Home > सवाल > जनसेनाको शिविर सिर्जना

जनसेनाको शिविर सिर्जना

कहिले आक्रमणका योजना बनाउँदै त कहिले शत्रु पक्षको घेराबन्दीमा परेर सुरक्षित स्थानको खोजीमा दौडादौड गर्दैमा व्यस्त हुने जनसेनाहरुका लागि पाँच वर्षे शिविर बसाई खाली फुर्सदिलोमात्रै भएन, विगतका घटना परिघटनाहरुको गहिरिएर समीक्षा गर्ने र त्यसलाई लिपीबद्ध गर्ने राम्रो अवसर पनि बनेको छ । लडाईको मोर्चाबाट बिश्राम लिएर शिविरमा बसेपछि केहीले शैक्षिक स्तर बढाए, विभिन्न सीप सिके, केहीले घरजम जोडे, बच्चाबच्ची हुर्काए त कतिपयले विगतका तिता मिठा अनुभूति र जनयुद्धका क्रममा देखेभोगेका कहालीलाग्दा क्षणहरुलाई पुस्तकमा समेटेर आफूलाई साहित्यकार लेखकका रुपमा दर्ज गर्न सफल भएका छन् ।

यसरी लडाईमा कुशल लडाकु सेनाको रुपमा मात्रै नभई सफल कवि/कथाकारका रुपमा आफूलाई चिनाउन सफल जनसेनाको अग्रपंक्तिमा आउने नाम हो– क्षितिज मगर । पाँचौँ डिभिजनअन्तर्गत रोल्पाको उँघास्थित मंगलसेन स्मृति व्रिगेडका सह–कमाण्डर क्षितिजले शिविरमा रहँदा प्रायजसो जनयुद्धका क्रममा भएका ठूल्ठूला बलिदानी र संघर्षका कथाहरुलाई नै बढी विषयवस्तु बनाएर रचना सिर्जना गरिएको बताउनुहुन्छ । शाही शासनको तीव्र दमनका बीचमा २०६२ सालमा रुकुमका साहित्यकार जीतमान पुन ‘मार्सल’सँगै ‘आस्थाका पर्खालहरु’ नामक संयुक्त कविता संग्रह प्रकाशित गरिसक्नुभएका क्षितिजले शिविर बसाईको समयलाई उपयोग गर्दै थप दुइवटा कृति प्रकाशित गरिसक्नुभएको छ ।

विशेषतः कथा, कविता र संस्मरण विधामा कलम चलाउने क्षितिजले शिविर बसाईको क्रममा ‘सुनछहरीको ऐनामा’ कथा संग्रह र ‘गण्डक अभियान’ संस्मरण (डायरी) संग्रह प्रकाशित गर्नुभयो । जनयुद्धका बेला आफूले प्रत्यक्ष देखेभोगेका दुःख, पीडा र कठीनाई अनि गरिब, विपन्न वर्गका जनताको चाहनाका साथै पार्टीभित्र देखिएका असल÷खराब सबै प्रवृत्तिलाई पनि आफ्ना रचनाहरुमा उजागर गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘वर्गसङ्घर्ष मात्र होइन पार्टीभित्रको अन्तरसङ्घर्ष, संगठनभित्रका असल र खराब प्रवृत्तिहरु, सांगठनिक र व्यक्तिगत समस्याहरु, निजी भावना, चाहना, रोदन, पीडा, आवेग, उत्साह, उमंग, घृणा, त्रास, साहस, कर्तव्यजस्ता कुराहरुलाई निसंकोच आफ्ना रचनामा पोखेको छु ।’

क्षितिजजस्तै शिविर बसाईको क्रममा जनसेनाको पाँचौँ डिभिजनअन्तर्गत ज्वारस्मृति व्रिगेड तिलामा कार्यरत व्रिगेड सह–कमाण्डर निर्मल महरा ‘एटम’ले तीनवटा पुस्तक र एउटा भिडियो डकुमेन्ट्री प्रकाशित गरिसक्नुभएको छ । माओवादी स्थायी समिति सदस्य तथा पूर्वमन्त्री कृष्णबहादुर महराका जेठा छोरा ‘एटम’का तीनवटा संस्मरण संग्रह र एउटा डकुमेन्ट्री प्रकाशित छन् । उहाँले ‘फर्केर हेर्दा जनयुद्धका दश वर्ष’, ‘गौरवशाली इतिहास र युद्धमोर्चाका अनुभूतिहरु’ र ‘मित्रराष्ट्र चीन भ्रमणका अनुभूतिहरु’ नामक संस्मरण संग्रह प्रकाशित गरिसक्नुभएको छ भने ‘उदाउँदो चीन’ नामक डकुमेण्ट्री समेत निर्माण गर्नुभएको छ ।

ठूलो फर्मेशन, निश्चित बसाई नहुने र कतिपय सामान युद्धका बेला हराउने भएकाले लेख्ने र लेखिएका सामग्रीलाई सुरक्षित गरेर प्रकाशन गर्ने अवस्था नभएर कतिपय रचनाहरु हराएको भन्दै एटमले भन्नुभयो– ‘शिविरको बसाईसँगै फुर्सदको समय भयो, सधैँजसो दौडधुप र लडाई भन्ने कुरा पनि भएन, त्यही फुर्सदको सदुपयोग गर्दै जनयुद्धको इतिहास, ऐतिहासिक घटना परिघटना र आफ्ना भोगाईहरुलाई लिपिवद्ध गर्ने क्रममा यी कृतिहरु तयार भएका हुन् ।’

उसो त सिङ्गो डिभिजनकै नेतृत्व सम्हालिरहनुभएका पाँचौँ डिभिजनका सह–कमाण्डर राजबहादुर बुढा ‘अविनाश’ले पनि शिविर बसाईको समयलाई सदुपयोग गर्दै जनयुद्धको एक महत्वपूर्ण र ऐतिहासिक कृति प्रकाशित गर्नुभएको छ । शिविर बसाईका क्रममा उहाँले ‘जङ्गको मैदानमा’ नामक संस्मरण संग्रह प्रकाशित गर्नुभएको छ । माओवादी विद्रोह शुरु भएदेखिकै छापामार कमाण्डर अविनाशले पुस्तकमा २०५३ सालदेखि २०६३ सालसम्मका आफू सहभागी भएका माओवादी फौजी हमलाहरु र तिनमा भएका क्षति, उपलब्धि, तत्कालिन अवस्थामा राज्य, सेना, प्रहरी र विद्रोही माओवादी जनसेनाहरुको मनोबल, मनोदशालाई पुस्तकमा जीवन्त र सटिक ढंगले प्रस्तुत गर्नुभएको छ ।

रोल्पाको तिलास्थित ज्वार स्मृति ब्रिगेडका कमाण्डर हिम्मत बराल मगर ‘धु्रव’ले पनि आफू माओवादी जनसेना भएदेखि शिविर बस्दासम्मका निकै कठीन र रोमाञ्चक एकदशकलाई ‘समरयात्रा’ नामक संस्मरण संग्रहमा समेटेर प्रकाशित गर्नुभएको छ । युद्धकालमा एकै ठाउँमा बस्न पनि नपाइने र लेखिएका सामग्री पनि सुरक्षित गर्न नसकिने भएकाले रहर भएपनि त्यतिबेला पुस्तक प्रकाशन गर्न नसकेको भन्दै ब्रिगेड कमाण्डर ध्रुवले भन्नुभयो– ‘युद्धका बेला न त समय थियो, न त लेखिएका सामग्री प्रकाशन गर्ने पहुँच र अवस्था नै थियो, शिविर बसाईसँगै फुर्सद पनि भयो, केही लेख्नुपर्छ भन्ने भावना, समय र बाह्य वातावरणले पनि साथ दियो । त्यसैले विगतका भोगाईहरु समेटेर पुस्तक प्रकाशन गर्ने लहर नै चलेको छ ।’ आफूहरुको अथक मेहनतले निर्माण गरेको जनयुद्धको इतिहास अरुका लागि अध्ययन र अनुसन्धान गर्ने सन्दर्भ सामग्री बन्न सकोस् भनेर कलम चलाएको उहाँको भनाई छ ।

यी स्रष्टाहरुबाहेक शिविर बसाईको क्रममा पाँचौँ डिभिजन कार्यालय दहवनमा कार्यरत वीरबहादुर केसी ‘अपराजय’को ‘राता फूलहरु’ कविता संग्रह, कल्पना बुढाथोकीको ‘क्रान्तिको लम्बे यात्राबाट’ कविता संग्रह, अजयशक्तिको ‘आँधीसँग खेल्दा’ संस्मरण संग्रह, एचपी मगर ‘टुहुरो’को ‘क्रान्तिका राता सिपाहीहरु’ कविता संग्रह, एसबी मगर ‘बन्धन’को ‘प्रेमपत्र’ कविता संग्रह र ऋषिराम खड्का ‘निर्माण’को ‘घाम उदाएको देश’ नामक कविता संग्रह पनि प्रकाशित भएका छन् । भर्खरै मात्र सेक्सन कमाण्डर बुद्धिराम घर्ती ‘कमल’ले ‘जनमुक्तिसेनाको यात्रा’ नामक कविता संग्रह प्रकाशित गर्नुभएको छ । त्यस्तै, एचपी मगर ‘टुहुरो’ले त ‘टीकाचुली’ साहित्यिक त्रैमासिक पत्रिका दर्ता गरेर पहिलो अंक प्रकाशनसमेत गरिसक्नुभएको छ ।

त्यस्तै, डिभिजन कार्यालयका अनुसार रोल्पाको उँघास्थित मंगलसेन स्मृति ब्रिगेडका कमाण्डर युगान्त मैनालीको संस्मरण संग्रह र कम्पनी कमाण्डर नवीन लोचन मगरको कविता संग्रह प्रकाशनको अन्तिम तयारीमा रहेका छन् । यसबाहेक शिविर बसाइले फुटकर साहित्यिक रचना गर्ने थुप्रै सर्जकहरु उत्पादन गरेको डिभिजन कार्यकारी कमाण्डर राजबहादुर बुढा मगर ‘अविनाश’ले बताउनुभयो । युद्धकालमा मृत्युसँग खेल्दै लडाईमै प्रत्यक्ष सहभागी योद्धाहरुले आफ्ना अनुभव सबैलाई बाँड्न र जनयुद्ध के का लागि र कसरी लडिएको थियो भन्ने यथार्थ बताउन पुस्तक लेखिरहेको कमाण्डर अविनाशको भनाई छ । जनमुक्ति सेनाको पाँचौँ डिभिजनबाहेक अन्यत्रका जनसेनाहरुले थुप्रै कृतिहरु प्रकाशित गरेको सह–कमाण्डर अविनाशले बताउनुभयो । शिविर बसेलगत्तै जनसेना प्रमुख नन्दकिशोर पुन ‘पासाङ’ले ‘इतिहासका रक्तिम पाइलाहरु’ नामक पुस्तकमा ऐतिहासिक फौजी कार्बाहीहरुको नालीबेली प्रस्तुत गरेको अविनाशले बताउनुभयो ।

उसो त पुस्तक प्रकाशन नगरेपनि शिविरमा कथा, कविता, संस्मरण, गजललगायत साहित्यका कुनै न कुनै विधामा निरन्तर कलम चलाउने थुप्रै जनसेनाहरु रहेको र स्थानीय तथा राजधानीबाट निस्कने कतिपय पत्रपत्रिकाहरुमा रचनाहरु प्रकाशित भइरहेको अविनाशले बताउनुभयो । यी र यस्तै अन्य थुप्रै सिर्जनशील कार्य भइरहेको र शिविरको बसाई जनसेनाहरुले अध्ययन, लेखन तथा व्यक्तित्व विकासमा महत्वपूर्ण र उपलब्धि हाँसिल गरेको उहाँको भनाई छ ।

यसरी छापामार युद्धको शुरुदेखि शान्तिकालको शिविर बसाईसम्म भोगेका ऐतिहासिक क्षणहरुलाई साहित्यका विभिन्न विधामा उनेर जनसेनाहरुले दश वर्षे जनयुद्धलाई नजिकबाट बुझ्न चाहनेहरुका लागि महत्वपूर्ण कृति दिएका छन् । उनीहरुले युद्धमोर्चामा सँगसँगै हाँस्दै खेल्दै गरेका सहयोद्धाहरुलाई अन्तिम सलामी दिदै फर्किदाका पीडादायी क्षणहरु हुन् या युद्धमोर्चामा विजय हासिल गरेर फर्किदाका हर्षोल्लासमय क्षणहरु होऊन्, न्याय, समानता र राजनीतिक चेतना बाँड्दै उपेक्षित, उत्पीडित, गरिब झुप्रा बस्तीहरुमा पुग्दा होस् वा जनयुद्धको दौरान कठिनभन्दा कठिन लम्बेयात्राहरुमा दुश्मनसँग लड्दै भिड्दै अघि बढ्दाका संघर्षपूर्ण दिनहरु होऊन्, ती सबै सुख–दुःख, हाँसो–रोदन, पीडा–आक्रोश, क्षति–उपलब्धि, हार–जीत प्रत्यक्ष भोगेका अनुभूतिहरुलाई निकै मार्मिक र जीवन्तरुपले आफ्ना कृतिहरुमा उतारेका छन् ।

शिविरमा बस्न थालेपछि जनयुद्धका क्रममा संगालेका दुःख, कष्ट, चुनौती र भोगाईका बारेमा कथा, कविता, संस्मरण, इतिहास, डायरी लेखेर आफ्ना चाहना, सपना र मनका भावनाहरुका साथै तत्कालिन अवस्थामा आफ्नो मनोविज्ञान र अवस्थालाई अक्षरमा लिपीबद्ध गरेर तयार पारिएका यी कृतिहरु जनयुद्धको यथार्थता र वास्तविकता बुझ्न चाहने पाठकका लागि गतिला सन्दर्भ सामग्री बनेका छन् ।

२०६८ मंसिर २५ गतेको नौलो जनउभार साप्ताहिकमा प्रकाशित

Advertisements
Categories: सवाल
  1. December 30, 2011 at 9:53 pm

    शिविरमा बस्न थालेपछि जनयुद्धका क्रममा संगालेका दुःख, कष्ट, चुनौती र भोगाईका बारेमा कथा, कविता, संस्मरण, इतिहास, डायरी लेखेर आफ्ना चाहना, सपना र मनका भावनाहरुका साथै तत्कालिन अवस्थामा आफ्नो मनोविज्ञान र अवस्थालाई अक्षरमा लिपीबद्ध गरेर तयार पारिएका यी कृतिहरु जनयुद्धको यथार्थता र वास्तविकता बुझ्न चाहने पाठकका लागि गतिला सन्दर्भ सामग्री बनेका छन् ।

  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: