Home > यादहरु > लालबोझीमा उदाएको लाल आकाश

लालबोझीमा उदाएको लाल आकाश

अन्तिमपल्ट मेलटाकुराको मेलामा जतिबेला मैले उनलाई देखेको थिए, त्यसको झण्डै एकवर्षपछि उनको सहादत भएको खबर सुनेँ । त्यतिखेर म भर्खर-भर्खर पाइला चाल्दै थिए क्रान्तियात्रामा, बाबाको पछिपछि हाट झरेको फुच्चे हटारुजस्तो । उसो त म उमेरले पनि उनीभन्दा निकै पछाडिको परें त्यसैले उनीसँग मेरो खासै छलफल, सहकार्य र भेटघाट भएन । मलाई त्यतिबेला उनको विषयमा यतिमात्र थाहा थियो कि उनको नाम ‘आकाश’ हो । उनी छापामार दस्ताका एक लडाकु, सक्षम र बहादुर सिपाही हुन् । जनयुद्ध थालनीपछिका तीनचार वर्षसम्म कहिलेकाँही हाम्रो घरमा आउने, दिनभर घरभित्रै लुकेर बस्ने, जब रात पर्छ तब झोला र बन्दुक बोकेर अँध्यारोमा यात्रा तय गर्ने छापामारहरुमध्ये उनी पनि एक हुन् ।

मलाई अहिले पनि सम्झना छ, उनीलगायत झण्डै आठ दशजना छापामारहरु कहिलेकाँही मध्यरातमा हाम्रो घरमा आउँथे र ढोकामा सुस्तरी ढक्ढक् पार्थे । उनीहरुलाई त्यतिबेला स्क्वाइड भनिन्थ्यो । ठूल्ठूला झोलाहरु, लामा-लामा भरुवा बन्दुक, आफैले बनाएका बम, माइन र तोपहरु बोकेका हुन्थे उनीहरुले । जनयुद्ध थालनीको झण्डै ४ वर्षपछि मात्र मैले उनीहरुको हातमा राइफल देखेको थिए । मैले उनीहरुलाई दिउँसो हिडेको कहिल्यै देखिन । जब २०५६ जेठको अन्त्यतिर जाजरकोटको लहँ इलाका प्रहरी चौकी कब्जा भयो, त्यसको झण्डै एकसातापछि मात्र मैले हाम्रै गाउँमा तत्कालिन प्लाटून र स्क्वाइड दलका छापामारहरुलाई दिउँसै हिडेको देखेको थिए । त्यतिबेला उनीहरुको हात-हातमा भरुवा बन्दुक हैन राइफलहरु थिए ।

शहीद रुपलाल बोहरा 'आकाश' । जसले सल्यानी भूमिमा जन्मिएर पनि क्रान्तियात्राको क्रममा कैलालीको लालबोझीमा रगत बगाएका थिए ।

आकाश शुरुमा तिनै स्वाइडको कमाण्डर थिए । पछि जनसेनाको प्लाटून बनिसकेपछि त्यसको सेक्सन कमाण्डर भए । उनीलाई नजिकबाट चिन्ने उनका सहयोद्धाहरु भन्छन्- आकाश ज्यादै लडाकु योद्धा थिए, युद्धमोर्चामा जहिले पनि अग्रपंक्तिमा जान रुचाउने उनी जति फौजी ज्ञान र क्षमतामा दक्ष थिए, त्यत्तिकै दुश्मनलाई ‘सर्पराइज’ दिन पनि सिपालु थिए । उसो त सानैदेखि खेलकूदमा असाध्यै रुचि राख्ने आकाशले भलिबल, फूटबल, हाइजम्प, लङ्गजम्प, छेलो, कपर्दीलगायत प्रायजसो खेलमा सहकर्मी साथीहरुलाई सधै उछिन्थे रे ।

जतिबेला मैले उनलाई अन्तिमपल्ट देखेको थिएँ मेलटाकुराको मेलामा । त्यो ०५७ भाद्र २० गतेको दिन थियो । वर्षायाम भएपनि पानी परेको थिएन, आकाश खुल्ला थियो । निलो आकाश छोएझै गरी सम्मुखमै कुमाख पहाड ठिङ्ग उभिएको थियो । कुमाख फेदीमा चिटिक्क मिलेको जिमाली गाउँ । तल बडाचौर, पैयाँकाटिया, थापाचौर हुँदै बगेको जिमाली खोलाको सुस्साहट र मेलामा भेला भएका हजारौं दर्शकहरुको होहल्लाले छुट्टै संगीतको धुन गुञ्जिएजस्तो भान हुन्थ्यो । कालागाउँ खोला र जिमाली खोलाको संगम त्रिवेणी हुँदै भेरीको छेऊ भेट्न आतुर नागवेलीझै बगेको मर्मखोला र मर्मज्यूलीका फाँटहरु प्रष्टै देखिन्थे मेलटाकुराबाट । मर्मज्यूलीभन्दा अलि माथि सिनित्तै कपाल खौरिएझै नाङ्गो कालागाउँको डाँडो, त्यो भन्दा पारी-पारी जाजरकोटका अग्ला-अग्ला, अनकण्टार डाँडाकाँडा र पहाड पर्वतहरु अनि सेतै हिउँ थुपि्रएर टलक्क टल्किने रमका र चाखुरे हिमालहरु एकैपटक देख्न सकिन्थ्यो । मौसम यस्तै थियो- लाग्थ्यो, प्रकृतिले वर्षायामको विदाई र शरदको स्वागतका लागि तयारी गरिरहेको छ ।

मेला बाक्लिदै थियो मेलटाकुरामा । ठाउँ-ठाउँमा प्लाष्टिक र त्रिपालले बेरेर बनाएका स-साना पसलहरु । जेरी, हलुवा, आलुचप, समोसा र सेलरोटीहरु बनाउँदै-बेच्दै गरेका मौसमी पसलेहरु । अनि जेरी, हलुवा, सेलरोटीका लागि तँछाडमछाड गर्दै, यताउता धकेल्दै दुकान वरिपरी झुम्मिएका दर्जनौं केटाकेटीहरु । कोही दोहरीका क्यासेट घन्काउँदै त कोही राष्ट्रिय झोलको तालमा दायाँबायाँ हल्लिदै आँखा सन्काउनु, कोही खेलकूदको रमझममा हारजीतको बाजी थाप्दै रमाउनु, सधैंभरि घरधन्दामै व्यस्त भएर थाकेका-फुर्सद नपाएका महिला दिदीबहीनीहरु एकैदिन भएपनि घरबाहिर निस्कनु, पाएसम्म नयाँ-नयाँ पोशाकमा सजिएर दिदीबहीनी, दाजुभाई वा साथीसंगीहरुसँग रमाउँदै भेला हुनु आखिर यही त हो ग्रामीण क्षेत्रका मेला (जात्रा)हरुको विशेषता । ठीक यस्तै थियो त्यहाँ पनि ।

आकाश पनि त्यही थिए- मेलटाकुरा मेलामा । सायद उनी त्यतिखेर घर भेटघाटको क्रममा आएका थिए । त्यसदिन उनले ‘छेलो’ प्रतियोगिता र डोरी नाघ्ने अर्थात् ‘हाइजम्प’ प्रतियोगितामा सबैलाई जितेर प्रथम स्थान हाँसिल गरेका थिए ।

समय उस्तै नरहदो रहेछ । मैले महिना र गते भुलेँ । सायद असारको महिना हुनुपर्छ । करिब एकवर्षपछि त्यही मेलटाकुरामा उनकै श्रद्धाञ्जली सभा मनाइयो । एकवर्षअघि उनी यही थिए, साथीसंगी र गाउँलेहरुमाझ । हाँस्दै रमाउँदै मेला आएका थिए- छेलो र हाइजम्पमा विजयी भएका थिए । तर, एकवर्षपछि…..? वातावरण अर्कै छ मेलटाकुराको । मान्छेहरु भेला भएका छन्, भावुक मुद्रामा । पूरै स्तब्धता, सन्नाटा र अव्यक्त, भयावह सन्त्रास…..। गतवर्षको जस्तो उमंग, खुसीयाली र रमझम छैन, न त आकाश नै आएका छन् यहाँ । बरु उनको तस्बीर राखिएको छ मञ्चमा- अबिरले रातै छ तस्बीर, फूलमालाको बीचमा । निलो आकाश ? खै कतै पनि देखिदैन- न त कुमाख पहाड नै देखिएको छ । बादलले धुम्म ढाकेको छ चारैतिर । न पानी परेको छ न त घाम नै लागेको छ । जाडो भएजस्तो न गर्मी चढेजस्तो खैं कस्तो-कस्तो उकुसमुकुस भइरहेछ परिवेश । बृद्ध बाआमा, जीवनसंगीनी पूणिर्मा, छोराछोरीहरु, सहयोद्धाहरु, आफन्तजन, गाउँलेहरु सबै-सबै स्तब्ध छन्- उनको अभावमा । एउटा गहिरो पीडा छताछुल्ल पोखिएको छ- मेलटाकुरामा । अनि दन्किएको छ वर्गवैरीप्रति तीव्र आक्रोश र बदलाको भावना पनि ।

लालबोझी कैलाली – क्रान्तियात्राको एउटा कालखण्डमा वीरता र बलिदानको इतिहास बन्यो । एक सक्षम र निष्ठावान् लडाकु, क्रान्तिको अथक यात्री क.आकाश त्यही लालबोझीको मोर्चामा ढल्यो- फेरि कहिल्यै नफर्किने गरी ।

जेठमासको खण्डहर मौसम, दशगजादेखि थोरै भित्र- पश्चिम तराई कैलालीको लालबोझी उनीहरुको निशाना थियो । ०५८ जेठको पहिलो साता चुरे क्षेत्रबाट उनीहरु तराई झरे । तराईको गर्मी, मच्छेड र सर्पहरु त सामान्य नै भए उनीहरुका लागि । तत्कालिन राज्यसत्ताका रक्षक पुलिसहरुको बिगबिगी बढी खतरनाक थियो । ती सबै-सबै प्रतिकूलताबाट जोगिदै-छलिदै उनीहरु दुईचार दिन तराईमै बसे । जनसेनाको त्यो टुकडीको कमाण्ड उनैले गरेका थिए- क.आकाशले । तराईमा तीनचार दिनको बसाईपछि आक्रमणको दिन छनौट भयो- जेठ १३ गतेको साँझ ।

झण्डै ६ घण्टाजति तराईको जंगलमा हिडेपछि साँझ करिब ६ बजेतिर गन्तव्यमा पुगिसकेका थिए उनीहरु । लामो समयसम्म मोर्चा कसेर लड्न सम्भव थिएन त्यहाँ । बेलुकीपखको घामका राता किरणले पश्चिमी क्षितिज रातो भइसकेको थियो । गोधुली साँझको शान्त र सुनसानजस्तो लालबोझीमा एक्कासी शुरु भयो राज्यसत्ताविरुद्धको विद्रोहको एउटा घमासान मोर्चा । लालबोझी मोर्चामा सहभागी योद्धाहरु भन्छन्- मान्छेहरु कामकाजबाट घर-घरतिर फर्किदै थिए, पुलिसहरु सम्भावित दुर्घटनाको कुनै आँकलन नै नगरी वेपर्वाह चौकी रुँघेर बसिरहेका थिए । एक्कासी आक्रमण भएपछि उनीहरुको सातोपुत्लो नै उड्यो, हत्तपत्त प्रतिआक्रमण गर्न त खोजे तर युद्धमोर्चामा उनीहरुको पहलकदमी गुमिसकेको थियो । अन्ततः १५ मिनेटमै हार स्वीकार गरेर हतियार बुझाए पुलिसहरुले । चौकी पूर्णरुपमा नियन्त्रणमा आइसकेको थियो । भवन दन्दनी जलिरहेको थियो । कार्बाही त सफल भयो तर दुर्भाग्य,  कार्बाहीका होल कमाण्डर, तत्कालिन प्लाटून नं.१३ का कमाण्डर क.आकाश युद्धमोर्चामा ढलिसकेका थिए । युद्धमोर्चाको बाँकी अभिभारा बाँचेकाहरुलाई सुम्पिदै उनी सहिद भइसकेका थिए । विजयको खुसीयालीभन्दा कुशल कमाण्डरको सहादतले थिचिएका जनसेनाहरु गह्रौं पीडाकासाथ क.आकाशको शवलाई लिएर गन्तव्यतिर लागे ।

युद्धमोर्चामा कमै भएका छन् यस्ता घटनाहरु, जहाँ कमाण्डरहरु नै ढलेका छन्- रणसंग्राममै । जसले पार्टी, क्रान्ति र सहयोद्धाहरुलाई कहिल्यै नमेटिने गहिरो घाऊ बनाएको छ । जनयुद्ध थालनीको वर्षदिन नबित्दै पूर्व बेथान आक्रमणमा कमाण्डर क.तीर्थ गौतम ढले, त्यही समय पश्चिम रुकुम र डोल्पाको सीमाना त्रिवेणी चौकी आक्रमणमा क.विजय घलेको सहादत भयो । त्यसकै निरन्तरता जस्तो कैलालीको लालबोझी मोर्चामा क.आकाशको वीरगति ।

आजभन्दा ठीक ३८ वर्षअघि ०२७ भाद्र २ गते सल्यान जिल्लाको एकदमै विकट, दुर्गम र अविकसित बडागाउँ गाविसको सेरागाउँमा जन्मिएका थिए उनी । बुवा कले बोहरा र आमा बुङ्ची बोहराको कोखबाट जन्मिएका हल्का कालो वर्ण, ठिक्कको कद, सरल, सहृदयी स्वभावका धनी रुपलाल बोहरा नै क्रान्तियात्रामा आकाशको रुपमा परिचित भए । केटाकेटी छँदादेखि नै उनी खेलकूद यति मन पराउँथे कि बरु खाना खानै बिर्सन्थे रे । पहाडी जीवन न हो पढ्ने, लेख्ने र विद्यालय जाने उमेरमा घाँसदाउराको लागि कहिले च्याउखोला, सेरागाउँको जंगल त कहिले मालिकाको भीरतिर उक्लिनुपर्ने बाध्यताबाट उनी अछुतो हुन सकेनन् । उसो त गाईभैंसीको गोठालो बन्दै बारीका पाटा खोस्रदै बचेको समय पठनपाठनमा लगाउँदै उनले प्राथमिक तह र पछि एसएलसीसम्मको अध्ययन पूरा गरे ।

उनको गाउँको नामै बडागाउँ । आखिर गाउँको नाम बडागाउँ कसरी रहन गयो ? स्पष्टसँग मलाई थाहा छैन । तर, सुनेको छु त्यतिबेला कथित् ठूलाबडाहरु बसेकोले गाउँको नामै बडाहरुको गाउँ अर्थात् बडागाउँ रहन गएको हो रे । उसो त अहिले पनि त्यहाँ जमानाका कथित् बडाहरुका सेता घरहरु जीर्ण अवस्थामा पुगेका प्रशस्तै भेटिन्छन् । तिनै बडामालिक अर्थात् सामन्तहरुको छायामुनि परेको उनको गाउँ र सोझा गाउँलेहरुले कहिल्यै उन्नति गर्न सकेनन् । उसो त त्यसको असर परोक्ष वा प्रत्यक्षरुपमा अहिले पनि छ । त्यसको सोझो प्रभाव उनको परिवारमा पनि थियो । कमजोर आर्थिक स्थितिका कारण बाल्यकालमै अनगिन्ती समस्याहरु गुजुल्टिएका थिए ।

सामाजिक अन्धविश्वास, रुढीवादी मूल्यमान्यता, पिछडिएको समाज, त्यसमा पनि उनै बडामालिक, भुरेटाकुरे सामन्तहरुको चुसाई र पिसाईले सुकेको गाउँ र गाउँलेहरुको अवस्था देखेर उनी बडाहरुबाट कसरी मुक्ति पाइन्छ भनेर सोचिरहन्थे रे । विद्यार्थीकालमै उनले सामाजिक विकृति विसंगति र बडाहरुको व्यवहारका विरुद्धमा गतिविधि बढाउन थालेपछि सुषुप्त अवस्थामै वर्गसंघर्षले ठाउँ लिन थालेको उनका सहकर्मीहरु बताउँछन् । जतिबेला उनीमा बडामालिकहरुका विरुद्ध लड्नुपर्ने चेतनाको विकास भइसकेको थियो त्यतिखेर जनयुद्धको थालनी पनि भइसकेको थियो । जनयुद्धको थालनीसँगै उनी भूमिगत भए । एउटा सामान्य किसानको छोराको रुढीगत जीवनमा क्रमभंग भयो- नयाा जीवनको शुरुवात गरे उनले । उनी बस्ती-बस्तीमा जनचेतना जगाउँदै हिडे- क्रान्ति र मुक्तिको सन्देश लिएर ।

कित्ताबन्दी भइसकेको थियो- बडामालिक र उनीहरु बीचमा । ग्रामीण वर्गसंघर्ष जब चर्किदै गयो, सामन्ती फटाहाहरु गाउँ छोडेर भाग्न थाले तर थुप्रै आकाशहरु पनि तत्कालिन राज्यसत्ताको आँखाको कसिंगर भए- राजद्रोही, आतंककारी । जब उनीहरु राजद्रोही, आतंककारीको बिल्ला भिरेर राज्यसत्ताको आँखामा फरार भए, ठीक त्यसबेला उनीहरु राती-रातीमात्र हिड्थे, दिनभर घरको बुँईगलमा लुकेर बस्थे । मध्यरातमा उनीहरु ढोका खट्खटाउँदै आउँथे ।

भूमिगत भएदेखि नै लडाकु दलका सदस्य बनेका उनी युद्धको विकास, आवश्यकता र क्षमताले गर्दा छापामार दल, स्क्वाइड सदस्य, पछि कमाण्डर हुँदै पश्चिममा पहिलोपटक बनेको स्पेशल टास्कफोर्सको सदस्य समेत बने । प्लाटून गठन भएपछि ३ नं.प्लाटूनको सेक्सन कमाण्डर भएर उनी भेरी करणालीका प्रायजसो जिल्लाहरुमा पुगेका थिए । सो क्रममा पश्चिम नेपालमा भएका अधिकांश फौजी कार्बाहीमा उनको जिम्मेवारीपूर्ण सहभागिता रहेको थियो । फौजी तथा राजनैतिक क्षमता, वैचारिक स्पष्टता र क्रान्तिकारी विचारले लैस उनलाई पार्टीले ०५६ को अन्त्यतिर १३ नं.प्लाटूनको जिम्मेवारी दिएर सेतीमहाकाली क्षेत्रमा पठाएको थियो । स्पेशल टास्कफोर्समा छँदा उनी थुपै्र मोर्चामा सहभागी भइसकेका थिए । त्यतिबेला टास्कफोर्सले पहिलोपटक दाङको चिराघाट इप्रकामाथि धावा बोलेर सानदार विजय हासिल गरिसकेको थियो । त्यसपछि रोल्पाको जेलवाङस्थित स्ट्राइकिङ प्रहरी बेस क्याम्प, जाजरकोटको लहँ इप्रका, सल्यानकै रामपुर इप्रका, रुकुमकोट इप्रका रेडलगायतका दर्जनौं मोर्चाहरुमा लडाई लडेको उनीसँग अनुभव थियो ।

जीवनको अन्तिम चरणमा उनले सेतीमहाकालीको युद्धमोर्चा सम्हालिरहेका थिए । जब पार्टीले कैलालीको लालबोझी उनकै कमाण्डमा कब्जा गर्ने निर्णय गर्‍यो, उनले आफ्नै बलिदानी दिएर अन्ततः पार्टीको योजना कार्यान्वयन गरेरै छाडे । उनकै कमाण्डमा जतिबेला लालबोझी कब्जा हुँदै थियो, घाम डुब्नै लागेका थिए पश्चिम क्षितिजमा । युद्धमोर्चामा विजय हासिल गरेर उनका सहयोद्धाहरु उही जंगलको बाटो हुँदै गन्तव्यतिर लागे । तर, जनमुक्ति सेनाको त्यो लस्करमा कमाण्डर आकाश थिएनन्- थियो त मात्र उनको शव सहयोद्धाहरुको काँधमा । त्यतिखेर गोधुली साँझको शान्त र उराठलाग्दो पश्चिमी क्षितिज झन रातो देखिन्थ्यो ।

०६५ फागुन २८ दाङ

Advertisements
Categories: यादहरु
  1. Ukihana Tomodachi Samurai
    March 22, 2010 at 1:29 pm

    डिल्ली मल्ल जी,
    तपाईको यो लेख पढेर मेरो त आंग नै सिरिंग भयो?मेरो एक जना भाइ पनि तपाईहरुकै पल्टनमा थियो।मरिसक्यो कि अझै जीवितै छ मलाई थाहा भएन।म कम्प्युटर प्राविधिक हुं।
    तपाईको तोमोदाची

  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: