Home > गफगाफ > आफ्नै कुरा (साताको ब्लगर : मेरोरिपोर्टबाट)

आफ्नै कुरा (साताको ब्लगर : मेरोरिपोर्टबाट)

२०५८ सालदेखि जनयुद्धमा होमिएर बन्दुक बोकेका डिल्ली मल्ल अहिले कलमले परिवर्तन ल्याउने प्रयासमा छन् । बन्दुक र कलम दुवैलाई सही किसिमले प्रयोग गरेमा सकारात्मक परिवर्तन ल्याउन सकिने र गलत किसिमले प्रयोग गरेमा परिणाम पनि नकारात्मक नै हुने विश्वास गर्छन् उनी । तर, सामाजिक मिडियाको शक्ति बुझेका उनले अहिलेजस्तो सामाजिक मिडियाको बिकास भएको भए माओवादी र सरकार दुवैलाई युद्ध छिट्टै टुङ्ग्याउन बाध्य पार्नसक्ने थियो होला भन्ने ठान्छन् ।

कालागाउँ– २ बाल्ले, सल्यानका मल्ल हाल घोराही नगरपालिका– ११, दाङमा बसेर अध्ययन र पत्रकारितालाई सँगसँगै अघि बढाइरहेका छन् । नेपाली साहित्यमा बी.ए. दोस्रो वर्ष अध्ययन गरिरहेका मल्ल दाङबाट प्रकाशन हुने नौलो जनउभार साप्ताहिकमा सह–सम्पादक, लालरक्षक मासिकको क्षेत्रीय संवाददाता र गोरखापत्र दैनिकको घोराही समाचारदाताको रुपमा पत्रकारितामा क्रियाशील छन् । उनी ब्लगिङमा पनि निकै क्रियाशील छन् । उनका अनुभवहरु समेटी हामीले यसपटकको साताको ब्लगर स्तम्भका लागि कुराकानी गरेका छौ : मेरोरिपोर्ट

शुरु गरौँ तपाइँको पृष्ठभूमिबाट । जनयुद्धकालमा कुन भूमिकामा रहेर कति समय काम गर्नुभयो ?
जनयुद्धमा मेरो प्रवेश त २०५८ सालदेखि हो । सुरुदेखि नै म साँस्कृतिक मोर्चामा आवद्ध थिएँ । शाही शासन सुरु भएपछि भने व्यक्तिगत र समूहको सुरक्षाको लागि बन्दुक बोकियो तर युद्धमोर्चामै खट्ने गरी चाहीँ होइन ।

तपाईँसँग त हिजो परिवर्तनको एउटै उपाय भनेको बन्दुक उठाउनु हो भन्ने मान्यताले विद्रोह सुरु गरेको पार्टीमा आवद्ध भएर काम गरेको र अहिले लेखक, पत्रकारका रुपमा काम गरेको दुबै अनुभव छ । बन्दुक र कलममा परिवर्तनका लागि कुन बढी प्रभावकारी हुँदोरहेछ त ?
यी दुई चिज भनेका एकदमै विपरित विशेषता भएका कुरा हुन् र योभन्दा यो बढी ठिक भन्नै मिल्दैन । वस्तुगतरुपमा प्रतिकात्मक अर्थलाई नै हेर्ने हो भने बन्दुक हिंसाको र कलम शान्तिको प्रतिक हुन् । तर त्यसो भन्दैमा बन्दुकले भटाभट मारिहाल्छ र कलमले शान्ति, एकता कायम गर्छ नै भन्ने होइन । कलमको प्रयोग पनि सहि ठाउँमा र सही तरिकाले गरिएन भने बन्दुकले नमच्चाउने हिँसा कलमले मच्चाउन पनि सक्छ । यसर्थ यो वा त्यो ठिक भन्नुभन्दा पनि परिस्थितिअनुसार दुबै आ-आफ्ना ठाउँमा ठिक र प्रभावकारी हुन्छन् ।

अब अहिलेको जीवनतर्फ फर्कौँ । तपाईको दिनचर्या कसरी बित्छ ?
नियमित रुटिन छैन । समयतालिकामा चल्न पनि सक्दिनँ । सामान्यतया राती अबेरसम्म बस्ने भएकाले बिहान पनि अबेर नै उठ्छु– त्यस्तै ६–७ बजेतिर । रेडियोको अखबार कार्यक्रम, पत्रपत्रिका अध्ययन, चिया गफ हुँदै शुरु हुने दैनिकी खाना खाइसकेपछि अफिसको नियमित काममा लाग्छु । समाचार संकलन, लेखन, सम्पादन, कार्यक्रमहरुमा सहभागितामा दिन बित्ने गर्छ । अफिसमा रहँदा समय मिलाएर दिनमा दुई घण्टाजति ब्लग, फेसबुक लगायतका सामाजिक सञ्जालहरु हेर्न छुटाउँदिन । र, साँझ खाना खाइसकेपछि पनि एक-दुई घण्टा कम्प्युटरमै बिताउँछु । दिनमा एक–दुई घण्टा अध्ययनका लागि छुट्याउँछु । राती ११ बजेतिर सुत्छु । तर, कहिले काहीँ १ पनि बज्छ ।

बन्दुक बोकेको मान्छे, अहिले पनि मुलतः पार्टीनजिक मानिने पत्रिकामा आवद्ध हुनुहुन्छ । ब्लगिङ गर्न कसरी थाल्नुभयो ?
इन्टरनेटको सहज पहुँच नहुँदा शुरुमा साइबरमा एक घण्टाको ४० रुपैयाँ तिरेर पनि बसियो ०६४-६५ सम्म । शुरुमा याहु मेसेन्जर, जीमेल हुँदै सामाजिक सञ्जाल फेसबुकसम्म चलाइयो । त्यतिबेला अग्रज पत्रकार-साहित्यकार नवीन विभासको ब्लग– हटारुबाट म निकै प्रभावित भएको थिएँ । लाग्थ्यो– मैले पनि यस्तै ब्लग बनाउन पाए ! त्यस्तै, दाङमै लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका उदय जीएम र नरेन्द्र केसीले पनि ब्लग चलाइरहनुभएको थियो । उहाँहरुबाट सामान्य तरिका सिकेर मैले शुरुमा ब्लगस्पट खोलें तर त्यति राम्रो लागेन । त्यसपछि वर्डप्रेसमा नयाँ ब्लग खोलें– यादहरु । ब्लगको नाम राख्न मलाई दुई हप्ता नै लागेको थियो । २०६६ को अन्त्यदेखि हो मैले ब्लगिङ शुरु गरेको ।

ब्लगिङ नै किन त ?
आफूले जानी नजानी कनिकुथी लेखेका मनका भावना, भोगाईहरु अरुलाई बाँड्न, सुरक्षित गर्न, प्रविधिसँग आफूलाई जोड्न र टाढा–टाढाका साथीहरुसँग पनि सम्बन्ध स्थापित गर्न ब्लगिङ निकै उपयोगी साधन महशुस गरेर म यसतर्फ आकर्षित भएको हुँ ।
त्यस्तै, आफूले लेखेका सबै भावनाहरु पत्रपत्रिकामा छापिएलान्, नछापिएलान् तर ब्लगमा त निर्धक्क राख्न पाइयो नि । सायद जीन्दगीमा सबैभन्दा प्रिय वस्तु भनेकै केही छ भने त्यो ‘आफ्नो’ भन्ने चीज नै हुँदोरहेछ । त्यसैले शुरुका केही दिन त रातभर नै सुतिएन ब्लग बनाउनलाई । सम्झिँदा अहिले हाँसो उठ्छ ।

ब्लगमा कस्ता प्रतिकिया आउँछन्?
ब्लगमै प्रतिक्रिया त त्यति धेरै आएका छैनन् । फेसबुकमा जस्तो प्रतिक्रिया दिन सहज नभएर पनि हो कि ब्लगमा प्रतिक्रिया दिने त्यति प्रचलन छैन जस्तो लाग्छ मलाई । तर, ब्लगमा राखिएका सामग्रीहरु फेसबुकमा सेयर गर्दा त्यसमा केही प्रतिक्रियाहरु पाउने गरेको छु । खासगरी देशबाहिर रहनुभएका नेपाली दाजुभाई दिदीबहिनीहरुले प्रतिक्रिया दिनुहुन्छ ।

मैले यहाँ भन्नैपर्छ– ब्लग खोलेको दुई-तीन महिना मात्र भएको थियो । मैले ‘लालबोझीमा उदाएको लाल आकाश’ शीर्षकमा एउटा संस्मरण पोष्ट गरेको थिएँ, त्यसमा एकजनाले यस्तो टिप्पणी गर्नुभयो–
डिल्ली मल्ल जी,
तपाईँको यो लेख पढेर मेरो त आङ्ग नै सिरिङ्ग भयो, मेरो एक जना भाइ पनि तपाईँहरुकै पल्टनमा थियो । मरिसक्यो कि अझै जीवितै छ मलाई थाहा भएन, म कम्प्युटर प्राविधिक हुँ ।
तपाईँको तोमोदाची

त्यो कमेन्ट पढेको दुई-चार दिनसम्म म निकै भावुक बनें । के लेख्ने नलेख्ने पनि सोच्न सकिनँ । अहिलेसम्म पनि मलाई थाहा छैन– को हुन् तोमोदाची ? उनका भाइ कहाँबाट, कहिले, कसरी बेपत्ता भए ? तोमोदाची अहिले कहाँ छन् ?

आफूलाई मन परेको र बढी पढिएको ब्लग पोष्ट ?
दृष्टिविहीन, शारिरीक अपाङ्ग जे जस्तो भएपनि बाआमाको आफ्ना सबै सन्तानप्रति उत्तिकै मायाममता हुन्छ । त्यस्तै आफ्ना रचना सिर्जनाहरुप्रति मेरो उत्तिकै माया छ । तुलना नै गर्नुपर्यो भने मैले सम्झाउनी-बिर्साउनीमा केही संस्मरणहरु राखेको छु, पाठकका दृष्टिले पनि ती सामग्रीहरु अलि चाखलाग्दा होलान् जस्तो लाग्छ ।
अनि धेरै पढिएको पोष्ट भने गत माघमा रोल्पा पुगेका माओवादी अध्यक्ष प्रचण्डलाई दर्शक सामू उभ्याएर चर्चित गायिका अञ्जु पन्तले गीत गाएको प्रसंगलाई समेटेर लेखिएको ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ शीर्षकको पोष्ट रहेछ । त्यसकै हाराहारीमा अन्य पोष्टहरु पनि पाठकहरुले रुचाएको पाएको छु ।

ब्लगिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु के–के हुन् ?
पहिलो कुरा, आफूले पोष्ट गर्ने सामग्रीले आमपाठकलाई कस्तो प्रभाव पार्छ भन्ने कुरामा निकै होसियारी अपनाउनुपर्छ । हाम्रो सानो कमजोरीले कतै ठूलो दुर्घटना पनि त हुनसक्छ, त्यसतर्फ सधैं सचेत हुनैपर्दछ ।

दोस्रो, ब्लगिङ गर्नु ब्लगरको आफ्नो पहिचान, क्षमता र व्यक्तित्वको प्रदर्शन पनि हो । त्यसैले आफ्नो पहिचान, क्षमता र व्यक्तित्व कसरी झल्काउने ख्याल गर्नुपर्दछ ।

तेस्रो, ब्लगरले लेखेका कुराहरु कसैलाई थोपर्ने कुरा होइन, आफूले कसरी पठनीय बनाउने, भाषा, शैली, विषयवस्तु चयनले आमपाठकको मन कसरी जित्ने र आफू सफल ब्लगर कसरी बन्ने भन्नेमा सचेत र सतर्क हुनु जरुरी छ ।

सल्यान जिल्लामा ब्लगिङको स्थिति कस्तो छ ?
सल्यानमा ब्लगिङ त्यति राम्रोसँग विकास भएको छैन । पछिल्लो समयमा एकाध पत्रकार साथीहरुले केही प्रयास गरिरहनुभएको छ ।

उसो त मेरो आफ्नै कुरा गर्दा घर सल्यानमा भए पनि मैले विगत ७ वर्षदेखि दाङको घोराहीमै बसेर पत्रकारिता गरिरहेको छु । दाङमा भने ब्लगिङको राम्रो शुरुवात भएको छ । स्थापित साहित्यकार, पत्रकार साथीहरु देखि प्रलेस दाङ, मदानी साहित्य समूह लगायतका संस्थाहरुले पनि ब्लग बनाएका छन् । सिक्दै जाँदा प्राप्त गरेको अनुभवले पछिल्लो चरणमै मैले आफै एक दर्जनजति साथीहरुको ब्लग निर्माण गरिसकेको छु । त्यसले पनि दाङमा ब्लगिङ विस्तार हुँदै गइरहेको छ ।

सल्यान जिल्लामा इन्टरनेट पहुँच कस्तो छ ?
जिल्ला सदरमुकाम खलंगा, श्रीनगर र आसपासका गाउँमा मात्रै इन्टरनेटको सुविधा छ । सदरमुकाम बाहिरका गाउँहरुमा इन्टरनेट सेवा छैन । सामान्यतः सदरमुकाम बाहिर काम चलाऊका रुपमा स्काई फोनले धानिरहेको स्थिति छ ।

तपाईं पत्रकारितामा पनि आवद्ध हुनुहुन्छ ? के फरक देख्नुहुन्छ मुलधारको पत्रकारिता र ब्लगिङमा?
ब्लग पनि पत्रकारिताकै एक अंश हो भन्ने लाग्छ मलाई । तर, जुन रुपमा मुलधारको पत्रकारिताले जिम्मेवारी वहन गरिरहेको छ, त्यो ब्लगले पूरा गर्न सक्दैन । अर्कोतर्फ ब्लगको दुनियाँलाई मुलधारको पत्रकारिताले समेट्न पनि सक्दैन । यी एकआपसमा परिपूरकका रुपमा रहन सक्छन्, एउटाले अर्कोलाई निषेध गर्न सक्दैनन् ।

अर्को कुरा, मुलधारको पत्रकारितामा ठूलो संगठनात्मक सञ्जालको आवश्यकता पर्छ भने ब्लग व्यक्ति एक्लैले चलाउन सक्छ । त्यसैले पत्रकारिताको मुलधार महासागर जस्तै हो भने विभिन्न सामाजिक सञ्जालदेखि ब्लगहरु त्यसका परिपूरक नदीजस्तै हुन् । तिनले मुलधारको पत्रकारितालाई सहज, सरल र वृहत बनाउँदै लगेका छन् ।

ब्लग बाहेक अरु कुन–कुन सामाजिक मिडिया चलाउनुहुन्छ ?
ब्लग बाहेक अलि बढी फेसबुक नै चलाउँछु । त्यसपछि ट्वीटर, मिडियामञ्च र पछिल्लो समयमा मेरोरिपोर्टको सदस्य भएदेखि यसलाई पनि नियमित हेरिरहेको छु । सामाजिक सञ्जालले सूचना सम्प्रेषण, नागरिक पत्रकारिता र विज्ञान प्रविधिको युगसँगै आम मानिसलाई एक ठाउँमा ल्याउन र विकसित समाज निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।

सामाजिक मिडियाले कस्तो परिवर्तन ल्याएको छ ?
सामाजिक मिडियाले भूगोलको यति धेरै ठूलो संसारलाई गाउँजस्तै बनाइदिएको छ । सामाजिक सञ्जालको माध्यामबाट सानादेखि ठूल्ठूला समाज सेवाका काम गर्न, सामान्य मानिसको जीवनमै कायापलट ल्याउनेजस्ता परिवर्तन भएका छन् । त्यसका साथसाथै कुनै पनि वस्तुको सकारात्मक पक्षसँगै नकारात्मक पक्ष पनि हुन्छ नै । उज्यालो दिनसँगै अँध्यारो रात पनि छुट्दैन कहिल्यै पनि । ठीक त्यस्तै सामाजिक मिडियाले जसरी थुप्रै सकारात्मक काम गर्न सरल र सहज भएको छ, त्यति नै यसले विकृति विसंगति पनि निम्त्याएको छ । कसैको चरित्र हत्या गर्न, गालीगलौज गर्न भने नक्कली अकाउन्ट र समूहहरु बनायो दुनियाँको सत्तोसराप गर्यो । अश्लील तस्वीर, भिडियो र लिंकहरु सेयर गर्यो । यस्ता अनेकौं विकृति पनि देखिएका छन् ।

यदि माओवादी जनयुद्धका बेला अहिले जस्तो सामाजिक सञ्जालको विकास भएको भए के हुन्थ्यो होला जस्तो लाग्छ?
माओवादीलाई आफ्ना दृष्टिकोणहरु आम मानिसबिच पुर्याउन र नागरिकलाई पनि के सही, के गलत छुट्याउन सजिलो हुन्थ्यो होला । साथै तत्कालिन सरकार र युद्धमा रहेको माओवादीबीच छिट्टै सञ्चार स्थापना भई २,४ वर्षमै युद्ध टुंगिन्थ्यो । मर्ने र मार्ने क्रम यति लामो समयसम्म चल्दैनथ्यो जस्तो लाग्छ ।

ब्लग, फेसबुक, ट्वीटर र अरु सामाजिक सञ्जाललाई समाज विकास र सकारात्मक परिवर्तनमा कसरी प्रयोग गर्न सकिन्छ ?
ब्लग, फेसबुक, ट्वीटर लगायतका थुप्रै सामाजिक सञ्जालहरु इन्टरनेटको सहज पहुँच भएका व्यक्ति र समुदायले मात्र चलाउने हो । दुर्गम क्षेत्रका सर्वसाधारण र सुगम क्षेत्रकै पनि निरक्षर, गरीब र अति विपन्न वर्गका लागि सामाजिक सञ्जाल अझै एकादेशको कथाजस्तै छ हाम्रो देशमा । आफूलाई केही बौद्धिक, शिक्षित भन्न रुचाउने व्यक्तिहरु नै सामाजिक सञ्जालका प्रयोगकर्ता भएकाले यो वर्गको सोच, इच्छाशक्ति र क्रियाशीलता रह्यो भने सामाजिक सञ्जालमार्फत् समाज विकास र सकारात्मक परिवर्तनका ठूल्ठूला काम पनि सहजै गर्न सकिन्छ ।

मेरो आफ्नै अनुभव यहाँ शेयर गर्न चाहन्छु– ब्लडक्यान्सरले थलिएका दाङ घोराहीकै खिमबहादुर बस्नेतको पीडालाई मैले २०६८ फागुनमा फेसबुकमा राखें । त्यसलाई फेसबुकका थुप्रै साथीहरुले बाँड्नुभयो । फलस्वरुप सूचना सार्वजनिक गरेको तीन महिनापछि ०६९ बैशाखमा दक्षिण कोरियामा रहेका राप्ती समाजमा आबद्ध नेपाली युवाहरुले फेसबुकको सूचनाका आधारमा एक लाख रुपैयाँ नगद जम्मा गरेर पीडित खिमबहादुरलाई हस्तान्तरण गर्नुभयो । फेसबुकमा मैले १० मिनेट खर्च गरेर राखेको अपीलले भारतको बम्बईमा गएर उपचार गराइरहेका पीडित बस्नेतलाई १ लाख रकमले धेरै राहत भयो ।

यस्तै सामाजिक सञ्जालको माध्यमबाट कैयौं ठाउँमा पुस्तकालय स्थापना गरिएको, विभिन्न प्राकृतिक प्रकोपबाट पीडित भएकालाई राहत वितरणजस्ता काममा सफलता मिलेको हामी आफैंले समाचार लेख्दै आइरहेका छौं । विज्ञान र प्रविधिको युगमा सबैभन्दा छिटोछरितो र बहुसंख्यक व्यक्तिको पहुँचमा रहेको सूचना सम्प्रेषणका माध्यम सामाजिक सञ्जाल भएकाले इच्छाशक्ति र जाँगर भयो भने समाज विकास र सकारात्मक परिवर्तनका लागि थुप्रै काम गर्न सकिन्छ ।

मेरोरिपोर्ट कस्तो लाग्छ यहाँलाई ?
मेरोरिपोर्टको सदस्य भएको धेरै भएको छैन । तैपनि सदस्य भएदेखि मैले मेरोरिपोर्ट नियमित हेरिरहेको छु । विशेषतः सचेत र सकारात्मक सोच भएका व्यक्तिहरु अनलाइनमार्फत् भेला हुने अवसर जुटाएर मेरोरिपोर्टले सकारात्मक चिन्तन गर्न, सामाजिक सञ्जालको सही प्रयोग र नागरिक पत्रकारितातर्फ डोर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । त्यस्तै, नेपालमा ब्लगिङको विकास गर्न र ब्लगरहरुलाई एउटै मञ्चमा ल्याएर एकआपसमा मन्थन गर्ने र एक अर्काका अनुभवहरु आदानप्रदान गराएर ब्लगिङको सही मार्गनिर्देशन गर्न मेरोरिपोर्टले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ ।

मेरो आफ्नै कुरा गरौँ न । रहरै रहरमा ब्लगिङ थाले पनि आफूले पोष्ट गरेका सामग्रीहरु ब्लगरले पोष्ट गर्नेजस्ता भन्दा पनि रिपोर्टरका जस्ता भएको महशुस हुन्छ मलाई । निरन्तरताको चरम समस्या छ मेरो । यहाँहरुले ब्लगरको लिस्टमा राखिदिएपछि मलाई थप चुनौतीको महशुस भइरहेको छ । अब त नाक जोगाउनलाई पनि नियमित लेख्ने प्रण गर्दछु ।
अन्त्यमा, साताको ब्लगर स्तम्भमा मलाई स्थान दिनुभएकोमा मेरोरिपोर्ट टिम र अजिताजीलाई धेरै–धेरै धन्यवाद ।

मेरोरिपोर्टबाट साभार http://meroreport.net/page/6365517:Page:88851
प्रकाशित मिति : २०६९ भदौ ६ गते । 22 August 2012

Advertisements
Categories: गफगाफ
  1. August 25, 2012 at 4:42 am

    wish you all the Best Dilli ji

  2. August 31, 2012 at 5:15 am

    keto bharkhar ko bhaya pani interview ta damdar po cha ta yar

  3. November 16, 2012 at 3:34 pm

    thx kb & ganesh jee.

  4. ramu
    February 22, 2013 at 8:35 am

    nice your interview

  5. jit Bhadur Shah
    April 12, 2013 at 1:52 am

    Congratulation for your heartfelt, sentimental and tranparent ideas explored in your interview.

  6. April 12, 2013 at 8:15 am

    रामु सर, thanks.

  7. April 12, 2013 at 8:16 am

    धेरै धेरै धन्यवाद Jit अंकल । तपाईंको प्रेरणा र हौसलाले लेखनीमा उत्प्रेरित त गर्छ नै, check & balance को पनि अपेक्षा गर्छु, बेला–बेलामा भनिदिनुहोला ।

  8. krishna Raj Chaudhary
    September 2, 2013 at 9:12 am

    Jug pa6i Interview here. malai pani uhilai dekhi bloger banna man lagya ho. lau na Dilliji Help arnu paro

  9. krishna raj Chaudhary
    April 21, 2015 at 2:08 am

    Dilliji khoi ta malai pani Bloger banko ?

  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: