Home > यादहरु > फेरि स्कूले भइयो

फेरि स्कूले भइयो

फेरि पनि स्कूल जान थालेँ ।

सत्ते, सोच्नु त के कल्पना गरेको पनि थिइँन कुनै दिन फेरि स्कूल गएर पढ्न थाल्नेछु भनेर– जतिखेर टेष्ट परीक्षाको फारम भर्ने लास्ट म्याद सुनाउने व्यक्तिसँगै फारम भर्नुनपर्ने खबर पठाइदिएको थिएँ ।

तर, फेरि स्कूल जान थालें म ।

सम्झना छ– फेरि स्कूल जान थालेको पहिलो दिन विद्यानिलकण्ठ उमाविको आँगनमा पाइलो टेक्दाको क्षण । त्यति धेरै पहिले त होइन, साढे तीन वर्षमात्रै भयो सायद । अहिलेको जस्तो गेटछेऊकै नयाँ भवन थिएन त्यतिबेला । ठूलो क्याम्पस भवनको पनि तेस्रो तल्ला भर्खर बन्दै थियो ।
खैर, समय बितेको पत्तै नहुँदो रहेछ । (हामी भन्ने गर्छौं– ‘अहो ! कति चाँडै बितेछ समय पनि ।’ यथार्थमा बित्ने समय होइन हामी पो बितिरहेका छौं– हरपल, हरदिन । हिजोका बालक, अहिले युवा भनाउँदा भएका छौं र निरन्तर बढिरहेका छौं वृद्धयात्रामा । जरुर एउटा त्यस्तो दिन पनि आउनेछ एकदिन– हामी मिल्नेछौं माटोमा वा बन्नेछौं खरानी । र, मेटिनेछ हाम्रो भौतिक अस्तित्व ।)

अँ, (अलि भावनामा बग्न थालिएछ) म भर्खर कलेज आउँदाका कुरा गर्दै थिएँ । पहिलो दिन कलेज आउँदा मैले ड्रेस लगाएको थिइँन । (ड्रेस कस्तो थियो थाहा पनि थिएन ।) सबै नयाँ अनुहारहरु, नयाँ ठाउँ, नयाँ कक्षाकोठा, नयाँ सरहरु– मेरा लागि नयाँ नै थिए सबैथोक । र, सबैका लागि म पनि नयाँ नै थिएँ कि सायद ।

साथीहरु सबैले मलाई नै हेरिरहेको भान हुन्थ्यो । न कुराकानी गर्नलाई कोही चिनेको साथी थियो न कसैले मलाई नै चिन्थे । झन् दुर्गम क्षेत्रमा जन्मे, हुर्किएका मान्छे शहर बजारको रमझम र वातावरणमा झ्याम्मिन स्वभाविकरुपमा समय लाग्छ नै । कलेज गएको पहिलो दिन मलाई भएजस्तै हैरानी सायद आजभोलिका नयाँ भाइबहिनीहरुलाई पनि हुन्छ होला । पहिलो दिनको कलेज त्यो पनि एक्लै जानुपर्ने भयो भने !

तर, मेरो समस्या र बाध्यता अलि बेग्लै थियो ।

एसएलसी परीक्षा दिदाबाहेक म विद्यालय नगएकै ६ वर्ष भइसकेको थियो । अर्को शब्दमा भन्नुपर्दा म त विद्यार्थी जीवनको दोस्रो अध्याय पो शुरु गर्दै थिएँ । पढ्न छोडेको ६ वर्षपछि पहिलोपटक कक्षाकोठामा पस्दा आफैं म कहाँ आएको छु भन्ने लागिरहेको थियो ।

समय, परिस्थिति र मेरा आफ्नै बाध्यताले मैले पढ्दा पढ्दै स्कूले जीवन छोडिसकेको थिएँ– कक्षा ९ पास गरेर । (किन छोडियो स्कूल भन्ने कुरो अरु कुनै ऐनमौकामा लेखुँला ।)

त्यतिखेर फर्किएर फेरि विद्यार्थी जीवनमै आइएला भन्ने सोंच पनि थिएन । ६ वर्ष लामो (सायद युवावस्थाको ६ वर्ष भनेको लामै अवधि हो कि) विद्यार्थी जीवनको ब्रेकपछि एसएलसी दिइयो, पास भइयो र संयोगले दाङमै बस्ने मौका जु¥यो । दाङको बसाई, सामान्यतः अध्ययन, लेखनको महत्वपूर्ण क्षेत्र पत्रकारितासँग नजिक हुने अवसर ! आखिर समय व्यवस्थापन गर्न सकिन्छ भने ‘कलेज ज्वाइन’ किन नगर्ने ? यस्तै–यस्तै सोंच विचार र निकटका थुप्रै अग्रज तथा साथीहरुको सल्लाह सुझावले छुटेको कडी जोड्ने निष्कर्षमा पुगेँ ।

त्यसपछि,
कहाँ पढ्ने, के पढ्ने ?
एसएलसी पास गरेका नियमित विद्यार्थीहरुलाई जस्तो खुल्दुली, सकसक, अन्योल र विषय रोज्ने चटारो नभएपनि सामान्य प्रश्न त उब्जिए नै । म आफै पार्टटाइमर विद्यार्थी, केही वर्ष क्लास ब्रेक गरेर दिमाग भुत्ते बनाएको विद्यार्थी परेँ । हिसाब गर्नु नपर्ने, सूत्र घोक्नु नपर्ने, कलेज नगए पनि हुने विषयको खोजी गर्नेवाला न हुँ म । खोजेको त अझ अंग्रेजी पढ्न नपर्ने पनि हो तर त्यस्तो भेटिएन ।
निष्कर्षमा पुगेँ– पत्रकारितामा पाइला चाल्न खोज्दैछु । त्यहीँ पत्रकारिता नै लिनुप¥यो । साथमा कथा कुथुङ्ग्री पढेपछि रोमाञ्चित हुने मेरो मन साहित्य नेपालीतिर बस्ला जस्तो लाग्यो । अब आट्र्स लिने–पत्रकारिता, नेपालीलगायतका गन्द्राङगुन्द्रुङ विषय रोजेर ।
अनि मात्र खोजी गरियो–कलेज । पत्रकारिता भनेपछि दाङमा एउटै त थियो त्यतिबेला– विद्यानीलकण्ठ । (अहिले त अरुले पनि शुरु गर्दैछन् सायद) ।

त्यसपछि छिरियो कलेजमा ।
पहिलो दिन– उकुसमुकुस र छटपटीमै बित्यो । आफैलाई बाख्राको बथानमा भेडो मिसिएझैं भइरह्यो क्लास टाइमभरि । त्यो क्षण सम्झदा मन कस्तो–कस्तो रोमाञ्चित बन्छ आजभोलि ।

कलेज पढाइका पूरै दुई वर्ष छिट्टै बितेजस्तो लागिरहेछ यतिखेर । हुन त सरकारी, गैरसरकारीदेखि चाडपर्वलगायतका विविध बिदाबाहेकका बाँकी पढाइ भएका दिनको एक चौथाइ दिन पनि क्लास लिइएन सायद । तैपनि मेरो शैक्षिक योग्यताको लिस्टमा प्लस टू विद्यानीलकण्ठबाटै प्लस गरेको हुँ भन्ने प्रमाणचाहिँ मसँग सुरक्षित नै छ ।

लेख्दै जाँदा विकट विगतका यी वैरागी वक्तव्यहरु अन्तहीन बन्ने हुन् कि भन्ने खतरा बढिरहेको महशुस भयो, त्यसैले–
अन्त्यतिर, कलेजको नियमित विद्यार्थी बन्न नसकेपनि पार्टटाइमर पूर्वविद्यार्थीका नाताले भन्न सक्छु– दाङको पत्रकारिता क्षेत्रमा पछिल्ला पाँच/छ वर्षदेखि विद्यानीलकण्ठले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । त्यो पत्रकारितामा आउन चाहने युवा विद्यार्थीहरुलाई पत्रकारिताका आधारभूत मूल्यमान्यता, अवधारणाको सैद्धान्तिक ज्ञान दिएर होस् या आजका युवा विद्यार्थीहरुलाई पत्रकारितातर्फ रुचि जगाएर, नजिक गराएर होस् ।

विद्यानीलकण्ठ क्याम्पसको स्मारिका ‘विद्यासागर’मा प्रकाशित ।

Advertisements
Categories: यादहरु
  1. August 20, 2012 at 3:29 pm

    जे जस्तो भएपनि पढ्नुपर्छ, पढ्ने कुरा कहिल्यै सकिदैन । तपाईले ठिकै गर्नुभएछ ।

  2. August 20, 2012 at 3:30 pm

    नमर्दासम्म स्कूले भइरहनु पनि एकदमै राम्रो कुरा हो ।

  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: