Home > सवाल > सहारा बैसाखीको

सहारा बैसाखीको

खारा–६ खुम्चेरीका स्वर्णिमकुमार बाँठामगर ‘आभास’ पेशाले जनमुक्ति सेना हुन्, तर उनी अरु जनसेनाहरुले जस्तो नियमित शारिरीक अभ्यास र दैनिक रोलकल गर्दैनन् । बरु रेडियो सुन्दै, टिभी, पत्रपत्रिका र पुस्तकहरु हेर्दै अनि साथीहरुसँग चेस खेल्दैमा दिन बिताउँछन् । कारण– दश वर्षे जनयुद्धको दौरानमा उनले आफ्नो बायाँ खुट्टा गुमाएका छन् । युद्धमोर्चामा लड्दालड्दै खुट्टा गुमाएपछि अहिले उनको लागि रबरको नक्कली खुट्टा र बैसाखी सहारा बनेको छ ।

उनलाई विगतका सबै–सबै घटनाहरु सम्झदा साँचो होइनन् कि जस्तो लाग्छ रे कहिलेकाँही । युद्धकालमा भोगेका दुःख, कष्ट र पीडाहरु अनगिन्ती छन् उनीसँग । झनै घाइते भएपछिको कुरै बेग्लै । तर, जस्तोसुकै कठिनाई र पीडालाई पनि पचाएर यहाँसम्म आइपुगेको उनी बताउँछन् । घाइते भएको पनि पूरै ८ वर्ष पुग्न थालेछ । ०६० फागुन १९ गतेको रात उनका लागि जीवनकै सबैभन्दा पीडादायक र नबिर्सिने रात बन्यो, जुन दिन उनी सहभागी जनमुक्ति सेनाले पूर्वी नेपालको भोजपुरस्थित तत्कालिन शाही सेनाको रिपिटर टावरमाथि हमला गरेको थियो । सोही हमलाको क्रममा उनले आफ्नो बायाँ खुट्टा गुमाउनु प¥यो ।

घटना सम्झदै उनी भन्छन्, ‘रातीको ११ बजेको थियो सायद । लडाई भीषण भइरहेको थियो । कानै नजिकबाट सुइकिने गोली र जमीनै थर्काउने मोर्टार र माइनहरुको धमका….’ युद्धमोर्चाको वास्तविक चित्र उतार्न शब्दहरु नै पर्याप्त नभएको जस्तो लागिरहेको थियो उनलाई । उनले भन्दै गए, ‘हामी एसल्टमा थियौं, त्यतिबेला नै एक्कासी हाम्रो आर्कमा टूईन्च मोर्टार खस्यो, त्यसपछि त्यसको विष्फोटसँगै के भयो थाहै भएन ।’ दुईजना कमरेडहरु सल्यानका उत्तम र रोल्पाका महेन्द्र उतिबेलै सहिद भएछन्, बाँकी हाम्रो एसल्टका सबै ७/८ जना घाइते भएछौं ।’

संकटकालको बेला, त्यो पनि पूर्वी नेपाल । समयमै उपचार नपाएर समस्या थप बल्झिएको उनी बताउँछन् । मोर्टारले वायाँ खुट्टा पूरै क्षतविक्षत बनाएछ भने शरीरभरि मोर्टारकै टुक्राहरुले छिया–छिया पारेछ । ज्यानकै जोखिम मोलेर एक महिनापछि उपचारका लागि भारतको अस्पतालमा पुग्दा वायाँ खुट्टा घुँडामाथिबाटै काटेर फाल्नुपरेको उनले बताए । खुट्टा काटिसकेपछि अहिलेसम्म उनले ४ वटा नक्कली खुट्टाहरु प्रयोग गरिसकेका छन् । तर, रबरको नक्कली खुट्टा लगाएर हिडडुल गर्न गाह्रो हुने उनको अनुभव छ ।

०५६ सालमै होलटाइमर भएका आभास भोजपुर आक्रमणअघि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र जुम्ला आक्रमणमा पनि घाइते भएका थिए । तर, त्यतिबेला सामान्य घाइते भएकोले फर्मेशनमै उपचार गरी फेरि युद्धमोर्चामै फर्किएको उनले बताए । घाइते हुनुपूर्व उनले चर्चित लिस्ने, गाम भिडण्त, खारा, जुम्ला, अर्घाखाँचीको सन्दीखर्क, सिराहा, सप्तरी र अन्तिमपटक भोजपुरको युद्धमोर्चामा भाग लिएको बताउँछन् । होलटाइमर भएदेखि घाइते नहुँदासम्मका दिनहरु फर्मेशनमा सहयोद्धाहरुसँग हाँस्दै, रमाउँदै र दुश्मनसँग लुकामारी खेल्दै बिते । तर, जब उनी घाइते भए, त्यसपछि शुरु भयो उनको एक्लो जीवन । शान्ति प्रक्रियापछि सबै घाइते जनसेनाहरुलाई अस्थायी शिविरमा राख्ने निर्णय भएपछि आफूजस्तै धेरै घाइतेहरु सँगै बस्न पाएको र एकअर्काको अवस्था हेरेर दुःख पीडा भुल्ने गरेको उनले बताए ।

घाइते नभएको भए सायद उनको गमलासँग बिहे हुन्थ्यो कि हुँदैनथ्यो ? तर, आभासले आफूजस्तै युद्धमोर्चामा घाइते भएकी स्यालापाखाकी गमलासँग ०६२ मा बिहे गरे । उनी ०५९ जेठ १९ गते सल्यानको बुँरासेमा भएको भिडण्तमा घाइते भएकी थिइन् । अहिले आभास–गमलाको साथमा साढे तीन वर्षको छोरा पावेल पनि छ । उनीहरु दुवै जना अहिले जनमुक्ति सेनाको संक्रामस्थित दीर्घ स्मृति व्रिगेडको शिविरमा बस्दै आएका छन् ।

आभासजस्तै रुकुम हुकाम–५ का भुलबहादुर विक ‘असल’को पीडा पनि उस्तै छ । उनले पनि युद्धमोर्चामा आफ्नो दायाँ खुट्टा गुमाएका छन् । ०५९ कार्तिक २८ गते जुम्ला आक्रमणको क्रममा घाइते भएका उनले तत्काल उपचार नपाएकै कारण पछि खुट्टा नै काट्नुप¥यो । घाइते भएपछि आफ्नो फर्मेशनसँग सम्पर्क टुटेको र स्वयम्सेवकहरुले १०/१५ दिनपछि कर्णाली पारी कालिकोट पु¥याएपछि टीमसँग भेट भएको उनले बताए । ‘व्याटलमै घाइते हुँदा बाँधेको व्याण्डेज १५ दिनपछि फुकाउँदा त खुट्टामा किरा पो परिसकेको रहेछ’, उनले भने, ‘टिम नभेटाउँदासम्म दुखाई कम गर्ने औषधी नै पाइएन भने अरु उपचारको त के कुरा ?’ आफ्नो टिमसँग सम्पर्क भइसकेपछि फर्मेशनकै डाक्टरले घुडामुनिबाट खुट्टा काटेको र थप उपचारका लागि झण्डै दुई महिनापछि लुक्दै छिप्दै इण्डिया पुगेको उनले बताए । तर, विडम्बना ! त्यतिबेलासम्म खुट्टाको हाडमा क्यान्सर भइसकेको रहेछ, क्यान्सरबाट बच्नका लागि खुट्टा घुडामाथिबाटै काट्नुपर्ने भयो । र, अस्पतालमा फेरि घुडामाथिबाटै खुट्टा काटियो ।

आभासजस्तै उनले पनि घाइते भएपछि मैकोटकी शान्ता विकसँग बिहे गरे । अहिले उनीहरुका १ छोरा र २ छोरी रहेका छन् । तर, आफू घाइते र परिवारको आयआर्जनको स्रोत केही नभएकोले बालबच्चालाई लालनपालन र शिक्षा दिक्षामा समस्या परेको उनले दुःख व्यक्त गरे । पार्टीको नीति, निर्देशन र योजनामा लड्दालड्दै घाइते भएका अपाङ्ग योद्धाहरुलाई केही सीप र रोजगारी दिएर पार्टीले उचित व्यवस्थापन गर्नुपर्ने र उनीहरुका छोराछोरीको भविष्यको लागि केही पहल गरिदिनुपर्ने उनको माग छ ।

आभास र असलमात्रै हैन, युद्धमोर्चामा वायाँ खुट्टा गुमाएका रुकुम रुँघाका सुधीर र सल्यानका विरवलको अवस्था पनि उस्तै छ । उनीहरु दुवैले लडाईकै क्रममा खुट्टामा गोली लागेपछि घुडामुनिबाट काटेर फाल्नुपरेको घाइते आभासले बताउनुभयो ।

उसो त घाइते शिविरमा खुट्टा गुमाएका मात्र नभई विभिन्न प्रकृतिका घाइतेहरुको जमघट छ । ढाड नै फ्याक्चर भएर ह्वीलचियरको सहारामा हिड्ने सल्यान कोटमौलाका सीपी शर्मादेखि दुश्मनको चरम यातनाका कारण आँखाको ज्योती गुमाएका सल्यान सुइकोटका सुरेशको कथाव्यथा पनि कम पीडादायक छैन । त्यस्तै, टाउकोमा सिंगै गोली बोकेका रुकुम हुकामका विशेष प्यारालाइसिसबाट ग्रस्त भएका छन् । उनको टाउकोमा अझै पनि सिंगै गोली रहेको छ । जो अप्रेशन गरेर निकाल्न नसकिने भन्दै डाक्टरले फिर्ता गरिदिएको उनी बताउँछन् । उनीहरु मात्रै होइन, सल्यानकै दिपक विक, पिपुल्स, गगन, सुरज र रुकुमका शिखरलगायत झण्डै २ दर्जन बढी अपाङ्ग योद्धाहरु शिविरमा घाइते जीवन बिताइरहेका छन् ।

जनयुद्धमा नलागेको भए ? खैं उनीहरु के बन्ने थिए, के गर्ने थिए ? थाहा छैन, सायद गाँस र बासका लागि कालापारका सडक गल्ली चहार्थे कि बाँझो बारी फोड्थे वा अरु केही ? तर, उनीहरु जनयुद्धमा लागे– भीषण लडाईका मोर्चाहरुमा अग्रपंक्तिमा लडे र अहिले त्यही जनयुद्धको चिनो घाइते जीवन बाँचिरहेका छन् । उनीहरु चाहन्छन्, पार्टीका नेताहरुले बेला–बेलामा भेटघाट गरुन् र थप उर्जा प्रदान गरुन् ।

पछिल्लो समयमा पार्टीभित्र चर्किएको विवाद, गुटबन्दी र अस्तव्यस्तताले आफूहरुलाई निकै दुःख लाग्ने गरेको उनीहरु बताउँछन् । हजारौं सहिदहरुको बलिदानी, लाखौं जनताको त्याग, तपस्या र आफूहरुले आधा जीवन गुमाएर हुर्काएको पार्टी कतै बिग्रिन्छ, फुट्छ कि भन्ने चिन्ताले उनीहरुलाई सधै सताउने गर्छ । ‘हामीले आफ्नै शरीरका अंग गुमाउँदा त्यति दुःख मानेका छैनौं तर यदि हाम्रो पार्टी बिग्रियो÷फुट्यो भने सबैभन्दा ठूलो अफसोच त्यही हुनेछ ।’ घाइतेहरु भन्छन्, ‘हामीले सुनेका छौं, झापा विद्रोहका घाइतेहरु पछि–पछिसम्म सडकमा माग्दै हिड्नुपरेको थियो रे, हामीले पनि भविष्यमा सडक गल्लीमा माग्दै हिड्नु नपरोस्, जनयुद्धमा घाइते भएकोमा पछुताउनु नपरोस् ।’

Advertisements
Categories: सवाल
  1. No comments yet.
  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: