Home > सवाल > ‘ए साथी म त्यही आउनेछु’

‘ए साथी म त्यही आउनेछु’

वरिपरि काला सर्प अजिङ्गरले तर्साउँदा
माथिबाट दुश्मनले बमगोला वर्षाउँदा
तिम्रो छाति रंगिएर हातबाट बन्दुक झर्दा
म त्यही आउनेछु
ए साथी म त्यही आउनेछु

जीन्दगीका पूरै पाँच दशक पार गरिसकेका जनगायक जीवन शर्माले माथिका यी गीतका हरफहरुमा लय हालेर गाइरहँदा शरीरका रौँ ठाडा–ठाडा नहुने सायदै कोही होला । उनकै भनाईमा– मन बेचैन–बेचैन, तरंगित र विचलितजस्तो न कस्तो–कस्तो भएका बेला लेखिएको हो रे यो गीत । मान्छेको सोचाई सधैँ एकनास कहाँ पो हुन्छ र ? उतारचढाव, आरोह–अवरोह, उकाली–ओराली, घुम्ती मोडहरुमा चक्कर लगाइरहन्छ सोचाईले । उनी पनि जीन्दगीका यस्तै हजारौँ उकाली ओराली र हण्डरहरु झेल्दै अहिलेको उँचाईमा उभिएका छन् । माथि उल्लेखित गीत गाउँदा गाउँदै दर्शकहरुलाई हसाउँदै उनले भने– ‘गीतमा सधैँ आउनेछु भनिरहने तर कहिल्यै नआउने पनि हुँदोरहेछ ।’

नेकपा मशालनिकट अनेरास्ववियू (छैटौँ)को राष्ट्रिय सम्मेलनको अवसरमा दाङ आएका जनगायक शर्माले छुट्टाछुट्टै दुईवटा कार्यक्रममा आफ्ना अनुभूतिका साथै नयाँ तथा पुराना गीतहरु सुनाए । नेपाल पत्रकार महासंघ दाङ शाखा र छलफल चौतारीले छुट्टाछुट्टै आयोजना गरेको कार्यक्रममा उनले जनपक्षीय गीतसंगीत क्षेत्रमा आफ्नो लगाव, राजनीतिक जीवन, जीन्दगीका उतारचढावहरु र राष्ट्रियता तथा जनजिविकाका सवालहरुलाई गीतसंगीतसँगै जोडेर सुनाए ।

पूरै जीन्दगी जनवादी गीतसंगीतको क्षेत्रमा बिताएका शर्मा आफैले कोरेका गीतका हरफहरुले बोलेझैँ युद्धमैदानमा दुश्मनको गोली लागेर ढलेका योद्धाहरुको बन्दुक उठाउन आफू नै जालान्÷नजालान् ?! त्यो त उनैले जानून् । तर, उनका जोशिला, रापिला गीतका हरेक शब्दहरुले दश वर्षे जनयुद्धका क्रममा ज्यानको बाजी थापेर युद्धमोर्चामा होमिन जाने योद्धाहरुलाई ठूलो प्रेरणा हुन्थ्यो रे– क्यान्टोनमेन्टका योद्धाहरु आजभोलि पनि सुनाउँछन् युद्धअनुभूतिसँगै जीवन शर्माका गीत–कहानी ।

आफ्ना गीतले जनयुद्धका होमिएका योद्धाहरुलाई प्रेरणा मिलेको र उनीहरुले आफ्नो गीतको आदर्शलाई पछ्याउँदै ज्यानै दिएका कहानी सुन्दा जनगायक शर्मा आफूलाई पनि गर्वको महसुस हुने बताउँछन् । ‘जसको तागतले आज वर्षौँ पुरानो सामन्तको नाइकेले गद्दी छोड्न बाध्य भयो, तिनै योद्धाहरुले युद्धमोर्चामा ज्यानको पर्वाह नगरी लड्दै गर्दा मेरा गीतहरु सुनेर युद्धमा होमिन्थे भन्ने सुन्दा गर्वले मेरो छाती फुल्छ, उनी भन्छन्– ‘मेरो हृदयदेखिको सम्मान छ ती योद्धाहरुलाई, जसका कारण कम्तिमा सामन्तको नाइके नागार्जुनतिर त गयो ।’

नेकपा मशालसँग सम्बन्धित रक्तिम साँस्कृतिक अभियानको लामो समयदेखि नेतृत्व गर्दै आएका उनी २० वर्ष पहिले गरेको निर्णयले आफूलाई अहिलेको स्थानमा पु¥याएको बताउँछन् । ०४९ सालमा पार्टीले आफूलाई बाग्लुङ जिल्लाको सभापति बन्न अनुरोध गरेको भन्दै उनले भने– ‘त्यतिबेला मैले राजनीति भन्दा कलाकारितामै काम गर्छु भन्ने निर्णय गरेँ, त्यतिबेलाको त्यो निर्णयले अहिले यो ठाउँमा उभ्याएको छ र तपाईहरुको सम्मान पाएको छु ।’

सानैदेखिको रुचि र पञ्चायती निरंकुशतन्त्रको दबदबाले पनि कम्युनिष्ट कलाकार बन्न सहयोगी भूमिका खेलेको उनी बताउँछन् । विद्यार्थीकालदेखि नै गरीब, उत्पीडित, उपेक्षित समुदायको मुक्तिका लागि लड्नुपर्छ भन्ने कम्युनिष्ट चेत पलाएपछि जनवादी कलाकारिता क्षेत्रमा उदाएका उनले ८ कक्षामा पढ्दा पढ्दै यस्तो गीत लेखेका रहेछन्–

‘कति छन् यहाँ छटपटाइरहेका निशालाई देखेर
चाँडै नै आओस् बिहानी सुन्दर अँध्यारो चिरेर ।

यही गीत लेखेर शुरु भएको उनको सिर्जन तथा गायन यात्रा अहिले पनि जारी छ, उत्तिकै क्रियाशील छ र झनै परिपक्व र परिस्कृत हुँदै गइरहेको छ । पछिल्लो समयमा निकै बहसको विषय बनेको संघीयताले देश कतै खण्डित हुने हो कि भन्ने चिन्तासहित भर्खरै लेखेको गीतमा आफूले राष्ट्रियतालाई मर्मका साथ उठाएको उनी बताउँछन् ।

‘तराई हो मुटु हाम्रो पहाड हो छाती
हिमाल हाम्रो उच्च शिर संसारकै माथि
मधेसी, पहाडी, हिमालका हिमाली
सयौं जाति जनजाति हामी सबै नेपाली’

बाग्लुङ जिल्लाको दुर्गम गाविस राङ्खानी वडा नं. ७ मा जन्मिएका जीवन शर्मा रक्तिम परिवारका पर्यायवाचीजस्तै बनेका छन् । उनले अहिलेसम्म रक्तिम परिवारको नामबाट झण्डै चारदर्जनजति गीति क्यासेट निकालिसकेका छन् । त्यस्तै, ठूली, पूजा, सिम्मा, नालापानीदेखि कालापानीसम्म, जवाफलगायतका नाटक पनि प्रकाशित भइसकेका छन् । उसो त २० वटा रक्तिमका क्यासेटहरु रहेको ‘रक्तिम झोला’ पनि पाइन्छ । आजीवन जनवादी गीतसंगीतकै क्षेत्रमा क्रियाशील जीवनले अहिलेसम्म ५ सयको हाराहारीमा गीतहरु रेकर्डिङ गराइसकेको बताउँछन् ।

सधैँ निम्न वर्गका जनताका दुःख, पीडा, रोदन, अभाव, वेदना अनि सामन्त, पूँजीपति र शोषकहरुको अन्याय, अत्याचारजस्ता विषयहरु आफ्नो सिर्जनाका स्रोत भएको बताउँछन् उनी । आफ्नो पुरानो तर निकै चर्चित गीत– ‘सिमली छायामा बसी भरिया लामो सास फेरेको, उमेर भइसक्यो असी झन् ठूलो दुःखले घेरेको’ गाउँदै गायक शर्माले उक्त गीत लेख्दाको कहानी पनि सुनाए । युवावस्थामा पश्चिम नेपालको यात्राका क्रममा दैलेखको कार्की नेटा भन्ने उकालोमा एकजना वृद्ध भरिया बासँग भएको भेट र उनको जीवनको यथार्थता नै उक्त गीतमा लेखिएको उनको भनाई छ ।

‘कहाँ पूर्व खोटाङका वृद्ध बा, छोराछोरी कहाँ छन् था’छैन, श्रीमती मरिसकिन् रे सुन्निएर, आफू पश्चिम पहाडमा भारी बोक्दा बोक्दै अस्ताउन लागिसकेका छन्, उनको त्यो कहालीलाग्दो जीवन उनकै मुखबाट सुनेर मैले उकालो चढ्दा चढ्दै मनमनै गीत बनाइसकेछु’– उनले भने– ‘पछि डाँडामा पुगेर कापीमा सर्सर्ती लेखेँ, त्यही गीत आज यति चर्चित भयो ।’ २०३९ सालमा लेखिएको त्यो गीत अहिले जहाँ जाँदा पनि स्रोता÷दर्शकहरुले सुनाउन आग्रह गरेको भन्दै उनले हँसाए– ‘त्यो गीत लेख्दा मेरा गाला पनि स्याउजस्ता थिए, अहिले च्याउजस्ता भइसके, तर गीत जस्ताको तस्तै छ ।’

मन बुढो भएपनि तन बुढो हुँदैन भनेझैँ सर्वहारा वर्गको मुक्ति र परिवर्तनका लागि जनवादी गीतसंगीतको क्षेत्रमा अन्तिमसम्म निरन्तर लागिरहने उनको प्रतिबद्धता छ । जस्तोसुकै कठीन परिस्थितिमा पनि सम्झौता गरेर होइन, संघर्ष गरेर अघि बढ्ने र यात्रामा आइपर्ने हजार चुनौतीलाई सहर्ष स्वीकार गर्न सक्नु नै सच्चा क्रान्तिकारीको पहिचान हुने उनको भनाई छ–

सुख र दुःख संगाले जीवनको बाटो खन्दछ
हजारौँ चोट सहेर पत्थर त्यो मूर्ति बन्दछ
समयसँग सम्झौता होइन संघर्ष गर संघर्ष
आउँछन् हजार चुनौती स्वीकार गर सहर्ष ।

०६८ पुस ३ गते नौलो जनउभार साप्ताहिकमा प्रकाशित

Advertisements
Categories: सवाल
  1. December 31, 2011 at 5:19 am

    sarai ramro lekhnu bhayechha.

  2. January 8, 2012 at 12:13 pm

    jeevan sharma ko geet haru…raktim sanjh ma sano huda gaun gaun ma karyakram hunthyo..sunna khubai josh jagthyo…

  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: