नमूना गाउँकी नमुना
जलजलाको आँगनमा बिहानको न्यानो घाम ताप्दै जनकम्यून पसलको ‘जलपी’ खाइरहँदा कसैले चिनाइदियो मलाई– ‘ऊ, उनै हुन् फुन्टीवाङ नमुनागाउँकी इन्चार्ज, सुमन्ती रोका ।
मगर भेषभुषामा थिइन् उनी । रातो चोली, लुङ्गी र गलामा लगाइएको हरियो पोतेले मगर संस्कृति र भेषभुषाको परिचय दिन्थ्यो । त्यतिञ्जेल जनकम्युन पसलको कुनामा बसेर उनी केही लेखिरहेकी थिइन् ।
०६५ जेठको एक बिहान– हामी थियौं रोल्पाको बहुचर्चित जलजला पहाडमा । उँचाई खैं कति थियो मलाई थाहा भएन । अवसर जुराइदिएको थियो जलजला पर्यटन महोत्सवले । नत्र हामी कहिले पो पर्यटक बन्थ्यौं र पुग्थ्यौं जलजला पहाड ।
अँ, सुमन्तीलाई देखेपछि मनमा खुल्दुली जाग्यो ।
युद्धकालमा राज्यसत्ताविरुद्धको लडाईमा प्रतिरोधी क्याम्पजस्तै बनेका यी नमुना गाउँहरु शान्तिकालसँगै के गरिरहेका होलान् ? जनकम्यून, नमुना विद्यालय र सहकारीहरु कसरी चलिरहेका होलान् ? के गर्दै होलान् ती सबै सबै गाउँ र मानिसहरु जसले नयाँ समाजको परिकल्पना गर्दा तत्कालिन राज्यबाट ‘आतंककारी’ र ‘आतंककारी अखडा’को सम्मान पाएका थिए ।
प्रश्नै प्रश्न र उत्सुकताले लखेटिएको यो मनुवालाई जलजलाको आँगनमा सुमन्तीसँगको भेटले थप उत्सकुता थपिदियो ।
‘फुन्टीवाङ बैठक’ माओवादी पार्टीको इतिहासमा चर्चाकै शिखरमा छ । माओवादी अध्यक्ष प्रचण्ड जनयुद्धको खाका कोर्न फुन्टीवाङ र त्यहीमाथिको जंगलमा दुइचार दिन बसेका थिए रे बयालिस, त्रिचालिस सालतिर । हो, त्यही फुन्टीवाङ नमुना गाउँकी इन्चार्ज सुमन्ती रोकालाई आज मैले भेटेको छु ।
के हुदैछ आजभोलि फुन्टीवाङमा ?
‘उत्पीडन मुक्त नमुना गाउँ हाम्रो पहिलो प्राथमिकता हो ।’–उनले सहज उत्तर दिइन् ।
अनेमसंघ क्रान्तिकारी र माओवादी पार्टीको पहलमा गठन गरिएको नमुनागाउँमा अहिले ८० घरधुरी रहेका छन् । नमुना गाउँमा फुन्टीवाङ र खेरवाङ पर्दोरहेछन् ।
नमूना गाउँमा सुमन्तीसँगै अरु ५ जना ‘होलटाइमर’ भएर नमुना गाउँमा खटिरहेका छन् । ‘पार्टीले हाम्रो कार्यक्षेत्र यही दिएको छ ।’
के गर्छन् उनीहरु नमुना गाउँमा ?
‘होलटाइमर’ सुमन्ती र उनका साथीहरु छुट्टै मेष चलाउदैनन् रे । ‘जहाँ कामको चाप पर्छ त्यही जान्छौं र काममा सघाउँछौं, सँगसँगै छलफल र अन्तरक्रिया पनि चलाउँछौं ।’ मासिक तथा अर्धमासिक रुपमा गाउँलेहरुसँगै उनीहरु नियमित समीक्षा तथा बैठक पनि बस्ने गर्दारहेछन् ।
के–के छन् त नमुनागाउँमा प्रगतिका कार्यहरु ?
‘हामीले नमुना गाउँ बनाइसक्यौं त्यो भनेका हैनौं, नमुना गाउँ निर्माण अभियानमा हाम्रो प्रयास जारी छ ।’ ‘विशेष गरी छोरासरह छोरीलाई अंश दिने कुरा लागू भैरहेको छ । सबैले सम्पत्तिमा इच्छापत्र दिइसकेका छन् । हामीले सरसफाई, खानेपानी, विद्युतजस्ता विकासका पूर्वाधारहरुतर्फ विशेष ध्यान दिएका छौं ।’
उनी धाराप्रवाह भन्दै थिइन्– ‘महिला मोर्चा र पार्टीको विशेष पहल अनि स्थानीय जनताको सक्रिय सहभागितामा ४ किलोवाट विद्युत् उत्पादन भएको छ । घर–घर चर्पी र गाउँको बीच बीचमा धाराहरु निर्माण गरिएका छन् । समुदायमा सामुहिकता र सहयोगी भावनाको तीव्र विकास भएको छ ।’
विकास निर्माणले मानिसको जीवनमा केही परिवर्तन गरेपनि आर्थिक, साँस्कृतिक र सामाजिक पुनर्संरचनाका लागि मुख्य कुरा राजनीतिक÷वैचारिक चेतना भएको बताउँछिन् सुमन्ती ।
२४ वर्षको कलिलो उमेरमै उनले नमुनागाउँको जिम्मेवारी सम्हालेकी छिन् । पार्टी र महिला मोर्चाले उनलाई त्यही खटाएको छ । उनी अहिले महिला मोर्चाको मगराँत राज्यसमिति सदस्यका साथै थवाङ नमुना गाउँ उपभोक्ता समितिकी कोषाध्यक्ष पनि रहेकी छिन् । उनकी आमा चेतन बुढा–४९, अजम्बरी जनकम्युनमा हुनुहुन्छ ।
जीवनका मोड र युद्धको पीडा
झट्ट हेर्दा सरल, शान्त र नरम देखिने सुमन्तीभित्र पीडा, आक्रोश र विद्रोहको महासागर नै उर्लिएको छ । जीन्दगीका थुप्रै–थुप्रै रहर र चाहनाहरुलाई थाती राखेर उनी क्रान्तियात्रामा होमिएकी छिन् । तर, क्रान्तिमा सबै–सबैको जस्तो उनको जीन्दगी त्यति सीधा, सरल र सहज गोरेटोमा हुइकिएको गाडीजस्तो छैन । आरोह, अवरोह, घुम्ती र मोडहरुमा थुप्रै–थुप्रै कठिनाईका पहाडहरु चढ्दै, आँसु, पसिना र रगतको भेलसँगै उनी अझैं क्रान्तिप्रतिको निष्ठा र विश्वासमा बाँचिरहेकी छिन् ।
१४ वर्षकी बालिका पहिलो पटक थवाङबाट प्यूठानतिर लागिन् ०५६ सालमा, संयुक्त संघर्ष समितिको अभियानमा । सायद जीवनमै उनको यो पहिलो अनुभूति थियो होला जिल्ला बाहिर निस्किएको । त्यतिबेलादेखि नै ‘होलटाइमर’ भएकी सुमन्तीका ९ वर्षे क्रान्तियात्राका दिनहरु भारी उथलपुथल, पीडा, आक्रोश र आँसु हाँसोको बीचमा गुज्रिदै अघि बढे ।
‘विद्यार्थी संगठनमा काम गर्दै पढे । ९ पास गरिसकेपछि क्रान्तिको आवश्यकताले पढाइलाई अघि बढाउन सकिएन ।’ ०५७ सालतिर जनध्वनी साँस्कृतिक अभियानमा उनी फेरि प्यूठान गइन् कलाकार भएर । त्यतिबेला उनी जलजला परिवारमा थिइन् ।
स्कुले केटाकेटी हुँदादेखिकै देखाभेट, क्रान्तियात्रामा हिडिसकेपछि नजिकिएको भावनात्मक सम्बन्ध र एकनिष्ठ प्रेम मौलाएपछि थवाङकै दर्शन घर्ती ‘विपीन’सँग ०५९ साउन २३ गते वैवाहिक जीवनमा जोडिए उनीहरु । युद्धमोर्चामा दुश्मनसँग लुकामारी खेल्दै जाँदा जो कोही जुनबेला जहाँ पनि ढल्न सकिन्छ भन्ने कुरा थाहा त थियो उनीहरुलाई । तर, जीवनका अनगिन्ती दुःख, कष्ट र रहरहरुसँगै वैवाहिक जीवनमा जोडिएको एकमहिना पुग्दा नपुग्दै जीवनसंगीलाई गुमाउनु पर्ला भन्ने कसले पो सोचेको हुँदो हो र ? तर, त्यही भयो सुमन्तीको जीवनमा ।
‘युद्धको कठोरताभित्र आखिर जस्तोसुकै पीडा र कठिनाई पनि पचाउनु पर्दारहेछ ।’ ‘विवाह भएको दुईचार दिनमै हामी छुट्टियौं । ०५९ भदौ २३ गते अर्घाखाँची सदरमुकाम सन्धीखर्कमा आक्रमण भयो । त्यतिबेला म पनि स्वयंसेवकको रुपमा कार्वाहीमा सहभागी भएकी थिए ।’ लामो सास फेरिन् उनले । ‘एउटै कार्वाहीमा भएपनि हाम्रो भेट भएको थिएन । कार्वाहीपछि फर्कदै गर्दा २४ गते रत्नमारे भिडण्तमा उहाँको शहादत भएछ ।’
कुराकानीको शुरुवात गर्दा उनको अनुहारमा देखिएको लजालुपन अहिले रत्ति पनि थिएन, बरु जीवनसंगीलाई युद्धमोर्चामा छोडेर फर्किनुपर्दाको असह्य पीडा र वर्गशत्रुप्रतिको तीव्र आक्रोश पोखिएको थियो ।
अघिल्लो दिन शहादत भएपनि भोलिपल्ट साँझमात्र उनले यथार्थ खबर पाइन् । ‘जीवनसंगी गुमाउनुपर्दाको त्यो क्षण मेरो लागि जीवनकै सबैभन्दा पीडादायी र बिर्सनै नसकिने क्षण बनेको छ । बिर्सन खोज्दा पनि कहाँ हुदोरहेछ र झनै झल्झली तिनै दिनको याद आउँछ ।’ उनी पिडाको महासागरमा हराइसकेकी थिइन् । लाग्थ्यो, सायद उनी अहिले जलजलामा छैनन् बरु दुश्मनको चौतर्फी घेराबन्दी र मोर्चाबद्ध युद्धस्थल रत्नमारेमै उभिएकी छिन् र सहयात्री फर्कने बाटो कुरिरहेकी छिन् ।
जब सूर्य ढल्किदै पश्चिमी क्षितिजतिर ओरालो लाग्छ र गोधुली साँझको लालीले पश्चिम आकाश रातो–रातो देखिन थाल्छ, एउटा गहिरो पीडाले मन भारी भएर आउँछ र अथाह पीडाको महासागर छचल्किन्छ उनको आँखामा । अनि रोक्न खोज्दा खोज्दै ताता–ताता आँसुका थोपाहरु गाला हुँदै तपतप भुईमा खस्न थाल्छन् । गोधुली साँझ, उनका लागि जीवनमा बिर्सनै नसकिने गहिरो पीडादायी स्मृति बनेको छ ।
‘लडाई हो यसै भन्न सकिन्न, हामी जतिबेला पनि दुश्मनको पञ्जामा पर्नसक्छौं या मोर्चामा लड्दालड्दै शहीद हुन सक्छौं तर बाँचेकाले ढलेकाको बाँकी अभिभारा पूरा गर्नुपर्छ ।’ यही सपथ खाएका थिए दुवैजनाले वैवाहिक समारोहमा । विवाह समारोहमा खाएको कसम साँच्चिकै यथार्थतामा परिणत भयो । युद्धमोर्चामा बाँकी अभिभारा उनको जिम्मामा सुम्पिएर विपिन इतिहासको पानामा मात्रै बाँकी रहे ।
‘विवाह भएपनि हामी नजिकबाट छलफल र भलाकुसारी गर्ने अवसर नै पाएका थिएनौं । यहाँसम्म कि उहाँ फर्मेशनमा सेक्सन भिसी हुनुहुन्थ्यो भन्ने कुरा शहादतपछि अरु साथीहरुबाट थाहा पाएँ ।’
समय फेरिएको छ, सँगसँगै मौसम र हावापानी पनि फेरिएको छ । युद्धकालमा जस्तो अहिले थवाङमा जनमुक्ति सेनाको लावालस्कर देखिदैन् । फुन्टीवाङ, लावाङ, भेडीडाँडा र थवाङका गोठहरु अहिले सुनसान प्रायः देखिन्छन् । आजभोलि ‘सेल्टर’ र ‘मेष’हरु पनि प्रायःजसो भेटिदैनन् । कुनैबेला अति नै व्यस्त हुने यी गाउँवस्ती र पाखापखेरी अनि जंगलहरु अहिले सुनसान देखिदा कता–कता मन पिरो पिरो भएर आउँछ । तर, जीन्दगीका सबै–सबै खुसीहरु पार्टी, क्रान्ति र देशको मुक्तिका लागि सुम्पिएकी उनी पार्टी र नेतृत्वप्रति विश्वस्त छिन् ।
पत्रपत्रिकाहरुमा पार्टीका शीर्ष नेताहरुका बारेमा विभिन्न टिकाटिप्पणी र विवादित कुराहरु आउँदा उनलाई साह्रै चिन्ताले सताउन थाल्छ । ‘कतै पार्टी फुट्ने हो कि, गरिब जनताको मुक्तिको चाहना र शहीदका उच्च सपनाहरु कतै बाटोमै हराउने हुन् कि ?’ फेरी लामो सास फेरिन् उनले ।
सानै छँदा बाबाले छोडे, जवानीमा जीवनसाथीको शहादत भयो, घरपरिवार सबै सबै भताभुङ्ग भयो तर जीन्दगीको यो लामो यात्रामा उनी निरास छैनन् बरु झनै दुःख, पीडा र कठिनाईका पहाडहरुमा थप आँट र जोशकासाथ निरन्तर यात्रारत् छिन् । साथमा सिङ्गो पार्टी छ त्यसैमा उनी गर्व गर्छिन् ।
उनलाई विश्वास छ– ‘थवाङको काखमा शहीदका बाआमा र आफन्तजनसँग मुक्ति र परिवर्तनका निम्ति जस्तोसुकै मूल्य चुकाउनुपरे पनि कही कतै झुक्दै नझुक्ने कसम खाएका पार्टी नेतृत्वले जनता र आन्दोलनलाई कदापी धोका दिने छैनन् । शहीदको रातो रगत र सुन्दर संसार निर्माण गर्ने महान् सपना उनीहरुले भुल्ने छैनन् ।’
आधा घण्टाको छोटो समयभित्र थोरै लजालु, धाराप्रवाह अभिव्यक्ति शैली र शालिन स्वभावकी धनी सुमन्तीसँग उनका जीवनका सबै– सबै उकाली, ओराली, घुम्तीमोड र भञ्ज्याङसम्म पुग्न त सकिएन नै । र पनि उनको क्रान्ति र मुक्तिप्रतिको निष्ठा, त्याग, बलिदान, समर्पण र दृढ प्रतिवद्धता एवं गहिरो चिन्ताले पटक–पटक घच्घच्याइरह्यो ।
जलजलाको आँगनमा पहिलो पटक भेटिएकी सुमन्तीसँग छुट्टिएर हामी थवाङतिर ओरालो लाग्यौं । माथि धरमपानीको लेकबाट हुस्सु र कुहिरो पनि ओरालो झर्दै थियो ।
२०६५ जेठ २९, दाङ

padhna na paye ni herna paye. padhera comment garchhu hai.