दुनियाँको तेस्रो आँखा बन्न सकोस्
सबैभन्दा पहिला गणतन्त्र दैनिकले पाँच वर्षको यात्रा पूरा गरी छ वर्षको यात्रा शुरु गरेकोप्रति खुसी व्यक्त गर्दै अबको यात्रा अझैं सिर्जनशील, रचनात्मक एवम् पत्रकारिताको मूल्यमान्यता र आदर्शमा झनै प्रतिबद्ध बन्दै अघि बढोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
अब त हाम्रो ओठमै झुण्डिसक्यो– ‘समय कति चाँडै बित्दोरहेछ ।’ खासमा बित्ने समय होइन, बित्ने त हामी आफै होइन र ? खैर, यो बहसलाई यतै छोडौं । मैले गणतन्त्र दैनिक प्रकाशन आरम्भका दिन र अहिलेको समयलाई नाप्दै गर्दा यस्सो गफ दिएको मात्रै ।
मलाई पनि भर्खरजस्तै लाग्छ तर पाँच वर्ष त यसैत्यसै गुज्रिसकेको रहेछ ।
पत्रिका प्रकाशनको योजना, तयारी र जन्मका विषयमा मलाई ‘त्यति’ थाहा छैन । सम्झना छ– शहीदगेट मुन्तिर झोलामा केही डकुमेन्ट बोकेर प्रशासन कार्यालयतिर जाँदै गरेका एमाले पूर्वनेता हस्तबहादुर केसीले भनेका थिए– ‘कमरेड, दाङबाट अब अर्को दैनिक पनि निस्किने भो, गणतन्त्रको स्थापनासँगै हामीले गणतन्त्र दैनिक निकाल्ने तयारी गर्दैछौं ।’
त्यसपछिका यी झण्डै छ वर्षका बीचमा मैले नियमित गणतन्त्र दैनिक देखिरहेको छु । खैर, त्यतिबेला प्रकाशनका लागि डकुमेन्ट बोक्ने हस्त कमरेडदेखि अहिलेको गणतन्त्र प्रकाशनको जिम्मा लिएको टोलीसम्म आइपुग्दा बीचमा दुईपटक नै सायद टोली बदलिसकेको छ । तर, गणतन्त्र दैनिकको मूल स्प्रीड, उद्देश्य र वैचारिक आस्थामा ‘त्यति’ फरक भएको छैन । यसको प्रकाशन योजना, उद्देश्य र निदृष्ट गन्तव्यतर्फ ऊ हिजोजत्तिकै आज पनि क्रियाशील र प्रतिबद्ध छ ।
मैले यहाँ केही धृष्टता गर्दैछु– पत्रिकाको समीक्षात्मक टिप्पणी गर्न । खासमा यो मैले गर्न खोजेको होइन, गर्न लगाइएको भने पक्कै हो । पाँच वर्ष (पाँच वर्ष भन्नु कम्ति हो र ?) पूरा गरिसकेको पत्रिकाको समीक्षा गर्नु ! जे होस्, मैले पत्रिकाको पाठक हुनुको नाताले केही टिप्पणी गरुँला !
हामी सबैले जानी आएको कुरा हो– हरेक वस्तुभित्र दुवै पाटा हुन्छन्– राम्रो–नराम्रो, उज्यालो–अँध्यारो, सकारात्मक–नकारात्मक । मैले यो छोटो टिप्पणीमा राम्रो पक्षको चर्चा, परिचर्चा गरेर पत्रिकाको धेरै स्पेस लिनुभन्दा केही समस्याका विषयहरुलाई सामान्य कोट्याउँछु । मेरो भनाइ राम्रा विषयको चर्चा नै गर्नुहुन्न भन्ने होइन, राम्रा पक्षहरुको विजय भएर नै जुनसुकै संस्था जिवित रहन सक्छ ।
मैले भन्न खोजेको वर्षमा एकपल्ट गर्न थालेको पत्रिकाको समीक्षाको केन्द्र कमीकमजोरी र नकारात्मक पक्षहरुको खोजविन गर्ने र ती कमीकमजोरीप्रति निर्मम बन्दै अबका दिनमा ती कमीकमजोरीहरु नदोहो¥याउने प्रतिबद्धता गर्नुपर्छ भन्ने हो ।
हुन त हामी (पत्रकार) आफै पनि विभाजित छौं । एउटै वस्तुलाई पनि दुइटा देख्छौं वा पत्रकारिताकै भाषामा भनुँ– फरक–फरक एंगलले देख्छौं, फरक–फरक तरिकाले विश्लेषण गर्छौं । (कहिलेकाँही विश्लेषण गर्दागर्दै यथार्थताभन्दा निकै टाढा पनि पुगिन्छ ।) कहिलेकाँही अलिअलि फुर्का जोड्छौं त कहिलेकाँही केही फुर्काफुर्की गुमनाम पनि पारिदिन्छौं । (यस्तै भएर हो कि अहिले समाजले हामीमाथि पनि औंला ठड्याउन थालेको छ ।) कतिपय प्रसंगमा गणतन्त्र दैनिकका मैले देखेका कमीकमजोरीहरु यसको प्रकाशन पक्षले कमजोरीको रुपमा नलिन पनि सक्छ वा मैले मिथ्या आरोप लगाएको भन्न पनि सक्छ ।
अब पत्रिका स्वतन्त्र र निष्पक्ष भएन, कतै न कतै राजनीतिबाट प्रभावित भयो भनेर म आफैले भन्न कति सुहाउँला ? म आफै पनि त्यस्तै रोगबाट ग्रस्त पो छु कि ! जहाँसम्म पत्रकारिताको मूल्यमान्यता र आदर्शको कुरा छ, त्यसमा गणतन्त्र दैनिक सतप्रतिशत खरो उत्रिएको छ, कहिकतै खोट छैन भनेर मैले भन्न सक्दिन । काम गर्दै जाने क्रममा कहिँ न कहिँ त्रुटी अवश्य हुन्छन् नै ।
कतिपय घटनाविशेष अवस्थामा जानेर वा नजानेर पत्रकारिताको धर्म र आदर्शबाट अलिकति तलमाथि चिप्लिएको मैले महसुस गरेको छु । अगाडि नै उल्लेख गरिसकेको छु– मैले कमजोरी हो भन्ने ठानेका विषयवस्तु पत्रिकालाई ‘ठीक गरिरहेको’ लाग्न पनि सक्छ ।
इमान्दारिताका साथ भन्ने हो भने हामी कतै राजनीतिबाट, कतै व्यक्तिगत सम्बन्धबाट, कतै आर्थिक लाभ, कतै सामाजिक प्रतिष्ठा (चर्चा/गुणगान) र कहिलेकाँही आफ्नो भन्नेबाट प्रभावित भइरहेका हुन्छौं । त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर पत्रिकामा पनि देखिरहेको हुन्छ ।
पत्रकारिताको आदर्शको कुरा गरिरहँदा मलाई दाङको हकमा सधैं अभावको महशुस हुने विषय हो– हाम्रा पत्रपत्रिका/सञ्चारमाध्यमहरुको समीक्षा नहुनु । हामी पत्रकार कहलिएका छौं, पत्रिकामा समाचार, विचार, साहित्य…भाषण, राशीफल के–के छाप्छौं र दुनियाँलाई पढाउँछौं । लाग्छ– हामी नै सबैथोक हौं विद्वान नै वा छन् भने भगवान् नै । तर, हामी आफूले गरेको कामको समीक्षा गर्दैनौं ।
बरु उल्टै घोषणा गरिदिन्छौं– जे गरिरहेका छौं ठीक गरिरहेका छौं, कहि कतै खोट छैन । कसैले हाम्रो काममा शंका व्यक्त ग¥यो वा प्रश्नचिन्ह उठायो भने हामी दशथरि तर्क (कुतर्क) गरेर ‘पत्रकारिताको पावर’ देखाउन थाल्छौं । मैले यहाँ भन्न खोजेको दाङका सञ्चारमाध्यम विशेषगरि पत्रपत्रिकाहरुको निर्ममतापूर्वक समीक्षा हुन जरुरी छ ।
गणतन्त्र दैनिकको कुरा गर्दा पाँच वर्षको बीचमा सबल पक्षहरुको विजयले नै अहिलेसम्म मैले यसका बारेमा टिप्पणी गर्न पाइरहेको छु । सबल पक्षहरुसँगै दुर्बल पक्षले पनि लखेटिरहेको हुन्छ सँगसँगै ।
पत्रिकाको मूल मर्म भनेको उसले पस्किने खुराक नै हो । मैले शुरुमै कोट्याएको थिएँ– गणतन्त्र दैनिक जुन लक्ष्य, उद्देश्य र योजनाका साथ प्रकाशन शुरु ग¥यो, त्यसमा ऊ प्रतिबद्ध छ । त्यसैले यसले आफ्ना लक्षित पाठकहरुमाझ राम्रै खुराक पस्किरहेको छ । (अब त्यो खुराक सबैलाई राम्रै लाग्छ भन्ने छैन ।)
सुन्दर र आकर्षक वस्तुमाथि जसका आँखा पनि टक्क रोकिन्छन् । त्यसैले पत्रिकालाई लोभलाग्दो बनाउन त्यसको साजसज्जामा ख्याल गर्नैपर्दछ । त्यस्तै, संसारभर अंग्रेजी भाषाको साम्राज्य बढिरहेको बेला नेपाली भाषा जोगाउनु उत्तिकै कठीन कुरा हो । त्यसैले साजसज्जा र भाषाको क्षेत्रमा अझैं केही मेहनत गर्नुपर्ने हो कि ? हुन त सबै पत्रिकाको आ–आफ्नै सम्पादकीय नीति हुन्छ । त्यसले पत्रिकालाई कस्तो बनाउने भन्ने कुराको निर्धारण गर्छ ।
तर, साजसज्जा र भाषा बिगार्नुपर्छ भन्ने सायद कसैको स्टाइल बुकमा हुँदैन ।
विज्ञापन पत्रिकाको मेरुदण्ड नै हो । तर, कहिलेकाँही मेरुदण्डले गर्दनमाथिको छालै च्यात्ने गरी बाहिर निस्किन खोजेको भान हुन्छ । मेरुदण्ड रहने निश्चित ठाउँ छ, त्यसलाई आफ्नै ठाउँमा रहन दिने कि ?
अन्त्यमा, दिनप्रतिदिन सञ्चारमाध्यमहरु बढिरहेको र बजार (विज्ञापन) साँघुरो बनिरहेको अहिलेको अवस्थामा गणतन्त्र दैनिकले आफ्नो व्यवस्थापन कसरी गरिरहेको छ, त्यो म जान्दिनँ । समस्याहरु पनि विकराल होलान्, सायद समाधान पनि सहजै भइरहेको छ र त अहिलेसम्म जो आइरहेको छ ।
भनिन्छ– ‘पत्रकारिता समाजसेवा हो, पत्रकार दुनियाँको तेस्रो आँखा हो ।’ खैर, त्यस्तो समाजसेवा र तेस्रो आँखा हामी बन्न सकिरहेका छौं कि छैनौं, अझैं समीक्षा गरौं । निश्चय नै आफू भोको रहेर समाजसेवा गर्न पनि सकिदैन र आफूले संसार नदेखेर अरुको तेस्रो आँखा बन्न सकिदैन । त्यसैले पत्रिकाले आफ्ना प्रत्येक पाटपूर्जा (कर्मचारी/पत्रकार) हरुलाई भोको नराखोस् । साथै पहिले संसारलाई राम्रोसँग देखेर मात्र दुनियाँको तेस्रो आँखा बन्ने प्रयास गरोस्, फेरि पनि छैठौं वर्ष प्रवेशको अवसरमा शुभकामना ।
दाङबाट प्रकाशन भइरहेको गणतन्त्र दैनिकको छैठौं वार्षिकोत्सवका अवसरमा लेखिएको गन्थन । जुन उसले (गणतन्त्र दैनिक)ले विशेषांक भनेर छापेको थियो २०६९ पुस १६ गते ।
” हामी पत्रकार कहलिएका छौं, पत्रिकामा समाचार, विचार, साहित्य…भाषण, राशीफल के–के छाप्छौं र दुनियाँलाई पढाउँछौं । लाग्छ– हामी नै सबैथोक हौं विद्वान नै वा छन् भने भगवान् नै । तर, हामी आफूले गरेको कामको समीक्षा गर्दैनौं ।”
ठीक लेख्नुभयो डिल्लीजी, पत्रकारहरुको पनि निगरानी र उनीहरुको कामको मूल्याङ्कन/समीक्षा हुनुपर्दछ ।