Home > यादहरु > त्यसपछि ऊ फर्किएन

त्यसपछि ऊ फर्किएन

ढल्यो ऊ ।

अहँ ऊ फेरि बोलेन, हाँसेन अनि कतै देखिएन- जनसेनाका लस्करहरुमा, मान्छेहरुका माझमा ।
अहँ ऊ कतै देखिएन । साँच्ची ! त्यसपछि उसको भौतिक अस्तित्व न त कसैले भेट्यो न त उसले अरु कसैलाई भेटेको खबर नै सुनियो ।

त्यसपछि ऊ फर्किएन ।

आज फेरि उसको यादले पिरोलिरहेछ । जति ओरालो झर्दै जान्छु, मनमथिङ्गलमा खाली उसकै विम्ब नाचिरहेछ । सिस्नेबाट बहेको चिसो सिरेटोले मुटुसम्म छोएर फर्कन्छ । कता–कता जाडोले हिउँदयामको आभाष दिन्छ । पारि डाँडामा अब थोरै मात्र घाम बाँकी छ । नीलगगनमा स–साना बादलका धर्साहरु बथान हराएका मालचरीझैं हावाको वेगमा यताउति उडिरहेछन् । सन्ध्याकालीन घामको मधुरो प्रकाशले बादलका धर्साहरु पनि राता–राता देखिन्छन् ।

म अझैं ओरालो झरिरहेछु । ओरालो झराईसँगै स्मृतिका पानाहरु उकालो चढिरहेछन्,– मेरो मथिङ्गलमा ।

बर्षामास स्कुल बिदाताका म उसकै घर तल कल्याणी खोलातिर घाँस काट्न जान्थे । घाँस काट्ने वर्कतभन्दा रहर बढी हुन्थ्यो त्यो बेला । उ घाँसको भारी बनाएर मलाई बोकाइदिन्थ्यो । म ठसठसी कन्दै उकालो लाग्थे । दिउँसो ग्वाला जाँदा गाईबाख्रा भीरमा लगाइदिन्थ्यौं र डाँडोमा दिनभरि डण्डीवियो खेलेर बिताउँथ्यौं । कहिलेकाँही त गाइबाख्राले बालीनाली मासी सक्दा पनि हामी खेलिरहेका हुन्थ्यौं ।

बर्षामास कल्याणी खोलामा पानीको ठूलो मुल फुट्थ्यो । हामी घाँस काट्न जाँदा घट्ट बनाउँथ्यौं । हिउँदमासतिर कहिले मछैनी गैरा, कहिले कल्याणी खोला त कहिले सिम्लेनीसम्म पुग्थ्यौं– तरुल खन्न । बालापनमा उसँग यो भन्दा बढी खेल्न पाइएन ।

समयले कोल्टे फेरिसकेछ । धेरै पछि आज बालापनको याद आयो । ‘ऊ अब छैन’ यत्ति सम्झदा पनि जीउ सिरिङ्ग हुन्छ, मन चरक्क चिरिन्छ । उसको यादले झन्–झन् सताउँदैछ आज । म पहिलोपटक त्यहाँ पुग्दैछु, जहाँ उसले रगत बगायो क्रान्तिका लागि, जहाँ उसले आँखा चिम्लियो संसार देखाउनका लागि …..। हो– म त्यही जाँदैछु– जहाँ ऊ ऐया भन्न पनि नपाई ढलेको थियो युद्धमोर्चामा ।

जंगलको बाटो हुँदै कुइनेटो पार गरेर डाँडोमा पुग्दा एउटा सुन्दर दृश्यले आँखा घचघच्यायो । डाँडामा बसेर एकछिन त्यो रमणीय संसारलाई नियाल्न थालेँ । वरिपरि अग्ला–अग्ला पहाडहरुले घेरिएको त्यो सानो बस्ती । कोही ढुङ्गाले त कोही खरले छाएका घरहरु, पहाडको फेदमा थपक्क बसेका गाउँ ! साना–साना कान्ला र गरा–गरा परेका खेतहरु, तल सानी भेरी अविरल बगिरहेछ । जलजलाको काखबाट निस्केको दोमै खोला पनि यही मिसिन आउँदो रहेछ । गाउँको पुर्वपट्टि एउटा सानो डाँडो देखिन्छ, डाँडाको मुन्तिर ठूलो जलाशय ! जलाशयमा हाँस बकुल्ला र जलेवाहरु विचरण गरिरहेछन् । छेउछाउमा काला–काला कमलका डाँठहरु पनि देखिन्छन् । अचेल हिउँदयाम प¥यो क्यारे । वर्षायाममा त कमल फुलेर जलाशय रातै हुन्छ रे । कमल फुल्ने भएकोले नै होला सबैले ‘कमल दह’ भन्दारहेछन् त्यो जलाशयलाई ।

कसैले भन्यो– ‘ऊ त्यही डाँडोमा थियो पुलिस चौकी ।’

मैले उत्सुकतापूर्वक आँखा दौडाए । त्यहाँ कुनै पनि चौकीको अवशेष थिएन मात्र नाङ्गो डाँडो देखिन्थ्यो । घोरिएर त्यही डाँडोमा हेरिरहें । मनमथिङ्गलमा कैयन् तरंगहरु उठ्न थाले– मन्द सागरमा भयानक ज्वारभाटा उर्लेजस्तो न शान्त तलाउमा ढुङ्गा हानेजस्तो । ख्वै कस्तो–कस्तो । डाँडालाई हेर्दाहेर्दै आँखा धमिला भए । चारैतिर कालो–कालो मात्रै भयो । बिस्तारै आँखाको ढकनी खोले डाँडो त्यही थियो जस्ताको तस्तै ।

एउटा विगत फेरि वर्तमान बनेर उभियो ।

ऊ मेरो अघि–अघि लामा–लामा पाइला फाल्दै सल्लेरी पाखाको उकालोमा लम्किरहेछ । म बेलाबेलामा दौड्छु उसलाई भेट्टाउन । ऊ मुसुक्क हाँस्छ, मलाई दौडेको देखेर । हाँस्दा उसका चम्किला दाँतहरु टलक्क टल्किन्छन् । एउटा ठूलो फौजी झोला बोकेको छ उसले । कम्मरमा खुकुरी, काँधमा बन्दुक, बन्दुकको नालमा कपडाले बुजो लगाएको छ । टाउकोमा रातो ताराअंकित टोपी लगाएको छ । भोटो हरियो, टाटेपाटे र पाइन्ट पनि त्यस्तै । हामी दुवै चुपचाप हिडिरहेछौं ।
‘हैरानी त परेन ?’ – उसले मौनता भंग ग¥यो ।
म हस्याङफस्याङ गर्दै दौडिएको थिएँ, पसिना छुटेको थियो, सास बढेको थियो । मुुस्किलले यतिमात्र भने – ‘नाई छैन ।’
ऊ फिस्स हाँस्यो मात्र ।
उसको गाजले आँखामा सहानुभूतिका रेखाहरु प्रष्ट देखिन्थे ।

जब खुट्टामा ठेस लाग्यो अनि पो म निन्द्राबाट व्यूँझिएजस्तो भएँ । हिड्दा हिड्दै बालापनको यादमा हराउन थालिसकेको रहेछु ।

गाउँ झरिसक्दा सूर्य हराइसकेको थियो पृथ्वीको गर्भमा । वरिपरिका पहाडहरु काला–कालामात्रै देखिन्थे– अजंगका ढिस्काजस्तै । झ्याउँकीरीको संगीत शुरु भइसकेको थियो । ताराहरुको चमकले धुमिल प्रकाश फिजिसकेको थियो रुकुमकोटमा । सानी भेरीको सुसाई र कुकुरको भुकाइले शान्त रातमा आफ्नो बलियो उपस्थिति जनाइरहेका थिए ।

रात बितिरहेछ, बढिरहेछ– अन्धकार र निस्तब्धता चारैतिर । झ्यालबाट उही डाँडातिर आँखा पु¥याए– जहाँ ऊ ढलेको थियो कुनै दिन । के देखिन्थ्यो र मध्यरातमा– मात्र कालो ढिस्को देखिन्छ । त्यही कालो ढिस्कातिरै हेरेर टोलाउँछु– कता–कता गोलाबारीको आवाज आएजस्तो, कोही चिच्याएजस्तो लाग्छ । अलि गहिरिएर सुन्न खोज्छु, अहँ केही पनि सुनिदैन– सानी भेरीको एकोहोरो सुसाइबाहेक ।

एउटा उराठ स्वरले रातै खलबल्यायो । नजिकै पीपलको रुखमा पखेटा भ्याटभ्याट पार्दै लाटोकोसेरो उलुलुलु करायो । कता–कता दन्त्यकथाका नेत्रलाल र कर्णकान्तको याद आयो । ऊ पनि कतै कर्णकान्तझैं लमक–लमक गर्दै आइदिए…। एउटा अव्यक्त चाहनाले भित्रैदेखि कोतरेर ल्यायो । जूनको प्रकाशमा टल्किरहेको गोरेटोको ढुङ्गातिर नियालें । साँच्ची ! त्यहाँ त मान्छेरुपी आकृति बिस्तारै हिड्न पो थाल्यो । पदचापहरुको स¥याकसुरुक ! अलि घोरिए । टाउको झट्कारें– अहँ सब असम्भव, सब भ्रम ! यो त मेरो दृष्टिभ्रममात्र रहेछ ।

अँ, साँच्ची ! ऊ कति निष्ठावान् मान्छे थियो– कति धैर्यवान, कति कठोर अनि कति मायालु पनि । दुःख र पीडाको आरनमा पोलिएर स्पातजस्तै बनेको मान्छे ! म उसलाई पढ्दै जान्छु– उसका जीवनका हरेक पानाहरु । ओहो ! कति पीडादायी चित्कारहरु भेटिन्छन् त्यहाँ ! कति जलिरहेका मनहरुको अठोट छ । अहँ ऊ कत्ति पनि रोएन उसको घरगोठ जलाइदा ! कति पनि विचलित भएन सरकारको नून खाएका वैरीहरुले भाइलाई ज्यूँदै आगोमा पोलेर मार्दा ! बैनी र आमालाई सँगसँगै बलात्कार गर्दा…. अहँ, ऊ कत्ति पनि विचलित भएन । बरु बन्दुक बोकेर हिड्यो ऊ वर्गवैरीका विरुद्ध लड्न– डुब्नै लागेका घामजस्ता बाआमाको आँसुले छेक्दा छेक्दै पनि ।

बाँकी रात ख्वैं कसरी बित्यो ? आफैलाई थाहा भएन ।

भोलिपल्ट–
सम्मुखमा छ उही सानो डाँडो– जहाँ ऊ ढलेको थियो ।
जानु छ मलाई ऊ ढलेको त्यही माटो चुम्न । तर, आफैआफ डराइरहेछु म ।

माथि उक्लन खोज्छु गोडा फत्रक्क गल्छन्– फेरि थचक्क बस्छु । हुन त ठूलो उकालो छैन, सानो ढिस्को न हो । तर, कोशौं कोश टोपी खस्ने उकालो चढिरहेझैं लाग्छ । मुटुको ढुकढुकी बढिरहेछ । पाइला–पाइलामा उसको मृत्युले झस्काउँछ ।
‘के ऊ मरेकै हो त ?’ एउटा प्रश्नले घचघच्यायो ।
‘अहँ ऊ मरेको छैन । मृत्युको परिभाषा बदलिसकेको छ । ऊ त सधैं–सधैंलाई बाँचेको छ, बाँचेर पनि पलपल मरिरहेकाहरुको भीडमा ऊ मरेर पनि बाँचिरहेको छ ।’ कहिलेकाँही जीवन मर्दोरहेछ, मृत्यु पनि बाँच्दोरहेछ । त्यस्ता उदाहरणहरु थुप्रै छन् । अहँ ऊ त्यस्तो उदाहरण हैन ।

म अझैं अलि माथि पुग्दैछु । कता–कता भावनाका तरंगहरु हलचल गर्न थाल्छन् । मुटुको धड्कन झन्–झन् बढ्दैछ । लाग्छ, ऊ कतै चिहानबाट उठेर मलाई अठ्याउन त आउँदैन ? बढ्दै जाँदा अगाडि एउटा भत्किएको गारो आँखामा प¥यो । मेरो शरीर आफैआफ जिरिङ्ग भयो । जीउभरि काँडा उम्रिए ।
हो, ऊ यही ढलेको थियो । शत्रु पक्षको बन्दुकको मोहरीबाट छुटेको गोलीले उसको छाती दागेको थियो यहीको मोर्चामा ।

चैत्र १९ को रात– ड्याम ! पटटट चुइय ढ्याम्म ! ….. ठोक ! ठोक……. । ओहो ! दोमैखोलाको सुस्साहटभन्दा कयौं भयानक र डरलाग्दो थियो बमगोलाको आवाज । यही भूमि थियो, यही डाँडा थियो त्यो ऐतिहासिक रणसंग्राम भएको रात । वीरता र विजयको रातो इतिहास लेखिएको ०५७ चैत्र १९ को त्यो रात । कहिल्यै नफर्किने गरी ऊ ढलेको त्यो रात ।

ऊ कतै बोलिरहेझैं लाग्छ । यताउति दौडिन्छु, तलमाथि, वरपर भत्किएका गाराहरु, बंकर र सुरुङका मेटिनै लागेका अवशेषहरु देखिन्छन् । अलि पर टाकुरामा पुगेर तलतिर नियाल्छु– दोमैखोला उर्लिरहेछ । अलि तलबाट सानी भेरी बगिरहेछ । कता–कता मन चोइटिन थाल्छ । छाती चिरा–चिरा हुन्छ । अहँ ऊ कतै छैन । अब ऊ कतै भेटिने छैन । हाँस्दै गाजले आँखामा मुस्कान छोडेर हात मिलाउन आउने पनि छैन । साँच्ची ! अब ऊ मानव आकृतिमा कहिल्यै देखिने छैन ।

आखिर यस्तो किन हुन्छ ? एउटा प्रश्न सलबलायो ।

वास्तविकता यस्तै छ । जीवित प्राणीको नाताले वास्तविकता स्वीकार गर्नैपर्दछ । उसलाई गुमाइयो यो युद्धको तीतो यथार्थता हो । यदि कोही यथार्थताभन्दा टाढा भाग्न खोज्छ भने त्यो कायरता हो । जीवन अन्त्यष्टिको बाटो हो ।

खैर, आज ऊ रहेन तर उसको स्मृति बाँचिरहेको छ, एउटा मृत मानवको जीउँदो मानवता लाखौंलाख जीवित मानवहरुको छातीमा सलबलाइरहेछ । आकाशतिर हेर्छु आज बाजहरु छैनन् । खुल्ला आकाशको उन्मुक्त परिवेशमा एक हुल चराहरु कराउँदै पश्चिम पहाडतिर उड्छन् । क्षितिजबाट स्वतन्त्रताका वेलुनहरु विजयको सन्देश फिजाउँदै नीलगगनतिर बेगिदैछन् । मेरा पदचापहरु एकाएक चल्न थालेछन् । त्यो भत्किएको गारो, सिस्नो र खरले पुरिएको भग्नावशेषभन्दा केही तल पुगिसकेछु । समय छाम्ने चेष्टा गरे, सूर्य डुब्नै थालेछ । माथि डाँडामा थोरै मात्र रातो घाम बाँकी थियो ।

२०६२ फागुन

Advertisements
Categories: यादहरु
  1. No comments yet.
  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: