Home > समाज, सवाल > फरक भूमिकामा व्यस्त हुँदै पूर्वजनसेना

फरक भूमिकामा व्यस्त हुँदै पूर्वजनसेना

दाङ, साउन २५ । कुनै बेला बन्दुक बोकेर युद्धमैदानमा दुश्मन सेनालाई कसरी पराजित गर्ने, कहाँ सेल्टर लिने, जनतालाई कसरी संगठित गर्नेजस्ता योजना बनाउँदै व्यस्त हुने जनसेनाहरु अहिले फरक भूमिकामा व्यस्त हुन थालेका छन् । राजनीतिक विचार र फौजी ज्ञानबाट प्रशिक्षित उनीहरु समायोजन र स्वेच्छिक अवकाशको प्रक्रियासम्म आइपुग्दा राजनीतिभन्दा पारिवारिक व्यवस्थापन, जिविकोपार्जनतर्फ नै बढी व्यस्त हुन थालेका हुन् ।

साबुन उद्योगबाट उत्पादित साबुन ।

युद्धकालको जस्तो फौजी गतिविधिबाहेकका अन्य राजनीतिक काम पनि खासै नहुनु र धेरैको संख्यामा पूर्णकालीन कार्यकर्ताको व्यवस्थापनमा समस्या हुन थालेपछि शिविरबाट बाहिरिएका जनसेनाहरु विभिन्न पेशा, व्यवसायमा लागेका छन् । कुनै बेला राजनीति नै मुख्य बनेपनि परिस्थितिअनुसार तत्काल पारिवारिक व्यवस्थापन र जिविकोपार्जनको बाटो अपनाउनुपर्ने बाध्यता रहेको उनीहरुको भनाई छ । शिविरबाट बाहिरिएपछि कतिले सामूहिक रुपमा स–साना उद्योगहरु शुरु गरेका छन् भने कतिपयले एक्लाएक्लै पसल, कृषि व्यवसाय, कुखुरा फार्मजस्ता व्यवसायमा लागेका छन् ।

यही क्रममा शिविरबाट स्वेच्छिक अवकाशमा निस्किनुभएका दुइजना पू्र्वजनसेना मिलेर दाङको बिजौरीमा कपडा धुने साबुन उद्योग खोल्नुभएको छ । पूर्वजनसेनाहरु दाङ बिजौरीका देवबहादुर विक र रुकुम खोलागाउँका कृष्ण रोका ‘प्रतिक’सँगै काठमाण्डौंका सन्दीप तामाङ गरी तीन जना मिलेर ‘सिर्जना कपडा धुने डल्लो साबुन उद्योग’ स्थापना गर्नुभएको हो । करीब ८ लाखको लगानीमा उद्योग खोलेसँगै बजार व्यवस्थापन, कच्चा पदार्थ संकलन तथा साबुन निर्माण, प्याकिङको काममा व्यस्त हुने गरेको पूर्वजनसेना कृष्ण रोका बताउनुहुन्छ । उद्योगमा वीरगञ्ज र काठमाण्डौंबाट कच्चा पदार्थ ल्याएर साबुन उत्पादन गर्ने सञ्चालक देवबहादुर विकले जानकारी दिनुभयो । अहिले साबुन प्रतिकिलो ८० रुपैयाँका दरले बिक्री गरिरहेको उहाँको भनाई छ । उद्योग खोलेको दुई सातामा करिब ७ क्वीन्टलजति साबुन उत्पादन गरेको र दुई क्वीन्टलजति बिक्री वितरण गरिसकेको कृष्ण रोकाले जानकारी दिनुभयो ।

उसो त कृष्ण र देवजस्तै रुकुमका धु्रव बाँठामगर ‘रक्तिम’ र कैलालीका कृष्ण अर्याल ‘भरिया’ पनि बिहान उठ्नेबित्तिकै साइकलमा चाउमिनका पोका बाँध्नुहुन्छ र बजारतिर निस्किनुहुन्छ । बिहानभर बजारमा चाउमिन बिक्री गरिसकेपछि दिउँसो र साँझ अबेरसम्म अर्को दिनका लागि चाउमिन बनाउन व्यस्त बन्नुहुन्छ दुवैजना ।

तीन महिना पहिले नारायणपुरमा चाउमिन उद्योग खोलेका रक्तिम र भरियाले अहिले दाङको नारायणपुरमा सामुहिकरुपमा जलजला चाउमिन उद्योग सञ्चालन गरिरहनुभएको छ । स्वेच्छिक अवकाशमा निस्किनुभएका दुवैले ३ महिनाअघि करिब ५ लाखको लगानीमा चाउमिन उद्योग सञ्चालन गर्नुभएको हो । उद्योगमा दैनिक ८० देखि ९० किलोसम्म चाउमिन उत्पादन गरि नारायणपुर, खैरा, बिजौरीलगायतका बजार र नजिकका गाउँमा रहेका पसलहरुमा समेत बिक्री गरिरहेको सञ्चालक धु्रव बाँठामगरले बताउनुभयो । चाउमिन उत्पादनका साथै सस अनि सुख्खा चाउमिन पनि उत्पादन गरी रोल्पा र रुकुमसम्मको बजारमा पु¥याउँदै आएको अर्का सञ्चालक कृष्ण अर्यालले जानकारी दिनुभयो । उद्योग सञ्चालकदेखि चाउमिन उत्पादन गर्ने मजदूर र बजार व्यवस्थापकसम्मको काम दुई जनाले गरिरहेको भएपनि मेसिन र जनशक्ति थप्ने योजनामा रहेको अर्यालले बताउनुभयो ।

दाङको नारायणपुरमा खोलिएको चाउमिन उद्योगमा चाउमिन बनाउँदै पूर्वजनमुक्ति सेना धु्रव र कृष्ण ।

जनसेनाको फर्मेशनबाट स्वेच्छिक अवकाशमा निस्किसकेपछि कतै दुई/चार जना मिलेर त कतिपयले एक्लै जिविकोपार्जनका लागि विभिन्न पेशा, व्यवसायमा लागेको पूर्वजनसेना एवम् साबुन उद्योगका सञ्चालक कृष्ण रोका ‘प्रतिक’ बताउनुहुन्छ । रोल्पा, रुकुम, सल्यान, दाङलगायतका जिल्लामा घर भएका अधिकांश पूर्व जनसेनाहरु दाङमै रहेको र कसैले चाउमिन, साबुन त कसैले इट्टा उद्योग शुरु गरिसकेको र कतिपयले फुटकर तथा किराना पसलहरु राखेर जिविकोपार्जनको बाटो अपनाएको रोकाको भनाई छ । शिविरबाट निस्किदा केही रकम लिएर निस्किएकाले स–सानो व्यवसाय गरेर बस्न सजिलो भएको र परिवर्तित राजनीतिक माहोलसँगै जिविका चलाउन विभिन्न काममा लागेको उहाँले बताउनुभयो । पारिवारिक व्यवस्थापन र जिविकोपार्जनका लागि व्यवसायमा लागेपनि जनताका पक्षमा लड्नुपर्ने स्थिति आयो भने आफू सधैं तयार रहने पूर्वजनसेनाहरुको भनाई छ । शिविरबाट बाहिरिएपछि घरमा कुनै आयस्रोत नभएकाले केही न केही व्यवसाय गरेर पारिवारिक समस्या टारिरहेको र व्यवसाय सँगसँगै राजनीतिमा पनि समय छुट्याउने पूर्वजनसेना रक्तिम बताउनुहुन्छ ।

उसो त कुनै बेला युद्धमा होमिएका लडाकुहरु उद्योग, व्यवसायमा लागेर जिविकोपार्जनको बाटो अपनाउनु निकै नै सकारात्मक कदम भएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष टेकनप्रसाद बस्नेत बताउनुहुन्छ । ‘युवाहरु विदेश पलायन हुनेदेखि सकारात्मक काममा नलाग्ने समस्याले देशलाई गाँजिरहेका बेला युद्ध लडेका लडाकु जनसेनाहरु उद्योग व्यवसायमा लाग्नु निकै ठूलो कुरा हो, उहाँले भन्नुभयो– ‘नयाँ काम गर्ने उत्साह, जोशजाँगरसँगै उत्पादित वस्तुको क्वालिटी राम्रो भएमा अवसर र सम्भावना धेरै छन् ।’

त्यस्तै, माओवादी जनयुद्धको उद्गम थलो राप्तीमा रहेर माओवादी जनयुद्ध र जनसेनासम्बन्धी लामो समयदेखि अध्ययन, अनुसन्धान तथा रिपोर्टिङ गरिरहनुभएका पत्रकार नरेन्द्र केसी हतियार चलाउन सिकेको ठूलो शक्ति शिविरबाट निस्किएको र उनीहरुलाई कसैले दुरुपयोग गर्छ कि भन्ने शंका उब्जिरहेका बेला पूर्वजनसेनाहरु विभिन्न उद्योग व्यवसायमा लाग्नुले धेरै शंका उपशंका निवारण भएको बताउनुहुन्छ । ‘हतियार चलाउन, बनाउन सक्षम ठूलो शक्ति समाजमा आएदेखि नै धेरैलाई पूर्वजनसेना त्रासको विषय बनेको छ, उहाँ भन्नुहुन्छ– ‘तर, पूर्वजनसेनाहरु विभिन्न उद्योग, व्यवसायमा क्रियाशील हुन थालेपछि धेरै आशंका निवारण हुँदै गएका छन् ।’ देश परिवर्तनको भावनाले प्रेरित युवाहरु उद्योग, व्यवसायतर्फ अग्रसर हुनुले राष्ट्रिय अर्थतन्त्रको सुदृढ गर्न युवाहरुको सहभागिताबाट देशभित्रै केही गर्न सकिन्छ भन्ने राम्रो सन्देश जाने केसीको भनाई छ ।

Advertisements
Categories: समाज, सवाल
  1. No comments yet.
  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: