Home > यादहरु > हवाई हमलाका भयानक ६ घण्टा

हवाई हमलाका भयानक ६ घण्टा

 

‘लौ लौ साथी हो छिटो गरौं, फाइट शुरु भइहाल्यो । गाउँतिर भएका सबै साथीहरु छिटो सेफ हुने (सुरक्षित स्थानतिर लाग्ने) भन्नेछ, तपाईहरु सबै आरएचक्यू (क्षेत्रीय हेडक्वार्टर)सँग कोर्डिनेशन गरेर जंगलतिर लाग्नुस् ।’

सञ्चारका साथीको कडा कासनसँगै आधा भात थालीमै छोड्दै गुण्टागुण्टी बोकेर जंगलतिर टाप कसियो ।

उकालोमा हस्याङ–फस्याङ गर्दै दौड्दा दौड्दै तल त्रिवेणी खोला आसपासमा पड्किएका बमगोलाका धमकाले वारिपारिका पहाडहरु थर्किन थालिसकेका थिए । र, क्षणभरमै शान्त त्रिवेणी खोला, गैरीगाउँ, दुम्ला एवम् आसपासका डाँडापाखाहरु युद्धभूमिमा परिणत भइसकेका थिए ।

हप्ता दिनअघिदेखि नै हाम्रो पिछा गरिरहेका सरकारी सेनाका जासुस विमान र लडाकु हेलिकोप्टरले त्यस दिन बिहानैदेखि हामीमाथिको आकाशमा कयौं चक्कर मारिसकेका थिए । उता पैदलरुपमा चारैतिरबाट सरकारी सेना ‘पाथिभरा अप्रेसन’ लिएर घेरा कस्दै अघि बढिरहेको खबर आइरहेको थियो । यसले गर्दा पनि सम्भावित भिडण्तलाई झनै नजिक्याइरहेको थियो ।

०६२ पुस ११ को बिहान । हामी थियौं, रोल्पाको पश्चिम–दक्षिण क्षेत्र गैरीगाउँको दुम्लामा ।

सरकारी सेना पाथिभरा अप्रेशन लिएर ‘माओवादी आधारइलाका’ तहसनहस पार्ने योजनाका साथ अघि बढिरहेको थियो भने माओवादी एकतर्फी युद्धविरामको घोषणा गरी देशभर राजनैतिक कार्यक्रममा व्यस्त थियो ।

सोही क्रममा आधारइलाकामा कार्यरत माओवादी जनसेना तथा नेता कार्यकर्ताहरु लोकतान्त्रिक जनप्रदर्शन अभियानको क्रममा आधारइलाकाका पाँचओटै जिल्लामा जनसभा र मार्च गर्दै हिडिरहेका थिए ।

रोल्पाको भावाङ, रुकुमको रुकुमकोट, सल्यानको थारमारे र दाङको बाघमारेमा जनसभाहरु सम्पन्न गरेर उक्त टोली प्यूठानको लागि अघि बढ्दै थियो । साथै जनमुक्ति सेना ‘ढाडमा टेकेर टाउको हान्ने’ गण्डक अभियानका लागि पूर्व जाने तयारीमा थियो ।

अभियानकै क्रममा त्यसदिन जनमुक्ति सेना नेपाल पाँचौं डिभिजन र आधारइलाकाका माओवादी नेता कार्यकर्ताहरुको ठूलै समूह थियो– दुम्ला र आसपासका गाउँमा ।

हिउँदयाम भए पनि त्यति सारो जाडोको महसुस भएको थिएन । बिहानैदेखि सरकारी सेनाको बढ्दो चलखेलले स्थिति फेरिदै थियो ।

जनमुक्ति सेना सरकारी सेनाको सम्भावित आक्रमणबाट बच्न र पाथिभरा अप्रेशनको लक्ष्य तहसनहस पार्न आ–आप्mनो आर्कमा तयारी अवस्थामा बसिसकेको थियो ।

हामी दुम्ला गाउँको सिरानमा पुगिसकेका थियौं– जंगल छेऊमा । दुई/चार जना भए पो गाउँमै छिप्न सकिन्थ्यो, हामी त थियौं झण्डै चारहजारको संख्यामा । त्यसैले सरकारी सेनाको आँखा छल्न र हवाई हमलाबाट बच्न सबैभन्दा उत्तम उपाय जंगलमा लुक्नु नै हुन्थ्यो ।

दिउँसोको ११ बजिसकेको थियो त्यतिखेर । दुम्लागाउँकै पल्लो डाँडोमा घमासान भिडण्त भइरहेको थियो– जनसेनाको ज्वारस्मृति ब्रिगेड र त्रिवेणी भएर अघि बढेको सरकारी सेनाको बीचमा ।

करीब पौने घण्टासम्म त लडाई घमासान नै भयो । न त सरकारी सेना अघि बढ्न सक्यो न त जनसेना नै पछि हट्यो । जनसेनासँग लडाईका लागि आवश्यक पूर्वतयारी नै थिएन । उ त राजनैतिक अभियानमा हिडिरहेको थियो ।

तर, सरकारी सेना भने माओवादी आधारइलाका ध्वस्त पार्ने पूरापुर तयारीका साथ चारैतिरबाट ठूलो संख्यामा परिचालित थियो । स्थल र हवाई सर्पोट पनि राम्रोसँग मिलाएको थियो उसले ।

पौने घण्टासम्मको आमने सामने भिडण्तपछि जब सरकारी सेनाले हवाई हमला गर्न थाल्यो, लडाईको टे«न नै बदलियो । र, उसले एकतर्फी हवाई हमला तेज बनायो ।

त्यसपछि…

ठूल्ठूला सल्लाका फेदहरु हाम्रो सहारा बने– फाइटर हेलिकोप्टरबाट हानेका गोलीबाट बच्नका लागि । झ्याम, बुट्यान र रुखहरु दृष्टिकभर बने– जासुसी विमानको आँखा छल्नका लागि । जासुसी विमानले देख्यो कि हमला गर्न हेलिलाई निर्देशन दिइहाल्थ्यो । त्यसैले दृष्टिकभरमा लुकेर जासुसी विमानबाट ओझेल पर्नुको विकल्प थिएन ।

दुम्लाको आकाशमा विशेष यन्त्रजडित जासुसी विमान र अत्याधुनिक हतियारजडित दुई/दुईवटा लडाकु हेलिले दर्जनौं पटक चक्कर मार्दै एकोहोरो गोली र मोर्टारहरु वर्षाइरहे ।

हवाई हमलाको प्रतिरोध गर्न जनसेनासँग न त पर्याप्त हतियार थियो न त अवस्था नै । त्यसैले जनसेना पनि आ–आप्mनो पोजिसन एक्सपोज नगरी जंगलमै छिप्यो ।

आकाशबाट सरकारी सेनाको जासुसी विमानको निर्देशनमा लडाकु हेलिकोप्टरले यस्तो हमला ग¥यो कि सायद बमगोलीहरु पनि उम्रने भए आजभोलि दुम्ला र आसपासका गाउँहरुमा बमगोलीका रुखहरुले ढपक्कै ढाकिसकेका हुने थिए ।
दिउँसो १२ बजेदेखि शुरु भएको हवाई हमला साँझ अँध्यारो नहुँदासम्म जारी रह्यो ।

जासुसी विमानको निगरानी र निर्देशनमा दुईवटा लडाकु हेलिकोप्टरको लगातार ६ घण्टाको भीषण हमला कम्ती भयानक थिएन । हाम्रा लागि ६ घण्टाको त्यो छोटो समय निकै लामो, सन्त्रासमय, भयानक हुनुकासाथै युद्धमोर्चाको प्रत्यक्ष अनुभूति गर्ने अवसरको रुपमा पनि बित्यो ।

चिल्लो टेबलअघि बसेर काल्पनिक युद्धका कलात्मक कथा पढेर आफूलाई कथाको हिरोसँग तुलना गर्दै रोमाञ्चित हुनु र टाउकैमाथिबाट बमगोला बर्षिरहेको विभत्स, भयावह र वास्तविक कथाको पात्र बन्नु । अहो ! पूरै आकाश पातालको फरक कुरा रहेछ ।

युद्धमोर्चा गफाडीले गफ लगाएजस्तो सजिलो कहाँ रहेछ र ? सुइकिदै आउने गोलीले टाउकैमाथिका रुखका पातहरु झार्दा, आफू उभिएको जमीनै थर्काएर मोर्टारहरु विष्फोट हुँदा……….??? साँच्चै, त्यतिबेला हाम्रो हालत हेर्नलायककै थियो ।

खैर हामी थियौं एक भीषण युद्धमोर्चाको बीचमा । हाम्रो मनस्थिति जे जस्तो भए पनि युद्धमोर्चाको आभारभूत नियम हामीले पालना गर्नैपर्दथ्यो । सकेसम्म प्रतिरोध गर्ने र नसके पछि हट्ने त युद्धको सामान्य नियम नै हो । हामी पनि ठीक त्यही हालतमा थियौं ।

युद्धमोर्चामा आइपर्ने सम्भावित खतराबाट सन्त्रस्त, भयभीत र आक्रोशित हामी जबर्जस्त युद्धमोर्चाको वास्तविकता, विभत्सता र भयावह अवस्था भोगिरहेका थियौं त्यतिखेर । र, क्रमशः पछि हटिरहेका थियौं ।

अघि नै बताइसकें हवाई हमला हुनुपूर्व नै हामी जंगलमा पुगिसकेका थियौं । बाजागाजा, ड्रेस र अन्य सरसामानले भरिएका ठूल्ठूला झोलाहरु, सोलार सेट, कम्बललगायतका सामानले बेस्सरी थिचिएका थियौं हामी ।

एकातिर सामान सुरक्षित पनि गर्नु थियो, अर्कोतिर युद्धमोर्चामा घाइते भएका योद्धाहरुलाई सुरक्षित गर्नुपर्ने जिम्मा पनि । सानातिना भिडण्त, हवाई आक्रमण, दुश्मन सेनाको घेराबन्दी र लखेटाईमा परे पनि यति लामो र भीषण आक्रमणमा यसअघि परिएको थिएन । त्यसले गर्दा पनि कता–कता आतंकित र हतोत्साही भइयो शुरुमा ।

हवाई हमला शुरु भएलगत्तै तत्कालिन केन्द्रीय आधारइलाका इन्चार्ज नेत्रविक्रम चन्द ‘विप्लव’, तत्कालिन जनमुक्ति सेना नेपाल पाँचौं डिभिजनका कमिस्नर हेमन्त प्रकाश ओली ‘सुर्दशन’लगायतका नेताहरुलाई पनि हामीसँगै देख्दा मन अलि ढुक्क भयो । तर, पछि को कतातिर लागे, थाहा भएन ।

दिनभरजसो दुम्लागाउँ माथिको जंगलमा कतिबेला दश/पन्ध्रजना, कतिबेला चार/पाँच जना भएर बिताइयो ।

सरकारी सेनाले दर्जनौं पटक टाउकैमाथिबाट चक्कर मार्दै लडाकु हेलिबाट एचएमजी, एलएमजी, जीपीएमजीबाट खाजा भुटेसरी अन्धाधुन्ध आक्रमण गरिरहे । उनीहरुलाई न त गाउँघर, सर्वसाधारण, गाईभैसी र घरगोठको मतलब थियो न त अरु कुनै ।

दुम्ला र वरपरको जंगल, डाँडापाखा, भीरपहरा र गाउँबस्ती सबै–सबै ‘आतंककारी’ बनेका थिए उनीहरुका लागि । र, ‘आतंककारी’हरुको अन्त्य गर्न जथाभाबी बमगोली बर्षाउनमै व्यस्त थिए ।

बेला–बेलामा खसाल्ने मोर्टार र बमका धमकाले जमीनै भासिएजस्तै गरी थर्काउँथ्यो भने टाउकैमाथिका रुखका पात झार्दै गोलीहरु चुइकिदा मुटु नै सिरिङ्ग हुन्थ्यो ।

हेलिकोप्टरबाट आक्रमण भइरहँदा हामी ठूल्ठूला सल्लाका फेदवरिपरि घुम्दै गोली छल्थ्यौं ।

त्यतिखेर लाग्थ्यो, ‘हामी कस्तो अर्कै संसारका जीवहरु रहेछौं र उनीहरु यसरी हामीमाथि खनिरहेका छन् । राष्ट्रको ढुकुटी सिध्याएर आफ्नै देशका नागरिकमाथि किन यस्तो आक्रमण ? आखिर हामीले न्याय, समानता र स्वतन्त्रताको माग गरेका न हौं । सबैखाले उत्पीडन, शोषण दमनको अन्त्य गर्न पो भनेका हौं ।

अर्बौं खर्च गरेर सरकारी सेनाले दुई/दुईवटा हेलिकोप्टर र जासुसी विमानबाट आक्रमण गरिरहँदा पनि हामी सकुशल थियौं । अर्थात् उनीहरुको लक्ष्य, उद्देश्य एक हात पर पनि सरेको थिएन । त्यसैले हवाई हमला र सम्भावित खतराका बीचमा पनि उनीहरुका लागि हामी ज्यादै मूल्यवान् र दुर्लभ हुन पाएकोमा गौरव गरिरहेका थियौं ।

हमलाको बेला हेलिकोप्टर र विमानबीच उनीहरु सेटमार्फत् नियमित कोर्डिनेशन र निर्देशन गरिरहेका हुन्थे । उनीहरुले सेटमा बोलेको कुरा हामीले एमएफ रेडियोमार्फत् सजिलै सुन्न सक्थ्यौं । उनीहरुबीचको कुराकानीले कतिखेर उनीहरुको आक्रमण र योजनाका बारेमा बुझ्न सहज हुन्थ्यो भने कतिखेर आतंकित तुल्याउँथ्यो ।

खुल्ला डाँडो वा गोठबाहिर निस्कियो कि जासुसी विमानबाट हेलिलाई निर्देशन दिइहाल्थ्यो । सायद उनीहरु मनोवैज्ञानिकरुपमा हामीलाई आतंकित पार्न पनि चाहन्थे । र, अनुमानकै भरमा भनिदिन्थे– ‘लौ, ऊ त्यो डाँडाको रातो घरमै मोर्टार खसाल्, ऊ परको घरको झुप्रोमै हान्दे, सालेहरु त्यहीभित्र बसेका छन्, त्यो घर्तीगाउँ जाने बाटोको जंगलमा लुकेका छन्, त्यतातिर आक्रमण गर्, त्यो बाँसको भ्mयाङमै हान, बाँस काटिरहेका छन् सालेहरुले, त्यही सिध्याइदे ।’ यस्तै–यस्तै ।

हुन पनि त्यतिबेला साथीहरु स्टे«चर बनाउन बाँसको झ्याङमा गएकै थिए । हामी पनि त घर्तीगाउँ जाने बाटोकै जंगलमा छिपेका थियौं । त्यसैले बेला–बेलामा उनीहरुको सेटमा बोलेका कुराले हामीलाई झस्काउँथ्यो । र, साँच्चिकै देख्यो कि भनेर सल्लाको फेद र बाक्लो झाडीतिर लुक्न बाध्य बनाउँथ्यो ।

हवाई हमलाको करीब दुई घण्टापछि केही साथीहरु घाइते भएको खबर आयो । र, साथीहरुलाई तत्काल अलि सुरक्षित स्थानतिर ल्याउनुपर्ने भयो ।

आकाशबाट आक्रमण जारी छ ।

घाइतेहरुलाई उपचार गर्न साथमा न त पर्याप्त औषधी र डाक्टरहरु छन् न त घाइतेलाई बोक्न स्टेचर वा अरु कुनै साधन नै ।

आक्रमणकै बीचमा रुखका बोटको कभर लिदै चार/पाँच जना लागेर खुल्ला ठाउँबाट एकजना घाइते जनसेनालाई बल्लतल्ल जंगलमा ल्याइपु¥यायौं ।

हृष्टपुष्ट, मोटो र अग्लो शरीर, ठूलो जीऊ भएका उनलाई चारजनाले बल्लतल्ल जंगलसम्म ल्याएका थियौं । उनको दायाँ खुट्टामा पछाडिपट्टीबाट गोली लागेको थियो । घाऊबाट रगत बगिरहेको थियो भने गोली पनि शरीरमै थियो ।

हेलिको आक्रमणबाट जोगिदै जंगलसम्म त आइयो तर उनलाई बोक्न हामीसँग स्टे«चर नै थिएन ।

त्यसपछि रुखका हाँगा भाँच्यौं, बोक्रा उतारेर डोरी बनायौं, सलले बेरेर अस्थायी स्ट्रेचर बनायौं र घाइतेलाई बोकेर जंगलको बीचबाट भीरभीरै उकालो लाग्यौं । त्यतिबेला फेरि हाम्रो हालत झनै हेर्नलायक बनेको थियो ।

एकातिर सरकारी सेनाको जासुसी विमानले देख्छ कि भन्ने डर, अर्कोतिर भीरमा खुट्टा फुत्किएला भन्ने डर । काँधमा घाइतेलाई बोकेको अप्ठ्यारो स्टे«चरको गह्रौं भारी । रुनलाई आँखाबाट आँसु र मुखबाट आवाजमात्र निस्किएन त्यतिखेर ।
हिउँदयामको चिसोमा पसिनाले लछप्पै भिजियो । उता घाइते साथीको क्रन्दन पनि कम पीडादायक थिएन ।

उनी भन्दै थिए– ‘कमरेडहरु मलाई एक्लै छोडेर नजानुहोला, ठूलो घाऊ छैन म बाँच्न सक्छु ।’

अप्ठ्यारो प¥यो भने जंगलमै फालेर जान्छन् कि भन्ने उनलाई डर थियो । र, धेरै रगत बग्यो भने घाइते जीन्दगी गुज्रिन पनि के को बेर ?

कतिबेला दृष्टिकभरमा त कतिबेला सल्लाको फेदमा घुस्रिदै, कतिबेला घाइतेलाई स्याउलाले छोपेर त कतिबेला रुखको छायामा लुक्दै एक घण्टाजति लाग्ने उकालोमा चार घण्टा लगाएर साँझ पाँच बजेतिर डाँडोनजिकै पुगियो ।

त्यतिञ्जेल पनि हवाई आक्रमण रोकिएको थिएन । हामी एकजना घाइतेसहित साथमा दश/बाह्रजना मात्रै थियौं । अरु साथीहरु कहाँ गए, कति सहिद भए, कति घाइते भए ? अहँ, कुनै पनि जानकारी थिएन ।

पूरै अनिश्चित, सन्त्रस्त र भयभीत थियौं हामी । लाग्थ्यो– ६/६ घण्टा लामो र भीषण हमलाले हाम्रा आधाजति साथीहरु त सहिद भइसके होलान् । कयौं घाइते भएर फिल्डमै छट्पटाइरहेका होलान् । र, रगतको खोला नै बगेको होला ।
हुन सक्छ, अब छिट्टै हाम्रो पनि पालो आउँदैछ ।

तर, त्यस्तो भएन ।

साँझ पर्न लाग्यो, हवाई हमला पनि बिस्तारै कम हुँदै गयो । अँध्यारो भएपछि हेलि फर्किने भएकोले हामी कतिबेला अँध्यारो होला भनी प्रतिक्षा गरिरहेका थियौं ।

सरकारी सेनाको घेराबन्दी र अप्रेशन जारी रहे पनि हेलि र विमान फर्किएपछि सम्भावित मृत्युको मुखबाट बचेर फर्किन पाएकोमा भने मन केही शान्त भएको थियो ।

झमक्क साँझ प¥यो । हामी घर्तीगाउँको लोसीवाङ झर्ने मुल बाटोकै छेऊमा थियौं । दिनभरको हवाई हमलामा दुई/चारजना पनि नदेखिएका सयौं साथीहरु जंगलबाट हुलका हुल निस्किन थाले ।

अँध्यारोमा दुम्लाभन्दा माथिको जंगलबाट लागेको लाइन लोसीवाङ पुग्दा पनि सकिएको थिएन । कोही बिरामी बोकेर, कोही आ–आप्mनो टीम र फर्मेशन खोज्दै यताउति गरिरहेका थिए ।

दिनभरको भीषण हवाई हमलाले त्रसित, भयभीत र सहयोद्धाहरुको सम्भावित बलिदानीको पीडाले सबै सशंकित थिए । सरकारी सेनाको आक्रमणमा हाम्रो कति क्षति भयो कसैले पनि भन्न सक्ने अवस्था थिएन ।

अँध्यारो रातले धर्ती सारा निलिसकेको थियो । अन्धकार रातसँगै हामी पनि सहयोद्धाहरुसँगको सम्भावित विछोडको पीडाले पिरोलिएका थियौं । र, एक अर्कामा पूरै बेखबर थियौं ।

तीन दिनपछि मात्र थाहा भयो । त्यो भयावह हवाई हमलामा तीन जना साथीहरुलाई गुमाएछौं भने आधा दर्जनजति घाइते हुनुभएछ ।

सरकारी पक्षले पछिसम्म सयौं ‘आतंककारी लडाकु’हरु मारिएको हुनसक्ने भन्दै प्रचारबाजी गरिरह्यो ।

पुस १८, २०६६ दाङ

Advertisements
Categories: यादहरु
  1. Anam
    March 19, 2010 at 2:55 am

    चिल्लो टेबलअघि बसेर युद्धमोर्चाका कथाहरु पढ्दै आफूलाई कथाको नायकसँग तुलना गरी रोमाञ्चित हुनु र टाउकैमाथिबाट बमगोला बषिर्रहेको भयावह परिवेशको बीचमा वास्तविक कथाको पात्र बन्नु । अहो Û पूरै आकाश पातालको फरक कुरा रहेछ । युद्धमोर्चा गफाडीले गफ लगाएजस्तो सजिलो कहाँ रहेछ र ? सुइकिदै आउने गोलीले टाउकैमाथिका रुखका पातहरु झार्दा, आफू उभिएको जमीनै थर्काएर मोर्टारहरु विष्फोट हुँदा……….??? साँच्चै, त्यतिबेला हाम्रो हालत हेर्नलायककै थियो । relly…….

  2. August 31, 2011 at 12:12 pm

    ya sahi ho….. I like it.

  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: