सतिसालजस्तै जनकवि नेत्रलाल
आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडिमा
एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामा–लामा कुरा गर्न सक्छ
तर, मेरा मित्र
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडिमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसालमात्र ठिङ्ग उभिन सक्छ ।
माथि उल्लिखित हरफहरु दाङमा जन्मिनुभएका जनकवि स्व. नेत्रलाल अभागीको ‘सतिसाल मात्र ठिङ्ग उभिन सक्छ’ शीर्षकको कविताका हरफहरु हुन् । ३० को दशकअघि नै जनकवि अभागीले लेख्नुभएको यो कविताको सान्दर्भिकता अहिले उहाँको २९औं स्मृति दिवस मनाइरहँदा झनै बढेको छ ।
४१ वर्षकै उमेरमा २०४२ सालमा ‘रहस्यमय मृत्यु’को शिकार हुनुभएका अभागी अहिले पनि यहाँका साहित्यकार र पाठकहरुका मनमनमा शब्द र कर्ममा एकरुपता भएका आदर्श कविका रुपमा रहनुभएको छ । Read more…
नमूना गाउँकी नमुना
जलजलाको आँगनमा बिहानको न्यानो घाम ताप्दै जनकम्यून पसलको ‘जलपी’ खाइरहँदा कसैले चिनाइदियो मलाई– ‘ऊ, उनै हुन् फुन्टीवाङ नमुनागाउँकी इन्चार्ज, सुमन्ती रोका ।
मगर भेषभुषामा थिइन् उनी । रातो चोली, लुङ्गी र गलामा लगाइएको हरियो पोतेले मगर संस्कृति र भेषभुषाको परिचय दिन्थ्यो । त्यतिञ्जेल जनकम्युन पसलको कुनामा बसेर उनी केही लेखिरहेकी थिइन् ।
०६५ जेठको एक बिहान– हामी थियौं रोल्पाको बहुचर्चित जलजला पहाडमा । उँचाई खैं कति थियो मलाई थाहा भएन । अवसर जुराइदिएको थियो जलजला पर्यटन महोत्सवले । नत्र हामी कहिले पो पर्यटक बन्थ्यौं र पुग्थ्यौं जलजला पहाड ।
अँ, सुमन्तीलाई देखेपछि मनमा खुल्दुली जाग्यो ।
युद्धकालमा राज्यसत्ताविरुद्धको लडाईमा प्रतिरोधी क्याम्पजस्तै बनेका यी नमुना गाउँहरु शान्तिकालसँगै के गरिरहेका होलान् ? जनकम्यून, नमुना विद्यालय र सहकारीहरु कसरी चलिरहेका होलान् ? के गर्दै होलान् ती सबै सबै गाउँ र मानिसहरु जसले नयाँ समाजको परिकल्पना गर्दा तत्कालिन राज्यबाट ‘आतंककारी’ र ‘आतंककारी अखडा’को सम्मान पाएका थिए ।
प्रश्नै प्रश्न र उत्सुकताले लखेटिएको यो मनुवालाई जलजलाको आँगनमा सुमन्तीसँगको भेटले थप उत्सकुता थपिदियो । Read more…
बेपत्ता कहिलेसम्म ?
पैसा कमाउन कालापार (भारत) छिरेको कान्छो छोरा रामबहादुर गिरी काग तिहारको दिन टुप्लुक्क घर आइपुग्दा ऐभान र नन्दकली कम्ती खुसी थिएनन् तर त्यो खुसी त्यति छिट्टै लुटिन्छ भन्ने उनीहरुलाई के थाहा ? यथार्थमा त्यही भयो जुन उनीहरुले कल्पनासमेत गरेका थिएनन् ।
लक्ष्मीपूजाको मध्यरात ! ओछ्यानमा सुतिरहेको छोरालाई आँखै अगाडिबाट लछारपछार पार्दै लगेको हिजोजस्तै लाग्छ रे ऐभान र नन्दकली गिरीलाई । तर, पूरै दशक बितिसक्यो । मध्यरातमा पुलिसले कुट्दै लगेको छोरा अझै फर्किएको छैन, सायद अब ऊ कहिल्यै फर्किने छैन ।
‘सप्तरेखी (सप्तर्षी तारामण्डल) पश्चिमतिर ढल्किसकेका थिए, चारजना मुखमा पट्टि बाँधेका काँग्रेसका मान्छेसहित आएका पुलिसले कान्छालाई बाघले बाख्रालाई झम्टेझैं गरी लगे । त्यतिखेर उसको शरिरमा कट्टु र गञ्जीमात्रै थियो, चप्पल लगाउनै दिएनन् दुष्टहरुले । त्यसपछि ऊ कहिल्यै आएन, कहाँ लगे, के गरे अहँ केही पनि थाहा भएन ।’ सातदशक पार गरिसकेका ऐभान विगत पाँच वर्षदेखि बाहीरी संसार त देख्न सक्तैनन् तर १४ वर्ष अघिको त्यो क्रुर दृश्य भने अझैं पनि झल्झल्ती देखिने बताउँछन् ।
०५५ सालको तिहार दुनियाँका लागि खुसी र रमाइलोको संगम बन्यो होला तर सल्यानको कालागाउँ गाविस–१ खरखरेनाका ऐभानको परिवारमा त्यो खुसीयाली छाउन सकेन । झारपातसमेत माओवादी देख्ने तत्कालिन पुलिस प्रशासनले ‘माओवादी’को आरोपमा दुई दिनअघि कालापारबाट घर आएका रामबहादुर गिरीलाई मध्यरातमा गिरफ्तार गरी गुमनाम पा¥यो । ०५५ कार्तिक १४ गतेको राती स्थानीय कांग्रेस कार्यकर्ताहरुको उक्साहटमा इलाका प्रहरी कार्यालय रागेचौरबाट गएको प्रहरीले गिरप्तार गरी बेपत्ता बनायो । Read more…
दुनियाँको तेस्रो आँखा बन्न सकोस्
सबैभन्दा पहिला गणतन्त्र दैनिकले पाँच वर्षको यात्रा पूरा गरी छ वर्षको यात्रा शुरु गरेकोप्रति खुसी व्यक्त गर्दै अबको यात्रा अझैं सिर्जनशील, रचनात्मक एवम् पत्रकारिताको मूल्यमान्यता र आदर्शमा झनै प्रतिबद्ध बन्दै अघि बढोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
अब त हाम्रो ओठमै झुण्डिसक्यो– ‘समय कति चाँडै बित्दोरहेछ ।’ खासमा बित्ने समय होइन, बित्ने त हामी आफै होइन र ? खैर, यो बहसलाई यतै छोडौं । मैले गणतन्त्र दैनिक प्रकाशन आरम्भका दिन र अहिलेको समयलाई नाप्दै गर्दा यस्सो गफ दिएको मात्रै ।
मलाई पनि भर्खरजस्तै लाग्छ तर पाँच वर्ष त यसैत्यसै गुज्रिसकेको रहेछ ।
पत्रिका प्रकाशनको योजना, तयारी र जन्मका विषयमा मलाई ‘त्यति’ थाहा छैन । सम्झना छ– शहीदगेट मुन्तिर झोलामा केही डकुमेन्ट बोकेर प्रशासन कार्यालयतिर जाँदै गरेका एमाले पूर्वनेता हस्तबहादुर केसीले भनेका थिए– ‘कमरेड, दाङबाट अब अर्को दैनिक पनि निस्किने भो, गणतन्त्रको स्थापनासँगै हामीले गणतन्त्र दैनिक निकाल्ने तयारी गर्दैछौं ।’ Read more…
‘अब कोही टुहुरा हुनु नपरोस्’
बाबाको माया खै कस्तो हुन्छ सुर्खेतकी शान्ति सुनारलाई थाहै छैन रे । भर्खर आठ वर्षकी मात्र भएकी उनले बाबालाई देखेकै छैनन् ।
शान्ति जन्मिएको वर्षदिन नपुग्दै उनका बाबा मारिइसकेका थिए– जनयुद्धमा । तर, उनी अझैं बाबाले ल्याइदिएको कुर्ता सुरुवाल लगाउने आशा साँचेर बसेकी छिन् ।
अबोध शान्तिलाई थाहै छैन बाबा अब कहिल्यै आउने छैनन् र कुर्ता सुरुवाल पनि ल्याउने छैनन् ।
दाङको मानपुर–७ बनकट्टीस्थित सहिद स्मृति विद्यालयमा दुई कक्षामा पढिरहेकी शान्तिले भनिन्– ‘मम्मीले भन्नुभएको, म ठूलो भएपछि बाबाले मलाई कुर्तासुरुवाल ल्याइदिनुहुन्छ रे । तर, मम्मी पनि कस्तो–कस्तो ? बाबा कहाँ हुनुहुन्छ भनी सोध्दा चुप्प लागिरहनुहुन्छ ।’
शान्तिलाई सहिद भनेको के हो थाहा छैन तर साथीहरु कसैले बाबा, कसैले आमा, कसैले दाइ त कसैले दिदी सहिद भएको सुनाउँदा उनी आफ्नो बाबा पनि सहिद नै होला भन्ने अनुमान गर्न थालेकी छिन् । Read more…
बबुरा हामी पत्रकार !
‘लमहीसम्म जाने कति जना हुनुहुन्छ ?’
‘चार/पाँच जना’
‘त्यसो भए तपाइहरु अलि परसम्म हिड्दै गर्नुस् ।’
ट्राफिक बीटनेर उभिएर गाडी कुरिरहेका हामीलाई दाङ–काठमाडौं रात्री बसका सह–चालकले ग्रिन सिग्नल देखाए ।
हामीलाई जानु थियो नेपालगञ्ज– अनलाइन मिडिया तथा संविधान निर्माणको सवालसम्बन्धी दुइ दिने कार्यशालामा । दाङबाट थियौं साथी नरेन्द्र केसी र म । रोल्पाली नवीन लोचन मगर पनि हामीलाई भेट्न आइपुगेका थिए घोराहीमै ।
हिउँदयामका दिन न परे, घडिमा छ नबज्दै अँध्यारो भइसकेको थियो । हामी भने साढे छ बजे घोराहीको ट्राफिकचोकमा गाडी कुरिरहेका थियौं नेपालगञ्ज जाने । साँझ पाँच बजेपछि घोराहीबाट नेपालगञ्ज जाने गाडी नपाइदो रहेनछ ।
ट्राफिक प्रहरी भन्दै थिए– लमहीसम्म अरु गाडीमा जानुस्, त्यसपछि पश्चिमतिर जाने जति नि पाइन्छन् । Read more…
मनु पनि हामीजस्तै मनुवा हुन् ?
कुन कविता हो ? मलाई था छैन । कविताको शीर्षक मुन्तिर लेखिएको थियो- मनु मञ्जिल ।
कुवाका भ्यागुताहरुलाई कुवा नै सबै संसार लाग्छ रे, त्यो भन्दा बाहिर संसारै छैन होला झैं । र, जोड–जोडले कराउँछन् रे भ्यागुताहरु– संसारमै हाम्रोजति ठूलो र राम्रो स्वर अरु कसैको छैन भन्दै ।
दुई/चार महिनादेखि किन–किन मन भड्किरहेको छ मेरो । लाग्छ– हामी पनि कतै मान्छेरुपी कुवाका भ्यागुता त होइनौं ? साँच्ची ! हामी किन कुवामै रमाइरहेका हँ ?
अँ, मैले कुरा गर्दै थिएँ– कवि मनु मञ्जिलका । अस्ति भर्खरैमात्र हो– भदौ २९ र ३० गते । मैले कविताको शीर्षकमुन्तिर देखेका विराटनगरका मनु आफ्नो ६ फीट अग्लो (सायद) ज्यानसहित हाजिर भएका थिए दाङमा । पहिलोपटक दाङमा उनलाई स्वागत त के भनौं ? भेट्न पाउँदा मन चंगा भयो । खैर, उनी भन्दै थिए– दाङमा म दोस्रोपटक पाइला टेक्दैछु । झण्डै बीस वर्षपहिले उनी दाङ आएका रै’छन्– खै के ऐनमौकामा आए त्यो सोध्न सकिनँ ।
जेहोस्, मदानी साहित्य समूह नेपालले निम्त्यायो, उनी दाङ आए– साथमा थिए विराटनगरका कवि भिखारी र नाट्यकर्मी सोनु । परिचय गराउँदै मनुले भने– विराटनगरका भिखारी त यस्ता छन्, अरु कस्ता होलान् । दाङको घोराहीस्थित मधुवन होटेलको सानो सभाहलजस्तै कोठामा त्यस्तै १२/१५ जना दाङ र आसपासका पहाडी इलाकाबासी साहित्यकार भई टोपलेका मनुवाहरुको जमघट थियो । आकर्षण थिए– उनै मनु, सोनु र विराटनगरका भिखारी । Read more…


Recent Comments