन् झैं लाग्यो मनुले ।

साँझ कोठामा फर्किएपछि एकपटक कोठा छेऊकै सडकमा रहेको ल्याम्प–पोष्टलाई हेर्दै हाँसिरहे म ।
तर कसोकसो घाम डुबेपछि म पनि बल्छु धप्प
मातेको साँझ उज्यालिएर म वरिपरि बसेर फिस्स हाँस्छ
बटुवा आएर घडी हेर्छ मेरै उज्यालामा
कुनै बेघर बालकले काखझैं सुन्दर
उज्यालो भूमि भेट्छ
पोखिदिन्छु एकान्तमा म पनि छाती
र कैलेकाहीँ त साँच्चै त्यहीँ कोही आएर बासै बस्छ
कमलाई थाहा छ कि यदाकदा यो
सहरको छेउ
यौटा ल्याम्पपोस्टबाट लगातार जूनको उज्यालो खस्छ ।

कवि मनुले आफ्नो भर्खरै प्रकाशित भएको ल्याम्प पोष्टबाट खसेको जून कविता संग्रहमा छापिएका १४ वटा कविताहरु वाचन गरेर सुनाए । करिब डेढ घण्टाको बीचमा उनले आवाजको जादू र कलात्मक वाचनशैलीले स्रोतालाई क्षणभरमै भावुक बनाए त क्षणभरमै उद्देलित, गम्भीर र आक्रोशित बनाए ।

देश शीर्षकको कविताबाट आफ्नो एकल कविता वाचन शुरु गरेका कवि मञ्जिलले वाचनको अन्त्य पनि देशको व्यथिति, अराजकता, भद्रगोलप्रतिको चिन्ता, व्यङ्ग्य र देशप्रेमले भरिएको विरोधाभासको साम्राज्य शीर्षकको कविता पढेर टुङ्ग्याए । 

निकै सरल शब्दहरुमा लेखिएको दुश्मन शीर्षकको कविता उनले दुइपटक सुनाए– स्रोताको आग्रहमा ।
मेरो एउटा दुश्मन छ
जो मलाई फोहरजत्तिकै घृणा गर्छ
तर म उसलाई फूलजत्तिकै मन पराउँछु

करिब डेढ घण्टाको समयमा कवि मनुले देश, उनी कविता जीवनको रङले लेख्छिन्, दुश्मन, ल्याम्प पोष्ट, सजाय, घोडा, यो सहर कसको हो ?, केटाकेटीहरु, दशैं, पहिरो पर्खेर शीर्षकका कविताहरु सुनाए ।

त्यस्तै, निदाएको लहर, कफ्र्यू नलागेको रात, विरोधाभासको साम्राज्य र गाउँले एक बालक सम्झेर शीर्षकका कविताहरु वाचन गरे ।

कविता वाचन गर्नुअघि नै चर्चित कवि एवम् गीतकार रमेश क्षितिजले कवि मनु मञ्जिलको साहित्यिक परिचय गराए, दंगालीमाझ ।

मनु राम्रो कवितामात्र लेख्दैनन्, रमेश क्षितिजले भने– उनी कवितामार्फत् आफूले दिन खोजेको विचार, आफूले भन्न खोजेको कुरा पनि प्रष्ट पार्छन्, यस्ता कविहरु थोरै छन्, ती थोरैमा उनी पनि पर्छन् ।’

कवितामा सकारात्मक सोंच, चिन्तन र ऊर्जा दिने थोरै कविहरुमध्ये मनु पनि एक भएको चर्चा गर्दै क्षितिजले मनुसँग जीवनको सौन्दर्य र आशावादले भरिएको कविता हृदय भएको बताए । कवि मनुकै आग्रहमा क्षितिजले निदाएको लहर शीर्षकको कविता पढेर सुनाए ।

कार्यक्रममा कवि, गजलकार टीकाराम उदासीले कवि मनु मञ्जिलले वाचन गरेका कविताहरुका बारेमा संक्षिप्त टीप्पणी गरे । अहिलेका सर्वाधिक रुचाइएका कवि मनुका कविताहरु सरल, स्पष्ट र सबल भएको चर्चा गर्दै उदासीले आशावाद र देशप्रेमको भावना प्रबल रहेको बताए ।

राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले राप्ती क्षेत्रको साहित्यिक गतिविधि, सामूहिक प्रयास र संघर्षका कथाहरु सुनाएका थिए पूर्वेली कविहरुलाई ।

पूर्वी नेपालबाट आएका मनुले दाङलगायत राप्ती क्षेत्रको साहित्यिक प्रयास बुझिसकेपछि भने जाने बेलामा– मैले यहाँबाट एउटा सन्देश लिएर जाँदैछु काठमाडौंलाई दाङबाट सिक भनेर, उनले भने– यहाँ सबै क्षेत्रका, विचार र आस्थाका हिसाबले फरक–फरक ठाउँमा रहेका साहित्यकारहरु एकै ठाउँमा जम्मा भएर सामूहिक गतिविधि गर्नुहुँदो रहेछ, काठमाण्डौंमा कठै यस्तो कहिले पाइएला ?’

मनु फर्किएको आज पाँचौं दिन बितिसक्यो, तर उनले हल्लाइदिएको मन अझैं हल्लिरहेछ– मन्दिरको घण्टझैं । उनको ‘ल्याम्प–पोष्टबाट खसेको जून’ छेऊमै छ, पल्टाउँछु, शब्दहरु हेर्छु । मनुका कविता उनकै आवाजमा सुनिसकेपछि मलाई कविता पनि सुनिरहन मन लाग्ने हुँदा रहेछन् भन्ने ज्ञान भएको छ ।

फेरि पनि उही गत शनिबारको बिहान सुन्ने कोशिश गर्छु– ती शब्द, त्यो आवाज, त्यो वाचनकला ?? आफैलाई छाम्छु– जून होइन, उनको आवाज यतै कतै छेऊछाऊमै खसेको छ सायद । र, यतिखेर सोचिरहेछु– के मनु पनि हामीजस्तै मनुवा हुन् ?

Advertisements
Categories: गन्थन
  1. October 21, 2012 at 10:43 am

    “मेरो एउटा दुश्मन छ
    जो मलाई फोहरजत्तिकै घृणा गर्छ
    तर म उसलाई फूलजत्तिकै मन पराउँछु” what a god presentation …..i really like it .. keep it up

  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: