Home > यादहरु > बम बिर्सिदाको बेहाल

बम बिर्सिदाको बेहाल

दुई चार दिन हामीलाई सुरक्षित हुनु थियो- सरकारी सेनाको नजरबाट छलिनु थियो । तर कसरी ? चारैतिरको घेराबन्दी, बाहिर निस्कने मुख्य नाकाहरुमा सेनाको उपस्थिति र गाउँ-गाउँमा परिचालन गरिएका सिआइडीहरुको निगरानीबाट बच्न बडो मुश्किल थियो हामीलाई- फलामको च्यूरा चपाएजस्तै ।

पूर्व कता हो अनि कता हो पश्चिम ? बिहान र साँझ भए पो सूर्य उदाएको र अस्ताएको हेरेर केही भेउ पाइदो हो, अन्धकार रातको यात्रा । त्यो पनि जेठमासमै वषिर्एको झरीमा कसरी पत्तो लगाउनु पूर्वपश्चिम । अहँ, केही मेसो छैन, थाहा छ त केवल स्थानीय साथीहरुको भनाईमा हामी पूर्व जाँदैछौँ- पूर्वी तनहुँ ।

०६१ को ग्रीष्मकाल । जेठको दोस्रो साता हुनुपर्छ सायद- हामी थियौँ तनहुँको पश्चिम क्षेत्र कालीगण्डकीको आसपास पहाडी गाउँमा । न कहिल्यै आएको न त जाने सुनेको ठाउँ नै । ‘आधारइलाका’ (रोल्पा) बाट पुग्नै त एक महिना लागेको थियो हामीलाई । सरकारी सेनाका दर्जनौँ घेराबन्दी र शाही क्याम्प नजिकैबाट उनीहरुलाई झुक्याउँदै दिनरात सबै बरोबरी ठानेर कति हण्डर र दुःख कष्ट झेल्दै पुगेका थियौँ हामी गण्डकमा ।

संकटकालको तेस्रो वर्ष चलिरहेको थियो देशमा । संकटकालका संकटमय दिनहरुका बीच हामी ‘आधारइलाका’ छोडेर बिस्तारको इलाकामा पुगेका थियौँ- क्रान्तिका लागि । हामी अर्थात् आधारइलाकामा कार्यरत जनकलाकारहरुको टोली- प्रतिरोध साँस्कृतिक परिवार । टोली कमाण्डर थिए- मोहलाल चन्द ‘आधार’ । साथमा थियौँ हामी रोल्पा, रुकुम, सल्यान, दाङ, प्यूठान, बाग्लुङ, कपिलवस्तु, गुल्मी र म्याग्दीका गरी २२ जना कलाकारहरु ।

हाम्रो एउटै उद्देश्य थियो- क्रान्तिकारी गीतसंगीतको माध्यामबाट जनचेतना जगाउनु । मुख्यतः सामन्ती निरंकुश राजतन्त्रका विरुद्धमा जनमत तयार पार्नु अनि न्याय, समानता र गरिब वर्गको मुक्तिका लागि जारी जनयुद्धका पक्षमा आम मानिसलाई आकषिर्त गर्नु । साथै पश्चिमा मुलुकबाट आयातित छाडा, अश्लील र भ्रष्ट संस्कृतिको अन्त्य गरी सभ्य, समुन्नत र प्रगतिशील संस्कृतिको स्थापना गर्नु ।

अँ, हामी थियौँ पश्चिम तनहुँको विकट बस्तीमा ।
जानु थियो हामीलाई पूर्वी तनहुँमा । जहाँ सरकारी सेनाको उपस्थिति न्यून थियो । र, हामीलाई दुई/चार दिन सुस्ताउनु पनि थियो । तर, पूर्व जाने दुई-दुई पटकको प्रयास असफल भएपछि कता-कता डर लागेर आउन थालेको थियो भित्रैदेखि । कालीगण्डकीको किनार होस् या पहाडी क्षेत्रको कच्ची मोटरबाटो र सहायक नाकाहरु सबैतिर सेनाले बन्द गरेर बसेको थियो । लाग्थ्यो- कतै हामी उपलब्धिहीन, अनपेक्षित क्षतिको शिकार हुने त होइनौँ ? आवेगमा आएर वा हतास भएर अघि बढ्न खोज्दा वा पछि हट्न खोज्दा सेनाको फन्दामा परिने त हैन ? त्यतिखेर हामीले अलिकति सचेतता र सर्तकता गुमाएको भए …. सायद अहिले बाँचेका साथीहरुले हाम्रो नाममा पनि एक मिनेट मौनधारण गर्नका लागि घडिको सुई हेरिरहेका हुन्थे कि ?

गोल्ड स्टार जुत्ता, (हरियो कपडाको मिल्ट्री बुटबाट हामी ‘माथि’ उठिसकेका थियौँ त्यतिखेर ।) वान पोलार झोला, झोलामै झुण्ड्याइएको स्लिपिङ व्याग, नुहाउन, धुन नपाएको फुस्रो, मैलो शरिर र कपडाहरु अनि दुई मिटर टाढै भएपनि नाकमै ठोक्किन आइपुग्ने पसिनाको गन्ध….. । आखिर जति लुकाउन खोजे पनि माओवादी हुलिया कहाँ ढाकिन्थ्यो र ? हुलिया लुकाउन नसकेपनि दुई/चार दिन लुक्नैपर्ने भएको थियो हामीलाई । किनकि माओवादी जनसेनाको खारा आक्रमणको असफलतापछि सरकारी सेना गण्डकका पाल्पा, तनहुँ र स्याङ्जामा खनिएको थियो । स्थानीयबासीका अनुसार सेनाहरु भन्थे रे- ‘आजभोलि यता बन्दुकेहरु छैनन्, खारातिर गा’छन्, यी झोलेहरुलाई त लखेटी-लखेटी सिध्याइन्छ ।’हुन पनि भएको थियो त्यस्तै । सेनाले हाम्रो अवस्था राम्रैसँग बुझेको थियो । र, ‘झोले’हरु खोज्दै निस्पिक्रीका साथ दुर्गम गाउँ-गाउँसम्म पुगेको थियो । एकदिन अघिमात्र कालीगण्डकीको किनार करुवाटार पुगेर एकछिन सुस्ताउने, पानी पिउने र अघि बढ्ने मनसायले अघि बढेको हाम्रो टोलीलाई गोठालो बाले जंगलमै नरोकेको भए सायद हामीले पानी पिउन नपाउँदै सरकारी सेनाले हाम्रो ज्यान लिइसकेका हुने रहेछन् । धन्न ती गोठालो बा समयमै भेटिएर मृत्युको मुखैबाट हामीलाई फिर्ता गरिदिएका थिए ।

जेठको दोस्रो साता थियो । दिनभरको चर्को गर्मी, सेनाको घेराबन्दीबाट बच्न दिनभर स्थानीय कुमाल बस्तीमा छिपेर बस्यौँ । र, साँझ खाना खाइसकेपछि तेस्रोपटक पूर्वी यात्राका लागि झिटी गुन्टा बोकेर बाटो लाग्यौँ ।आखिर जानु नै थियो- पहिलो र दोस्रोपटक जंगल र सहायक बाटो अपनाएर जाँदा फर्किनु परेकाले यसपटक मोटर बाटैबाटो जाने निर्णय भयो । बाटोमा आइपर्ने जस्तोसुकै चुनौतीको सामना गर्ने र रातभरमा जोखिमपूर्ण नाका पार गर्ने योजनासहित साँझ ८ बजेतिर नै हिडियो ।

विडम्बना, चैतदेखि नपरेको पानी त्यसै रात पर्नुपर्ने ? हिडेको एक घण्टा नबित्दै ठूल्ठूलो पानी पर्‍यो । एकातिर पानी, अर्कोतिर सेनाको तीव्र घेराबन्दी । हाम्रा लागि सबै शत्रु नै भैदिए । तैपनि माओवादी न परियो- प्रधान शत्रु र सहायक शत्रुलाई छुट्याउन जानेकै थियौँ क्यारे । प्रधान शत्रु (सरकारी सेना) बाट बच्न सहायक शत्रु (पानी)को उपयोग गरियो । पानी-पानीमा रुझेर के पाउनलाई गौडा कुरेर बस्थे र सेनाका जवानहरु । उनीहरुलाई हामीप्रति सद्भाव थियो/थिएन ? त्यो त उनैले जानून् । तर, उनीहरुले पानीमा रुझ्दै दुःख कष्ट बेहोरेर रातभर हामीलाई कुरिरहन सकेनन् सायद । त्यसदिन हामीले प्रयोग गरिरहेको बाटोमा उनीहरु बसेका रहेनछन् । हामी भने पानी-पानीमा रुझ्दै, भिज्दै प्लाष्टिक ओढेर रातभरमा जोखिमपूर्ण नाका र सेनाको घेराबन्दी पार गर्‍यौँ ।

जम्मा जम्मी २४ जनाको संख्यामा थियौँ हामी । सैन्य फौजसँग मुकाबिला गर्न हामीसँग त्यस्तो कुनै हातहतियार थिएन । थिए त मात्र- मादल, सारङ्गी, गिटार र त्यस्तै १०/१५ वटा सकेट बम । अनि केही बन्दोबस्तीका सामानहरु । त्यसैले हिड्दा सुरक्षा अवस्था ख्याल गर्दै केही परि आएपनि कम क्षति हुने गरी मुख्य टोलीलाई बीचमा पारेर ५०/६० मिटरजतिको दूरीमा ३ जना अगाडि हिड्ने र २ जना पछाडि हिड्ने गरी फर्मेशन मिलाएका थियौँ । फर्मेशनमा त्यस दिन म र एकजना रोल्पाली साथी ‘मुक्तिआहृवान’को जिम्मा पछाडि परेको थियो । साथमा दुई/दुईवटा सकेट बम बोकेर हामी टोलीभन्दा अलि पछि-पछि हिडिरहेका थियौँ- ताकि हाम्रो पीछा कोही लागेमा पत्तो पाउन वा पछिको गतिविधि बुझ्नलाई सजिलो होस् र पछिबाट आक्रमणै गरिहाले पनि मुख्य टोलीलाई क्षति पुर्‍याउन नसकोस् ।
हिड्दा टर्चलाइट बाल्नु, बोल्नु त आफैमा आत्मघाती कदम थियो, सामान्य खोक्ने र हिड्दा खुट्टा जोडले बजाउने स्थिति पनि थिएन । पूरै चुपचाप निस्पष्ट अन्धकारमा अगाडिको कालो आकृति हेर्दै अनुमानको भरमा पाइला चाल्नु कम्ति कष्टकर थिएन ।

झण्डै रातको १ बजेतिर तनहुँको रिसिङ रानीपोखरी भन्ने ठाउँभन्दा अगाडि पुगियो । त्यसभन्दा अगाडिको गाउँ पार गरेपछि स्थानीय साथीहरुले जोखिमपूर्ण नाका क्रस गरिएको भन्दै १५ मिनेटजति आराम गर्न भन्नुभयो । ४/५ घण्टादेखिको लगातारको हिडाई, वर्षे झरीलाई नै बिर्साउने मुसलधारे पानी, निस्पट अँध्यारोमा भेलले चिरा पारेका खाल्डाखुल्डीमा परेर ढल्दै, उठ्दै हिड्नुपर्दाको हालत र ‘बन्दोबस्तीका सामान’ बोकेका गह्रौँ झोलाहरुको थिचाइले थिचिएका हामी यति थाकेका रहेछौँ कि आराम गर्ने भनेका त निदाउन पो थालेछौँ ।

१५/२० मिनेट आ-आफ्नो लाइनमै बसेर सुस्ताएका हामी फेरि गन्तव्यका लागि पाइला बढायौँ । थकान र निन्द्राले अर्धचेतजस्तै भएको मैले हातमा समाएको सकेट बम बसेकै ठाउँमा छोडेर हिडेछु । हिडेको त्यस्तै ५ मिनेटजति भएको थियो होला, आफैलाई केही छुटेजस्तो न केही हराएजस्तो कस्तो-कस्तो महसुस भयो । झोला छामेँ, गोजी छामेँ, यसो कम्मरतिर हात लिएको त गि्रनेड पर्समा एउटै मात्र बम छ । त्यसपछि पो निन्द्रा खुल्यो । लौ बर्बाद भयो, हातमा समाइराखेको बम त कता छोडिएछ कता ? सँगै हिडिरहेको साथी मुक्तिआहृवानलाई बम हराएको र भर्खर बसेको ठाउँमा छुटेको हुन सक्ने बताएँ । लिन जाउँ कि के गरौँ-गरौँ भयो ।

पछिबाट त्यत्रो टोलीलाई के भनेर रोक्न लगाउनु ? बम नै बाटोमा बिर्सेको खबर पठाए कमाण्डरले के भन्लान् ? नरोकेर एक्लै खोज्न जाउँ त पछि टोलीलाई भेट्न सकिएन र हराइयो भने ? न त कतै चिनेको ठाउँ, न जानुपर्ने ठाउँ नै थाहा छ । झन् त्यसमै चारैतिर सेनाको घेराबन्दी छ, गाउँ-गाउँमा सिआइडीहरु परिचालित छन् । अलिकति मात्रै तलमाथि भयो भने दुश्मनको पञ्जामा पर्न के बेर ?तर, यतिका धेरै सोच विचार गर्ने समय नै कहाँ थियो र ? यता उता कतै नसोचिकन झोला सँगै हिडिरहेको साथीको हातमा दिएर पछिल्तिर यसरी कुँदे कि मानौँ म यो बाटोमा सयौँ पटक हिडिसकेको छु, जहाँ आँखा चिम्लेर पनि दौड्न सक्छु ।त्यतिखेर सेनाको डर, त्रासभन्दा पनि बम भेटिन्छ कि भेटिन्न भन्ने सुर्ताले ओठ मुख सुकिसकेका थिए । एकातिर अनिकालको बेला बम हराउनु, अर्कोतिर त्यही बमका कारणले हुने सम्भावित मानवीय क्षतिको चिन्ताले म बेहोसजस्तै भएको थिएँ ।

अघिसम्म आएको पानी केही कम भएपनि आकाशमा बादलले पूरै ढाकेको थियो । पारि-पारि क्षितिजमा पहाडका काला ढिस्काहरुले आकाश र जमीनको फरक त्यही हो भन्ने छुट्याउन सक्ने बाहेक अरु केही देखिदैनथ्यो । म पहिले आएको बाटैबाटो दौडिए बेस्मारी । त्यस्तै दुई तीन मिनेटको दौडाईपछि जहाँ म बसेको थिएँ, त्यही पुगेछु, त्यसको एउटै संकेत म बसेको सिधै अगाडिको ठूलो रुख थियो । रुख के को हो थाहा भएन तर त्यही निशानाका कारण मैले बिर्सेर गएको बम यतै होला भन्ने अनुमान गर्दै भुँईमा छामछुम गरेँ । नभन्दै मसिना ढुङ्गा भएको जमीनमा अलि हात लाग्ने त्यही बम नै रहेछ । बम भेटिएपछि छाती ढक्क फुलेजस्तै भयो, शरिरभरि जिङरिङ्ग काँडाहरु उमि्रए, हातगोडा लगलग काँपे ।

भोलिपल्ट दिउँसोको समीक्षात्मक बसाईमा रातीको त्यो ‘बमकहानी’ गुपचुप पारियो । ‘जे भयो-भइसक्यो, कमाण्डरलाई जानकारी गराए गाली पाइन्छ, आखिर बम भेटिहाल्यो, कमाण्डर र टीमलाई नभन्नू’ भनेर सँगैको साथीलाई मनाइसकेको थिएँ पहिले नै ।

त्यो घटना सम्झँदा अहिले पनि कता-कता डर लागेर आउँछ- यदि त्यस रात त्यो बम नभेटिएको भए ?

२०६८ साउन २०, दाङ

Advertisements
Categories: यादहरु
  1. October 18, 2011 at 9:15 pm

    …एकातिर अनिकालको बेला बम हराउनु, अर्कोतिर त्यही बमका कारणले हुने सम्भावित मानवीय क्षतिको चिन्ताले म बेहोसजस्तै भएको थिएँ ।”…..

    डिल्ली जी, यो हरफ ले निकै मन छोयो ।
    तपाईं हरु को दुख,त्याग अनि समर्पणको सही नतिजा कहिले दिन सक्ने हो सरकारले! यही छ हामी सबै नेपाली जनताको दुर्भागय्!
    मीना ।

    • November 16, 2011 at 7:37 am

      comment ka lagi thanks meena jee,,,,,,,,,,, साँच्ची त्यतिबेला मेरो अवस्था म अहिले पनि शब्दमा अभिव्यक्त गर्न सक्दिन ।

  2. December 30, 2011 at 10:01 pm

    Dilli jee, युद्धकालमा अञ्जानबस भएका कमी कमजोरीले ठूलो क्षति भएका थुप्रै उदाहरण छन् । तर, तपाईले त्यस्तो कठीन अवस्थामा पनि हराएको बम भेटाउनु भएछ र सम्भावित दुर्घटनाबाट बचाउनुभएछ । thx tapai lai….

  3. December 31, 2011 at 3:05 am

    Shikar khelna jane tara hatiyar birsera. ani behal na bhayera k hunchha ta ?

  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: