Home > कला मनोरञ्जन, सवाल > ‘न बिर्से तिमीलाई, न पाएँ तिमीलाई..’

‘न बिर्से तिमीलाई, न पाएँ तिमीलाई..’

न बिर्से तिमीलाई, न पाएँ तिमीलाई
बिना अर्थ दिलमा सजाएँ तिमीलाई

प्रेम वियोगले रन्थनिएर वैरागी बनेका युवायुवतीको जीवनमा मेल खाने चर्चित गायिका अञ्जु पन्तको माथि उल्लेखित गीतले गत माघ १ गते भने छुट्टै माहोलको सिर्जना गर्‍यो । बृहत रोल्पा महोत्सव तथा कृषि प्रदर्शनीको अवसरमा रोल्पाको माडिचौरमा पुगेकी गायिका अञ्जु पन्तले मञ्चमा उक्त गीत प्रेमपीडितहरुका लागि नभई रोल्पाली जनता र माओवादी अध्यक्ष प्रचण्डको सम्बन्धलाई सम्बोधन गर्दै गाउनुभयो ।

दश वर्षे माओवादी जनयुद्धको केन्द्रविन्दु बनेको रोल्पाले द्वन्द्वका क्रममा जति सास्ती र दुःख, कष्ट बेहार्नुपर्‍यो, त्यत्तिकै जनयुद्धका लागि महत्वपूर्ण र शीर्ष भूमिका पनि रोल्पाले नै निर्वाह गर्‍यो । युद्धको पेचिलो परिस्थितिमा र विशेष गरी संकटकालको बेला माओवादी अध्यक्ष प्रचण्डले रोल्पामै बसेर जनयुद्धको नेतृत्व गर्नुभयो । शान्ति प्रक्रियासँगै माओवादी काठमाण्डौँ पस्यो, दुई–दुईपटक सरकारको नेतृत्व गर्‍यो तर रोल्पा जहाँको त्यहीँ छ । त्यही यथार्थलाई प्रष्ट्याउने गरी गायिका पन्तले आफूले गीत गाउँदा गाउँदै माओवादी अध्यक्ष प्रचण्डलाई रोल्पाली जनतामाझ उभ्याउनुभयो र रोल्पाली जनताको तर्फबाट यस्तो गीत गाउनुभयो–
त्यो यात्रा सुनौलो अनि साथ तिम्रो
सम्झेर भेट्न बोलाएँ तिमीलाई

रोल्पा महोत्सवको उद्घाटनका लागि रोल्पा आउनुभएका अध्यक्ष प्रचण्ड पछिल्लो समयमा रोल्पा नआएको लामो समय भइसकेको थियो । संविधानसभाको निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट विजयी हुनुभएका प्रचण्ड चुनावी अभियानका बेला केही दिन र त्यसपछि केही महिनाअघि थवाङमा केही घण्टाका लागि आउनुभएको थियो ।

त्यसपछिको लामो समय रोल्पा नआउँदा रोल्पाली जनताले केही निरासा र पीडाको अनुभूति गरेका थिए । सायद त्यही भएर होला प्रचण्डलाई मञ्चमा उभ्याएर अञ्जुले माथिका गीतका हरफ गाइरहँदा रोल्पाली जनताले समर्थनमा दह्रो ताली बजाएका थिए भने प्रचण्डले गम्भीर तर मन्द मुस्कानका साथ टाउको हल्लाइरहनुभएको थियो ।

अध्यक्ष प्रचण्डकै रोजाइमा उक्त गीत गाएकी अञ्जुले आफूलाई साथ दिन मञ्चतर्फ आउन अनुरोध गर्दा प्रचण्ड केहीबेर हच्किनुभयो । सायद काठमाण्डौँमा नायिका रेखा थापासँग नाचेको विषयमा धेरै टिकाटिप्पणी भएर होला उहाँले तीन पटकसम्म ‘म नाच्दिनँ’ भन्दै मानिरहनुभएको थिएन । तर, अञ्जुले नाच्न होइन, गीतसँगै रोल्पाली जनतालाई अभिवादन गर्न आग्रह गरेपछि मञ्चमा उभिएर गीतको भावसँगै दर्शकहरुलाई अभिवादन गर्नुभयो ।

माओवादी जनयुद्धको क्रममा परिवारजन गुमाएका सहिदका परिवारजन, बेपत्ताका आफन्त र आम रोल्पाली जनताले आफूलाई देखाएको सपना नेताहरुले बिर्सिदै गएको र हिजोका आसाहरु अहिले निरासामा परिणत हुन थालेको सन्दर्भलाई ‘भयो आस रित्तो र यो मन निरास भो, अनि बेहोसीमै कराएँ तिमीलाई’ भनेर गाउँदा दर्शकका तर्फबाट यो हाम्रो यथार्थता हो भन्दै हुटिङसमेत भएको थियो ।

उसो त महोत्सवको उद्घाटन गर्न रोल्पा पुगेका माओवादी अध्यक्ष प्रचण्डसँगै महोत्सवमा सहभागी वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले रोल्पा र प्रचण्डको सम्बन्ध एकअर्काको परिपूरक भएको बताउनुभयो । कुनैबेलाको गुमनाम रोल्पा प्रचण्डले नेतृत्व गरेको माओवादी जनयुद्धकै कारण विश्वव्यापी भएको भन्दै संग्रौलाले प्रचण्ड र रोल्पा दुवैले एकअर्कालाई भुल्न नहुने बताउनुभयो ।

Advertisements
  1. No comments yet.
  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: