Home > समाज, सवाल > शहीद परिवार भन्छन्– ‘पार्टी फुट्नु दुर्भाग्यपूर्ण’

शहीद परिवार भन्छन्– ‘पार्टी फुट्नु दुर्भाग्यपूर्ण’

दाङ, असार २१ । असार ४ गते दिउँसो काठमाण्डौंमा ‘वैद्य समूह’ले नयाँ पार्टीको घोषणा गरिरहँदा रोल्पा कोर्चावाङकी गौमती पुन घोराही बजारमा आफ्नै काममा व्यस्त थिइन् । शहीद पूर्णबहादुर पुन ‘सुल्तान’ की श्रीमती गौमतीलाई तीन दिन अघिदेखि वैद्य पक्षको राष्ट्रिय भेला भइरहेको थाहा भएपनि पार्टी फुटाइहाल्लान् भन्ने विश्वास थिएन रे । तर, उनको त्यो विश्वासले त्यतिबेला धोका खायो, जतिबेला वैद्य समूहले भेलाबाट नयाँ पार्टीको घोषणा औपचारिकरुपमै पार्टी फुटायो ।

बाटोमा हिड्नेहरुदेखि बजारका सबैले माओवादी फुटिसकेको भनेपछि मात्र आफुले पार्टी साँच्चिकै फुटेको रहेछ भन्ने थाहा पाएको र त्यसपछि रेडियो सुन्न, टिभी हेर्न मनै नलागेको उनले बताइन् । ‘मैले त रेडियो पनि सुन्या छैन, टिभी पनि हेरिन्– उनले आक्रोशित हुँदै भनिन्– ‘जेसुकै गरुन् कसलाई के–कति पुग्या छैन, खाऊन् ।’
पार्टीलाई फुटाएर शहीदहरुको त्याग, बलिदान र रगतको घोर अपमान गरेको भन्दै उनले पार्टी फुटाउनेहरुलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताइन् । ‘हामीले हिजो कत्रो सपना देखेर जनयुद्धमा लाग्यौं, रगत बगायौं, घरपरिवार तहसनहस भयो, श्रीमान् शहीद हुनुभो, उनले भनिन्– ‘त्यति धेरै शहीदहरुको रगतले बगाएर बनाएको पार्टी आज यसरी फुट्दा मन थाम्नै गाह्रो भइरहेको छ । धिक्कार छ, पार्टी फुटाएर खुसी हुने नेताहरुलाई ।’

एक छोरा र एक छोरीको साथमा घोराहीमा बस्दै आएकी गौमती पार्टी फुटेको खबरले जति चिन्तित र दुःखी छिन्, त्यत्तिकै जनयुद्धमै बितेको पूरै जीन्दगी र जनयुद्धमै गुमाएका श्रीमान्को सम्झनाले पिरोल्न थालेको छ । ‘हिजो देश र गरीब जनताको मुक्तिका लागि भन्दै ज्यानको पर्वाह नगरी जनयुद्धमा होमियौं, रगत बगायौं । आज तिनै शहीदको बलिदानबाट प्राप्त उपलब्धिलाई कुल्चिदै नेताहरुले आफ्नो स्वार्थ पूरा गर्न नपाएपछि पार्टी फुटाए, उनले भनिन्– ‘शहीदको रगतको अपमान गर्ने नेताहरुको गतिविधिले खाटा बसेको घाऊ उप्किएको छ ।’

पार्टीको एरिया सेक्रेटरी रहेका उनका श्रीमान् सुल्तानलाई संकटकालको बेला तत्कालीन शाही सेनाले हत्या गरेको थियो । पार्टी कामको सिलसिलामा नेपाल–भारतको सीमा क्षेत्र दाङको राजपुर भौवा नाकामा गएको बेला २०६० कार्तिक १७ गते श्रीमानको हत्या भएको उनले बताइन् ।

गौमतीजस्तै तुलसीपुर–११ अश्वाराकी पिमकुमारी गिरी पनि हजारौं शहीदहरुले रगत बगाएर निर्माण गरेको पार्टी फुटेको खबरले मुटु टुक्रिएजस्तै भएको छ । जनयुद्धका दौरानमा अलग–अलग समयमा श्रीमान्, दुइ जना छोरा र ज्वाँईसमेत गुमाएकी पिमकुमारी पार्टी एकढिक्का होस् र शहीदका सपना पूरा गरोस् भन्ने सपना पार्टीका केही नेताले धूलोमा मिसाएको बताइन् । ‘के गर्नु बाबु, गुमाउने जति सबै गुमाइसकियो । अब पार्टीले केही गर्छ कि भन्ने बेला पार्टी फुटेको खबर सुन्नुपर्ने भो, उनले भनिन्– धिक्कार छ, यी पार्टी फुटाउने नेताहरुलाई ।’

जनयुद्ध शुरु भएको दुई महिना नबित्दै जेठो छोरो चोबबहादुर गिरीलाई ०५२ सालको चैत्र १४ गते रोल्पाको दुबीडाँडामा पुलिसले हत्या गरेको उनले बताइन् । त्यस्तै, २०५८ मंसिर २६ गते ज्वाँई इन्द्रबहादुर बुढालाई सेनाले कपुरकोटमा र श्रीमान् जितबहादुर गिरीलाई २०६० मंसिर ७ गते दाङको पवननगरमा सेनाले नियन्त्रणमा लिएर हत्या गरेको थियो । त्यस्तै, काइलो छोरा नकुल गिरी पनि श्रीमान् मारिएको ३ दिनपछि मंसिर १० गते मारिएको उनको भनाई छ । ‘के भनूँ बाबु, मेरो त घरपरिवारै उजाड भयो, सबैलाई दुष्टले मारे, उनले रुँदै भनिन्– ‘केही गर्छ कि भन्ने आस गरेको पार्टीको पनि अहिले यो दुर्दशा भयो ।’

गौमती र पिमकुमारीजस्तै खारा आक्रमणको बेला घाइते भएका सल्यानका चक्रपाणी शर्माले अहिलेको कठिन र चुनौतीपूर्ण अवस्थामा पार्टी फुट्नु दुर्भाग्यपूर्ण भएको बताए । ‘जतिबेला पार्टी एकढिक्का भएर वर्गदुश्मनहरुसँग लड्नुपथ्र्यो, जनताका एजेण्डा पकडेर जानुपथ्र्यो, त्यहीबेला पार्टी फुट्नु दुभाग्र्यपूर्ण हो, उनले भने– ‘पार्टी फुटेको खबर सुनेदेखि खान पनि मन लागेको छैन ।’ उसो त शहीद विष्णु पोख्रेलका छोरा सन्तोष पोख्रेल पनि पार्टी फुट्नु शहीदहरुको सपनामाथि धोका भएको बताउँछन् । ‘पार्टीका दुवै समूहमा रहेका ‘अतिवादी’हरुका कारण अहिले माओवादी टुक्रिएको छ, उनले भने– ‘शहीदहरुको बलिदानमाथि सबै नेताहरुले अपमान गरेका छन्, आ–आफ्ना कमजोरी सच्याएर पार्टी एकढिक्का बनाउनुपर्छ ।’

शहीद परिवार गौमती, पिमकुमारी, सन्तोष र घाइते योद्धा चक्रपाणीजस्तै आधारइलाकाका शहीद, बेपत्ताका आफन्तजन र घाइते योद्धाहरुले एकढिक्का पार्टीले मात्र क्रान्ति गर्न सक्ने भन्दै टुक्रिएको पार्टी र समूहमा रमाउने प्रवृत्तिप्रति आक्रोश व्यक्त गरेका छन् । पार्टी फुटाएर शहीद र बेपत्ताहरुको रगतमाथि ठूलो अपमान भएको भन्दै उनीहरुको शहीदका सपना साकार पार्न सबै नेताहरु रुपान्तरित हुँदै एकढिक्का हुन आह्वानसमेत गरेका छन् । उनीहरुको एउटै आवाज छ– गुट, फुट र समूहमा रमाउने र पार्टी फुटाएर जनतामा निरासा पैदा गर्ने अधिकार कसैलाई छैन, क्रान्ति नै गर्ने हो भने एकढिक्का भएर आऊ ।’

Advertisements
Categories: समाज, सवाल
  1. No comments yet.
  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: